१५ चिनियाँ गन्तव्यमा नेपाली जहाजलाई ९८ उडान अनुमति

हवाई उडानमा सम्झौतापछि नेपाली र चिनियाँ टोली बेइजिङमा

काठमाडौं । नेपालले चीनका विभिन्‍न १५ सहरमा साताको ९८ उडान गर्न पाउने भएको छ।

चीनले पनि सातामा त्यति नै संख्यामा नेपालका तीन सहरमा उडान गर्न पाउने भएको छ।

दुई देशका पदाधिकारीबीच शुक्रबार बेइजिङमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल र चीनका पदाधिकारीबीच बिहीबार र शुक्रबार चीनको बेइजिङमा परामर्श बैठक भएको थियो। बैठकमा सहभागी हुन नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश अधिकारी गएका थिए। सोही परामर्श बैठकमा नेपाल र चीनबीच ‘नेपाल–चीन हवाई सहमति सम्बन्धी समझदारीपत्र’ मा हस्ताक्षर भएको हो।

शुक्रबार दुई देशबीच भएको समझदारीपत्रमा नेपाल र चीनले एकअर्काको देशमा सातामा ९८ उडान गर्न पाउने उल्लेख गरिएको छ। जसअनुसार चीनले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न पाउनेछ। हाल चीनले नेपालमा सातामा ५६ उडान गर्दै आइरहेको छ भने नेपाली एयरलाइन्सको चीनमा एक उडान पनि छैन।

समझदारीपत्र अनुसार चीनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा ७७ वटा सम्म उडान गर्न पाउने छ भने बाँकी २१ उडान पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गर्नुपर्ने हुन्छ।

समझदारी पत्रमा नेपालले प्रयोग गर्न पाउने ७ वटा चिनियाँ विमानस्थलका नाम खुलाइएको छ भने बाँकी ८ वटा नेपालले आफै छान्‍न पाउने बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ।

बैठकमा दुई देशबीच नेपाल एयरलाइन्सलाई चीनको ग्वान्झाओ सहरमा उडानको अनुपति दिइएको छ। यससँगै नेपाल एयरलायन्सले अब ग्वान्झाओ उडान गर्न पाउनेछ।

हिमालयन एयरलाइन्सलाई बेइजिङको लागि उडान अनुमति दिइएको छ। चीनले बेइजिङमा सन् २०१९ भित्र निर्माण सम्पन्‍न गर्ने गरी नयाँ विमानस्थल बनाइरहेको छ। सोही विमानस्थल निर्माण कार्य सम्पन्‍न भएपछि हिमालयन एयरलाइन्सले बेइजिङ उडान सुरु गर्न सक्ने जनाइएको छ।

नेपालले चीनको बेइजिङ, साङ्घाई, ग्वान्झाओ, ल्हासा, छेन्दु, कुन्मीङ र सियानमा उडान गर्न पाउने छ। बाँकी ८ नाम भने पछि नेपालले आँफै छान्‍न पाउनेछ।

प्रकाशित मिति: : 2019-07-26 19:34:12

प्रतिकृया दिनुहोस्