आज साउनको पहिलो सोमबार, पशुपतिनाथसहित प्रमुख शिवालयमा भक्तजनको घुइँचो

तस्बिरः बिएल

काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज हिन्दु धर्माबलम्बीले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ। यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिंग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने गरिन्छ।

साउनको सोमबार शिवको पूजाआराधना गर्दा मनोकांक्षा पूरा हुने विश्वास लिइन्छ।

महिलाहरुले हरियो रङका बस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन्।

काठमाडौंको पशुपतिनाथसहित देशका विभिन्न स्थानमा सोमबारदेखि बोलबम यात्रासमेत सुरु भएको छ।

काठमाडौंको पशुपतिनाथ मन्दिर, चितवनको देवघाटधाम, धरानको चतारा तथा अन्य शिव मन्दिरहरुमा बोलबम मेला भर्नका लागि नेपाल तथा छिमेकी भारतका विभिन्न स्थानका धर्मावलम्बीहरुको घुइँचो लागेको छ।

बोलबम मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले लाइनमा बसेर पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआराधाना गर्ने व्यवस्था मिलाइएको छ।

यस पटक साउन महिनामा ४ वटा सोमबार परेका छन्।

प्रकाशित मिति: : 2019-07-22 08:15:19

प्रतिकृया दिनुहोस्