ज्ञानको गोरेटोमा गोराहरू भाग- १ (भिडियाे सहित)

तस्बिरः बिएल

 

हिन्दुहरुको सर्वप्राचीन एवं पवित्र धार्मिक ग्रन्थ हो- वेद । छुट्टाछुटै चार नाममा लेखिएको छ वेद-  ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद .।वेदलाई ज्ञानको अथाह भण्डार मानिन्छ ।

सबैभन्दा पुरानो वेद हो ऋग्वेद । यसमा ११ हजार मन्त्र छन । यजुर्वेदमा कर्मकाण्डदेखि दिव्य वैद्यशास्त्र र कृषिविज्ञानका विषय समेटिएका छन् । यसमा ४० अध्याय रछन् । सामवेद संगीतशास्त्रको जननी हो । आकारमा सानो भएपनि यसलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगको त्रिवेणी मानिन्छ।अथर्ववेदमा देवताहरूको स्तुतिका साथै जादूसँग सम्बन्धित मन्त्र, तन्त्र र चिकित्सा विज्ञानका साथै दर्शनसम्बन्धी मन्त्र पनि पाइन्छन। भूगोल, खगोल, वनस्पति विद्या, असंख्य जडीबुटी, आयुर्वेद, प्रजनन विज्ञान, अर्थशास्त्र, राजनीति, राष्ट्रियतालगायतका धेरै विषय अटाएको यसमा २० काण्ड छन्।

वेदको प्रत्येक शाखाबाट एउटा एउटा उपनिषद् बनेका छन् जसलाई थप ज्ञानको भण्डारको रुपमा हेरिन्छ। "भागवत गीता"को अतुलनीय महत्वका बारेमा त हामी सबै धेरथोर जानकार छौं नै।

यसरी प्राचीन ज्ञानदेखि आधुनिक विज्ञानसम्मका विषय समेटेको पुर्वीय वैदिक दर्शनको प्रसंशा गर्दै प्रसिद्ध अमेरिकी लेखक विलियम जेम्सले आधुनिक चिकित्सा विज्ञानदेखि लिएर संगीत एवं नाट्य विधासम्मको ज्ञान दिने "वेद" वास्तवमा जीवनका सबै पक्षको "इन्साइक्लोपेडिया" नै भएको बताएका छन्। यसरी पछिल्लो समय हाम्रो समग्र हिमवत खण्ड र गङ्गाको मैदानमा विकसित ज्ञानको भण्डाररूपी वैदिक सभ्यता र हिन्दू दर्शनतर्फ पश्चिमी जगतको आकर्षण र चासो एकदमै बढेर गएको छ।

वैदिक दर्शन र योग अभ्यासलाई पश्चिमा जगतमा चिनाउने पहिलो व्यक्ति स्वामी विवेकानन्द थिए । सन् १८९३ मा शिकागोमा सम्पन्न विश्व धर्म सम्मेलनमा स्वामी विवेकानन्दद्वारा गरिएको प्रवचनले वैदिक दर्शन र पुर्वीय मान्यतालाई पश्चिमी समाजमा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेलेको मात्रै छैन उनले गठन गरेका "रामकृष्ण मिसन" र "वेदान्त समाज"ले हालसम्म पनि पश्चिमी समाजमा वैदिक मान्यता र हिन्दु संस्कृतिको व्यापक प्रचार प्रसार गरिरहेका छन्।

उनीसँगै पुर्वीय मान्यतालाई पश्चिमी जगतमा फैल्याउने कार्यमा योगानन्द परमहंश, महाऋषि महेश योगि, स्वामी प्रभुपद र विक्रम चौधरीलगायतको ठूलो योगदान रहेको छ। स्वामी प्रभुपदको "स्कोन" र विक्रम चौधरीले सुरु गरेको "विक्रम योगा"को प्रभाव निकै परेको देखिन्छ पश्चिमी समाजमा। पश्चिमी उपनिवेशवादले पनि वैदिक संस्कृतिलाई पश्चिमा जगतसम्म पुर्‍याउन ठूलो भूमिका खेलेको थियो।

पश्चिमी जगतमा पुनर्जागरणकालको सुरुवातसँगै सुरु भएको खोज-अनुसन्धान कार्यको थालनी र औद्योगिक क्रान्तिपछि उत्पादित वस्तु खपतको लागि बजार बिस्तार र यसको प्रतिस्पर्धाको क्रममा सुरु भएको पश्चिमा जगतको उपनिवेशवादले पूर्वीय सभ्यता र संस्कृतिमाथि पश्चिमा प्रभाव मात्रै पारेन, पूर्वीय दर्शन र वैदिक मान्यताद्वारा आफै पनि प्रभावित बन्न पुग्यो । यसबाट पनि वैदिक मान्यताले पश्चिमा जगतसम्म पुग्ने अवसर प्राप्त गर्‍यो। औपनिवेशिकरणसँगै भारतलगायत अन्य दक्षिण एसियायी मुलुकबाट बेलायत, फ्रान्सलगायत अन्य युरोपेली मुलुकमा सुरु भएको बसाइँसराइको क्रमले पनि पूर्वीय हिन्दु सभ्यता र संस्कृतिलाई पश्चिमा जगतमा फैल्याउन महत्त्वपूर्ण योगदान मिल्यो ।

अठारौं शताव्दिको उत्तरार्द्धतिरबाट मात्रै पश्चिमी मुलुकमा संस्कृत भाषाको अध्ययन सुरु भएको पाइन्छ। सन १७८५ मा "भागवत गीता"लाई चार्ल्स् विल्किनसले पहिलोपटक अङ्ग्रेजीमा अनुवाद गरेपछि संस्कृत भाषा र पूर्वीय वैदिक सभ्यताको अध्ययन अनुसन्धानतर्फ पश्चिमी चासो एक्कासि बढेको देखिन्छ। पूर्वीय सभ्यता र वैदिक मुल्य-मान्यतालाई पश्चिमी जगतमा परिचित गराउने पश्चिमामा भने दार्शनिक "आर्थर सोफेनावर" र जर्मन विद्वान "म्याक्स मुलर"को नाउँ अग्रपंक्तिमा आउँछ । वैदिक "उपनिषद"बाट प्रभावित मुलरले उपनिषद लगायत दर्जनौं धार्मिक कृतिको अङ्ग्रेजीमा अनुवाद गरेर पश्चिमी समाजमा वैदिक मान्यता फैल्याउने कार्य गरेका थिए।

यसरी सुरु भएको पूर्वीय वैदिक संस्कृतिको प्रभाव पछिल्लो समय पश्चिमी जगतमा एकदमै बढ्दो क्रममा छ । हाल आएर पश्चिमी जगतमा पनि योगा, आयुर्वेद, ध्यान, साकाहारी भोजन, अहिंसाजस्ता पूर्वीय मान्यता र जीवनशैलीसँग सम्बन्धित क्रियाकलाप दैनिक दिनचर्या बन्न पुगेका छन् । कर्म, पुनर्जन्म र ईश्वरीय अवतारजस्ता वैदिक मान्यतामा विश्वास गर्नेको संख्या पनि बढ्दो छ। सन् २००९ मा गरिएको पब्लिक लाइभ सर्भेले २४ प्रतिशतभन्दा धेरै अमेरिकी 'पुनर्जन्म'मा विश्वास गर्ने गरेको देखाएको छ। हाल आएर अस्ट्रेलिया, बेलायत, क्यानाडा, अमेरिका र रूसलगायतका मुलुकमा हिन्दुत्वको प्रभाव बढेको मात्रै नभएर स्वैच्छिक रुपमा हिन्दू धर्म अंगिकार गर्नेको संख्या पनि दिनानुदिन बढिरहेको छ। अमेरिकी रास्ट्रपतिदेखि बेलायती प्रधानमन्त्रीसम्मले दीपावली मनाएका तस्बिर सार्वजनिक हुन थालेका छन् । कतिपय शैक्षिक संघ-संस्थाले संस्कृत भाषाको साथै 'भागवत गीता' र अन्य हिन्दु धर्मसँग सम्बन्धित विषयवस्तु पनि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा समावेश गर्ने गरेका छन्। संस्कृत अध्यनको निमित्त कतिपय पश्चिमी विश्वविद्यालयले छुट्टै 'संस्कृत भाषाविज्ञान विभाग' र 'दक्षिण एसियाली अध्ययन केन्द्र" पनि गठन गरेका मात्रै छैनन् । अमेरिकाको फ्लोरिडामा त "वैदिक हिन्दु विश्वविद्यालय" नै स्थापना गरिएको छ।

पश्चिमी जगतले यसरी पुर्वीय सभ्यता र हिन्दु धर्मसँग सम्बन्धित मान्यता अनुसरण गर्नुको पछाडि पूर्वीय जीवनशैली र हिन्दु सभ्यतासँग जोडिएको मानवता, संस्कृत भाषाको भाषागत विशिष्टता, सनातन संस्कृतिभित्र रहेको वैज्ञानिकता र धार्मिक मान्यता भित्रको उदारताजस्ता विशेषताको प्रभाव नै हो । हिन्दु धर्मभित्रको उदारता एवं 'बहुलवाद'लाई अनुसरण गर्नसक्ने क्षमता हिन्दु धर्मको एक महत्त्वपूर्ण विशेषता र विशिष्टता हो जसले विविध विविधतालाई मान्यता मात्रै दिदैन, यस्ता मान्यतालाई अनुसरण र संरक्षणसमेत गर्दछ । फलस्वरूप, न त हिन्दु धर्मले संसारका अन्य धार्मिक मान्यतासँग बैरभाव राखेको देखिन्छ न त धार्मिक अतिवादलाई आधार बनाएर धार्मिक युद्धतर्फ प्रेरित गरेको नै । बरु "ईश्वर एक मार्ग अनेक" भन्ने मान्यता बोकेर फरक बिचार र फरक बाटोमा हिडेकाको पनि सम्मान गरेको देखिन्छ ।

पश्चिमी जगतमा विज्ञानको सफलता र आधुनिकतासँगै बढेका चुनौतिको सामना गर्ने एकमात्र विकल्पको रूपमा पुर्वीय दर्शनलाई हेर्न थालिएको छ। भौतिकवादले जिर्ण गराएको मानवतावादमा विश्वबन्धुत्व र मानव धर्मको भावना जगाइ जिवनलाई सफलताको मार्गमा डोर्‍याउन अनि व्यक्तिवादी चिन्तनबाट उब्जिएको स्वार्थभाव र आत्मकेन्द्रीत प्रवृत्तिलाई आत्मीयता र सेवाभावमा रुपान्तरीत गर्न पनि पुर्वीय सभ्यताले माध्यमको रूपमा काम गरेको छ पश्चिमा जगतमा। भौतिक सुख सुविधा सँगै विकसित भएको अल्छीपनाले शारीरिक अवस्थताको मात्रै सृजना गरेको छैन प्रत्येक प्रश्नहरुको रेडिमेट उत्तर प्राप्त गर्न सकिने प्रवृत्तिले मानिसमा सृजनसिलताको पनि अभाव हुँदै गइरहेको छ। आधुनिकता सँगै सृजित विकृत मान्यताहरुले पश्चिमा जिवनशैलीलाई अप्ठ्यारोमा पारेको मात्रै छैन यसबाट आत्महत्या देखी पारपाचुके गर्नेको संख्यामा पनि उल्लेख वृद्धि भएको छ। मानिसमा शान्ति र अमनचयन हराएको छ फलस्वरूप पुर्वीय संस्कृति भित्रका योगा, ध्यान लगायतका मान्यताको प्रभाव पश्चिमा जगतमा ह्वात्तै बढेको छ।

बिसाैँ शताव्दिको पुर्वार्द्दमा पश्चिमी शक्ति राष्ट्रको साधन-स्रोतमाथिको प्रतिस्पर्धा र "इगो टकराव"बाट घटेका महाविनाशकारी र नरसंहारी विश्वयुद्धको कहालिलाग्दो परिणामसँगै पश्चिमी जगतमा विकसित 'व्यर्थतावादी' चिन्तनसँग जुध्न हिन्दु संस्कृतिभित्रका 'अहिंसा परमो धर्म' देखि लिएर 'वसुदैब कुटुम्बकम' सम्मका विश्व बन्धुत्व, मानवतावाद र सेवाभावजस्ता मान्यता अत्यन्तै उपयोगी साबित भएका थिए। शक्ति संचय र शक्ति सन्तुलनको निमित्त भन्दै महाविनाशकारी हातहतियार निर्माणको प्रतिस्पर्धामा शक्तिराष्ट्र लागिरहेका र निमेषभरमा संसार ध्वस्त पार्न सक्ने आधुनिक आणविक हतियारले मानव जातिको मात्रै नभएर सम्पूर्ण जीवजगतको अस्तित्व नै समाप्त हुनसक्ने खतराले मानव जगत नै त्रसित रहेको वर्तमान पृष्ठभुमिमा हिन्दु धर्म भित्रका सम्पूर्ण जीव जिवात्मादेखि विश्व शान्तिसम्मका स्वस्तिमन्त्रको महत्त्व पश्चिमी समाजमा झनै बढेर गएको छ ।

वैदिक दर्शनमा सबैभन्दा ठुलो महत्व नै ज्ञानको रहेको छ। ज्ञान एवं शिक्षा बिनाको मानिस 'पशुतुल्य' हुन्छ भन्ने मान्यताको साथै आफ्ना सन्ततिलाई शिक्षाबाट बन्चित गर्ने आमा-बाबु 'शत्रु' समान हुन्छन् भन्ने सम्मको धारणा वैदिक संस्कृतिमा भेटिन्छ । वैदिक संस्कृतिको चारवटा आश्रममध्ये महत्त्वपूर्ण र सुरुको "बर्मचर्याश्रम"को पच्चीस वर्षको अवधिलाई ज्ञान एवं शिक्षा आर्जन गर्ने समयको रुपमा हेरिन्छ । यसक्रममा 'व्रतबन्ध'को संस्कार गर्दैगर्दा आफ्ना बाबु-आमा, आफन्तजन र जन्मभुमि छोडेर नानाथरी दु:ख सहदै ज्ञान प्राप्तिको निमित्त गुरुको खोजीमा निस्कनुपर्ने सन्दर्भलाई जोडेर अभिनय नै गर्नुपर्ने परम्परा हजारौं वर्ष पहिलेदेखि रहिआएबाट हाल पश्चिमी मुलुकले लगाउँदै आएको "राइट टु एजुकेसन"को नारा पूर्वीय सभ्यताको अगाडि गौण साबित हुन्छ। त्यसैले वैदिक संस्कृतिमा रहेको ज्ञानको महत्त्व पनि पश्चिमी समाजलाई हिन्दु संस्कारतर्फ आकर्षित गर्ने अर्को पाटो बनेको छ ।

वैदिक हिन्दु सभ्यताले पश्चिमी जगतलाई प्रभावित पार्नुको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसका पछाडि रहेको 'वैज्ञानिकता' पनि हो। पछिल्लो समय, विज्ञानको चरमोत्कर्ससँगै, अधिकांश वैदिक संस्कार संस्कृतिको पछाडि वैज्ञानिक पक्ष रहेको मात्रै नभएर आधुनिक विज्ञानको विकासक्रममा वैदिक सभ्यता र संस्कृतिको महत्त्वपूर्ण योगदान रहेको तथ्य सार्वजनिक हुँदै आएका छन् । आजभन्दा हजारौं वर्ष पहिले विकसित सांस्कृतिक मान्यताको पछाडि वैज्ञानिक कारण रहेको तथ्य पत्ता लाग्दा वैदिक सभ्यताले कुनै समयमा विज्ञानको चरमोत्कर्स चुमिसकेको बुझ्न कठिन हुँदैन । हिन्दु  धर्मवालम्वीले भगवान बिष्णुको नाममा पुज्ने गरेका तुलसी, पिपलको महत्त्वदेखि लिएर उनीहरुले अमृतको रूपमा सेवन गर्ने गरेको गाईको गहुतसम्ममा वैज्ञानिक कारण र तथ्य रहेको पत्ता लागेका छन् । यति मात्र नभएर वैदिक सभ्यतासँग जोडिएको 'योग' र 'ध्यान'को अवधारणाले शारीरिक मात्रै नभएर मानसिक र सम्बेगात्मक स्वास्थलाई समेत ठीक पार्ने तथ्यसँगै संयुक्त राष्ट्र संघले नै 'विश्व योग दिवस' मनाउने घोषणा गरेको छ । त्यस्तै आधुनिक चिकित्सा विज्ञानमा पुर्वीय 'आयुर्वेद पद्धति'लाई अलग र वैकल्पिक उपचार पद्धतिको रुपमा मान्यता दिइएको छ । गुरुत्वले ब्रह्माण्ड धानेको कुरा न्युटनको टाउकोमा स्याउ खस्नु भन्दा २४ सय वर्षअघि नै  ऋग्वेदले पक्का गरिसकेको थियो ।  इसापुर्व ४०० ताका लेखिएको "सुर्य सिद्धांत"मा ग्रहण र ग्रहको प्रवेश पत्ता लगाउने बिधि समावेश भएको थियो ।पाइथागोरस जन्मनु भन्दा धेरै पहिले रचना गरिएको "सुल्व सुत्र"मा पाइथागोरस साध्यको व्याख्या गरिएको पत्ता लागेको छ ।

पश्चिमी जगतमा, हिन्दु सभ्यताको प्रभावको पछाडि संस्कृत भाषा र यसको विशिष्टताको बारेमा पश्चिमीबोध र त्यसप्रति उनीहरुको चासो पनि अर्को महत्त्वपूर्ण कारण रहेको छ । भाषाविद सर विलियम जोन्सले त संस्कृत भाषा ग्रीक र ल्याटिन भाषाभन्दा परिस्कृत र धनी रहेको भन्दै यसको उच्च प्रसंशा समेत गरेका छन् । कम्प्युटर र "किर्तिम बुद्धि"का लागि सबभन्दा उपयुुक्त ठानिएको संस्कृत भाषा वैदिक संस्कृतिलाई जिवन्त राख्ने महत्त्वपूर्ण माध्यम हो । "देववाणि"को उपमा पाएको वेदको भाषालाई भाषाकै"जननि"को रूपमा बुझ्ने गरिन्छ । झण्डै छ हजार वर्षदेखि विकसित र संस्कारित हुँदै आएको संस्कृत भाषामा सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकता रहेको देखिन्छ । संस्कृत भाषाका कतिपय विशेषता संसारका अन्य भाषाभन्दा नितान्त फरक रहेका छन् । संसारका अन्य भाषामा "एकवचन" र "बहुवचन" मात्रै रहेको हुन्छ भने संस्कृत भाषामा "द्दिबचन" पनि रहेकोे हुन्छ । त्यसैगरी अन्य भाषामा शब्दको एक वा बढीमा दुई रुप हुन्छन् भने संस्कृतमा शब्दका बहुरुप रहेका छन्। शब्दबीचको "सन्धि" संस्कृत भाषाको अर्को महत्त्वपूर्ण विशेषता हो जहाँ दुईवटा शब्द निकट आउँदा त्यँहा सन्धि हुन पुग्छ जसले गर्दा शब्दको स्वरुप र उच्चारण नै परिवर्तन हुन जान्छ।

त्यसैगरी संस्कृत भाषामा कर्ता, क्रिया र कर्मबोधक शब्द जुनसुकै क्रममा पनि राख्न सकिन्छ। उदाहरणको लागि "अहं गृहं गच्चामी" लाई "गच्चामी गृहं अहं" पनि लेख्न सकिन्छ जसबाट अर्थमा कुनै भिन्नता आउँदैन । संस्कृत भाषाको अर्को महत्त्वपूर्ण पक्ष भनेको जे बोलिन्छ त्यही लेखिन्छ जसको कारण यो भाषा विवेकरहित कम्प्युटरको लागि अङ्ग्रेजीभन्दा पनि उपयोगी देखिएको छ किनकि अङ्ग्रेजीमा कतिपय शब्द यस्ता छन् जहाँ जे बोलिन्छ त्यो लेखिदैन भने जे लेखिन्छ त्यसको फरक उच्चारण गरिन्छ। कतै 'के' साइलेन्ट हुन जान्छ त कतै 'पी'  साइलेन्ट हुन जान्छ। त्यसकारण संस्कृत भाषाको वैज्ञानिकता र विशिष्टता पनि महत्त्वपूर्ण पाटो हो जसले पश्चिमा शैक्षिक संस्था मात्रै नभएर वैज्ञानिक अध्ययन अनुसन्धान केन्द्रमा समेत आफ्नो प्रभाव कायम राख्न सफल भएको छ।

वैदिक सभ्यता, हिन्दु संस्कृति र संस्कृत भाषाको अध्ययनपश्चात् पश्चिमीले मानव जातिको आधुनिक विकासक्रममा वैदिक हिन्दु सभ्यताको योगदानको मुक्तकण्ठले प्रसंशा गरेका छन् । मानव सभ्यताको विकासक्रममा सबभन्दा पहिले वैदिक हिन्दुले गणितको गणना विधि सिकाएको र जसको अभावमा कुनै पनि वैज्ञानिक खोज-अनुसन्धान सम्भव नभएको भन्दै प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइनस्टाइनले हिन्दु सभ्यताको प्रसंशा गरेका छन् । यसैगरी बेलायती तथ्यांकशास्त्री लान्सलट हगवनले हिन्दुहरुले शुन्य अर्थात् जिरोको आविष्कार गरेको र त्योभन्दा ठुलो क्रान्तिकारी योगदान मानव सभ्यतालाई हुनैनसक्ने ठोकुवा गरेका छन् । हिन्दुहरुले हजारौं वर्ष पहिलेदेखि रक्तसञ्चार प्रक्रियादेखि स्नायु प्रणालीसम्मको व्याख्या गर्ने कार्य प्रारम्भ गरेर आधुनिक चिकित्सा बिज्ञानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै पश्चिमा विद्वानले वैदिक सभ्यताको उच्च प्रसंशा गरेका छन् । यसरी वैज्ञानिक खोज अनुसन्धानमा मात्रै नभएर वैदिक सभ्यताले युद्धका नियमहरु प्रतिपादन गर्नेदेखि लिएर समाजमा नारीलाई देवीको रुपमा चित्रण गर्नेसम्मका मान्यता स्थापित गराएर समाजको आधुनिक विकासक्रममा अतुलनीय योगदान पुर्‍याएको छ ।

यसरी पश्चिमी जगतमा वैदिक सभ्यता, हिन्दु संस्कृति, संस्कृत भाषाको साथै योग, ध्यान, अहिंसाजस्ता पूर्वीय मान्यताको प्रभाव दिनानुदिन बढ्दै गर्दा नेपाल एकीकरणका नायक बडामहाराजाधिराज पृथ्वीनारायण शाहले "असली हिन्दुस्तान"को उपमा दिएको र "मन्दिरै मन्दिरको शहर"को नाउँले विश्वमा चिनिएको वैदिक सभ्यताको उद्गमभूमि नेपालमा भने पश्चिमा संस्कृतिको अन्धाधुन्ध सिको गर्नेदेखि आर्थिक प्रलोभनमा पारेर जबर्जस्त धर्म परिवर्तन गराउनेसम्मका क्रियाकलाप संगठित र योजनाबद्ध ढंगले चलाइदैछन् । पछिल्लो समय राजनीतिक दल र तिनका नेतालेसमेत वाह्य दबाब र आर्थिक प्रभावमा मुलुकमा सांस्कृतिक अतिक्रमणलाई निम्तो दिन थालेको आभास हुन थालेको छ ।

चर्च र राज्यबीचको द्वन्द्वबाट पश्चिमी जगतमा सृजित धर्मनिरपेक्षताको मान्यतालाई बिना सन्दर्भ देशको आवश्यकता र जनताको चाहना बिपरित त्यसमा पनि उल्टो र झुठो परिभाषासहित नेपालको संविधानमा भित्र्याउनेदेखि लिएर भर्खरै मात्र युनिफिकेसन चर्चद्वारा नेपालको राजधानी काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा सरकारको सक्रिय सहभागिता,संलग्नता र त्यसको संरक्षण गर्ने जस्ता क्रियाकलापले राज्यस्तरबाटै धार्मिक सांस्कृतिक अतिक्रमणकारी गतिविधिलाई संरक्षण र प्रोत्साहन भैरहेको बुझ्न कठिन छैन । पश्चिमा जगतमा नै असान्दर्भिक र विकृतरुप धारण गरिसकेका मान्यताको सिको गरेर र त्यस्ता मान्यतालाई वैदिकभूमिमा आमन्त्रण गरेर हामी आफ्नै शरीरभित्रको "विना" पत्तो नपाएर सुवास चहार्दै भौतारिरहेको कस्तुरी मृगजस्तै भौतारिरहेका छौं ।

गोराहरुले सगौरव हाम्रै ज्ञानको गोरेटोमा सिढीहरु उक्लिदै गर्दा हामी भने पहेँलो कपडामा बेरेको आफ्नो गौरवपूर्ण इतिहासको पोको उनीहरुकै पोल्टामा फालेर हीनताबोधकासाथ परिवर्तन र आधुनिकताका नाममा अज्ञानताको अन्धकारसँगै ओरालोतर्फ गन्तव्यहीन यात्रा तय गरिरहेका छौं।

 

प्रकाशित मिति: : 2019-07-23 17:01:37

प्रतिकृया दिनुहोस्