काठमाडौं । काठमाडौंको बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत तालीमका लागि थाइल्याण्ड गएका १० नेपाली प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फर्काइएको छ।
ती प्रशिक्षार्थीले सम्झौताबमोजिम तालीम सुविधा नपाएकाले समस्या परेको व्यहोरासहित त्यहाँस्थित नेपाली राजदूतावासमा निवेदन दिएपछि उनीहरुलाई उद्धार गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ।
कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत नेपाली प्रशिक्षार्थीहरु थाइल्याण्डको बैंककस्थित अन्तर्राष्ट्रिय होटेल तथा एअरलाइन्स स्कुलमा फुड एण्ड बेभरेज तालीमका लागि भनी थाइल्याण्ड गएका थिए।
राजदूतावासको पहलमा १० जना प्रशिक्षार्थीमध्ये यही साउन १ गते तीन र साउन ३ गते बाँकी सात जनालाई उद्धार गरी नेपाल फकाइसकिएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।
साथै नेपाली विद्यार्थीले कन्सल्टेन्सीमार्फत विदेशस्थित शैक्षिक संस्था तथा तालीम प्रदायक संस्थामा अध्ययन वा तालीमका लागि जानुभन्दा अगाडि त्यस्ता संस्थाका बारेमा विस्तृत जानकारी लिन र यकिन गरेर मात्र प्रक्रिया अघि बनाउन उपयुक्त हुने दूतावासले जनाएको छ।