प्रेम, सेक्स अनि फेसबुकमै ब्याकमेलिङ, मौलाउँदो साईबर अपराध

सांकेतिक तस्बिर

समिता र रवीन विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। भर्खरै टिनेज पार गरेका उनीहरूको सम्बन्ध राम्रोसँग चलिरहेको थियो।

दुबै जनाले विवाह गर्ने बाचासमेत गरेका थिए। राम्रोसँग चलिरहेको घटनामा एकाएक ‘ट्वीष्ट’ आयो।

रवीनसँगको सामान्य विवादमा समिताले सम्बन्ध टुटाउने निर्णय गरिन्। समिताका घर परिवारले पनि उनको विवाह गर्ने निर्णयमा पुगे। यता समितासँगको विवादको कारण रवीन चिन्तामा थिए।

उनी समितालाई गुमाउने परिस्थितिमा थिएनन्। समिताको विवाह अरू कसैसँग हुँदैछ भन्ने खबर पाएपछि रवीनमा छटपटि हुन थाल्यो। उनी समितालाई गुमाउन चाहँदैन थिए।

यता समिता रविनसँग फेरि सम्बन्ध बढाउने पक्षमा थिइनन्।

पटक पटक रविनले समितालाई फकाउने खोजे। तर, उनको प्रयास सफल भएन।

एक दिन समिता मोबाइल खेलाइरहेकी थिइन्। उनको मोबाइलमा रविनको म्यासेज आयो। म्यासेज पढेपछि समिताको हातखुट्टा गले।

म्यासेजमा एउटा यस्तो तस्विर थियो, जसले उनलाई प्रहरी समक्ष पुर्‍याउन बाध्य बनायो।

रवीनले फेसबुकमा दुई जनाको फोटो पठाएका थिए। तर, फोटो सामान्य थिएन। अर्धनग्न अवस्थामा थियो। अनि म्यासेजमा नै धम्की थियो। ‘म सँग विवाह नगरे यो फोटो सार्वजनिक गरिदिन्छु।’

समिता डराइन्। तर, आफ्नै प्रेमीले यस्तो गर्लान् भनेर सोचेकी पनि थिइनन्। धम्काएको मात्र होला भन्ने सोचिन्। उनले सोचे जस्तो भएन।

रविनले समिताका परिवारलाई समेत त्यो फोटो फेसबुक मार्फत पठाए। अनि त्यही धम्की दिए।

समिताका परिवार प्रहरी कहाँ पुगे। साइवर व्यूरोमा उजुरी दर्ता गराए।

अहिले यो घटनाको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ। ‘केटीले शारीरिक सम्पर्क नराखेको, तर फोटो मिलाएर हालेको भनेकी छिन्। हामीले अनुसन्धान गरेर अदालतमा बुझाएका छौं,’ व्यूरोका एक प्रहरी अधिकृतले बिएलसँग भने।

साइबर व्यूरो नेपाल प्रहरीको कान्छो विभाग हो। दुई महिना मात्र भयो यहाँ सेवाग्राहीले सेवा पाउन थालेको।

अहिलेसम्म ४ सय वटा साइवर अपराध सम्वन्धि उजुरी दर्ता भएका छन्। दर्ता भएका मध्ये दुई वटा मात्र अनुसन्धान सकिएर अदालतमा पुगेको छ।

साइवर ऐन नहुँदा व्यूरोले महानगरीय प्रहरी वृत दरबारमार्गबाट मुद्दा चलाउँदै आएको छ।

प्रहरीमा दर्ता भएका अधिकांश उजुरी फेसबुक सम्वन्धि जोडिएका छन्। त्यसमा पनि धेरै घटना फेसबुक ह्याक र अश्लिल गतिविधिकै भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-07-24 13:31:08

प्रतिकृया दिनुहोस्