ब्रेकिङ न्युज: नेभादाका डेमोक्रेट्सको जीत

अमेरिकी चुनाव अपडेट : सिनेटमा डेमोक्रेट्सको बहुमत

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रेटिक पार्टीले आफ्नो बहुमत जोगाएको छ। नेभादाको कडा प्रतिस्पर्धात्मक चुनावमा डेमोक्रेटिक सिनेटर क्याथरिन कोर्टेज माष्टोले आफ्नो सिट जोगाएपछि डेमोक्रेट्स ५० स्थान जित्दै बहुमतमा पुगेको हो।

नेभादाको प्रक्षेपित परिणामसँगै यसपटक सिनेटका लागि भएका ३५ स्थानकै परिणाम सार्वजिक भएको छ। ३४ स्थानमा हार-जीत भए पनि जर्जियाको एक स्थान भने अनिर्णित रह्यो। त्यहाँ तीन उम्मेद्वार रहेकोमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत नपाएकाले अनिर्णित भएको हो।

जोर्जियामा डिसेम्बर ८ मा दोस्रो चरणको चुनावमा डेमोक्रेट्स सिनेट राफेल वारनक र उनलाई चुनौति दिइरहेका रिपब्लिकन उम्मेद्वार हर्सेल वाकर आम्नेसाम्ने हुनेछन्। राफेलले जितेमा १०० सदस्यीय सदस्य सिनेटमा डेमोक्रेट्स ५१ स्थानका साथ स्पष्ट बहुमतमा पुग्छ। त्यो स्थान नजित्दा पनि सिनेटको पदेन अध्यक्ष उपराष्ट्रपति हुने भएकाले वर्तमान डेमोक्रेट्स उपराष्ट्रपति कमला ह्यारिसका कारण डेमोक्रेट्सलाई प्राविधिक बहुमत प्राप्त हुन्छ।

प्राप्त पछिल्लो परिणामअनुसार  १०० सदस्यीय सिनेटमा रिपब्लिकनले ४९ स्थान र डेमोक्रेट्सले ५० स्थान जित्ने प्रक्षेपण गरिएको छ। अहिलेसम्मको प्रक्षेपणअनुसार डेमोक्रेट्सले चुनाव लडेका सबै सिनेट स्थान जोगाएको मात्र छैन, पेन्सेल्भेनियाका रिपब्लिकन सिनेटर प्यान टमीले स्वेच्छिक अवकाश लिएर खाली भएको ओपन सिट रिपब्लिकन सिट खोसेको पनि छ। त्यहाँ भएको चुनावमा डमोक्रेटिक उम्मेद्वार जोन फेटरमेनको जीत प्रक्षेपण गरिएको छ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिब्सको पनि मतगणना जारी छ।सबै ४३५ स्थानका लागि भएको चुनावमा अहिलेसम्म २१५ स्थानको परिणाम प्रक्षेपण गरिएको छ। जसमध्ये २११ स्थानका लागि रिपब्लिकनले अग्रता लिएको छ भने डेमोक्रेट्सले २०४ स्थानमा जित्ने बताइएको छ। रिपब्लिकनले १६ स्थान डेमोक्रेट्सबाट खोस्दा डेमोक्रेट्सले भने ५ स्थान मात्र खोस्न सकेको छ। यसरी हेर्दा डेमोक्रेटिक पार्टीलाई ११ स्थानको खुद नोक्सान भैसकेको छ।

कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिब्समा बहुमतका लागि आवश्यक पर्ने २१८ स्थान नजिक रिपब्लिकन पार्टी पुगेकाले उसकै सानो बहुमत हुने प्रक्षेपण गरिएको छ।

यसपटकको चुनावको परिणामबाट आएको कंग्रेसको पदावधि जनवरी १ देखि सुरू हुन्छ।

अहिलै मौजुदा सिनेट र हाउस अफ रिप्रजेन्टेटिब्समा डेमोक्रेटिक पार्टी बहुमतमा छ। यसपकको चुनावमा डेमोक्रेट्सले तल्लो सदन गुमाए पनि माथिल्लो सदन भने जोगाएको छ।

प्रकाशित मिति: : 2022-11-13 09:01:00

प्रतिकृया दिनुहोस्