विराटनगरको नोबेल शिक्षण अस्पतालमा घुँडाको शल्यक्रिया गराउन दुहवीबाट विराटनगर आएका ५० वर्षीय अनिलकुमार साहको अस्तालमा मृत्यु भएपछि आफन्तहरूले आइतबार दुहवी बजार ठप्प पारेका छन्।
साहको शनिबार नोबेल अस्पतालमा शल्यक्रिया भएको थियो। तर, आइतबार विहान अस्पतालले मृत घोषणा गरेपछि आक्रोसित बनेका आफन्तहरूले अस्पताल प्रागढं भित्रै नाराबाजी गरेका थिए।
उनीहरूले शव जिम्मा लिन पनि मानेनन्। आफन्तहरूले साहको निधन चिकित्सकहरूको लापरवाहीका कारण भएको भन्दै उपचारमा संलग्न डाक्टरहरूलाई कार्यवाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनेपर्ने माग राखेका छन्।
साहको घरबाट मोटरसाइकल निकाल्ने क्रममा बिहीबार घुँडामा चोट लागेको थियो।
मृतक साहका भाई प्रदीप भन्छन्, ‘बिहीबार हामी नोबेलमा उपचार गराएर घर फर्किएका थियौं। ‘फलोअप’का लागि शुक्रबार अस्पताल पुग्दा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. धिरज सिंह नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरिदिएको थियो।’
प्रदीपका अनुसार दाईको घुँडाको चोट बढ्दै गएको भन्दै चिकित्सकले नै शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका दिए। शल्यक्रियापछि परिवारका सदस्यलाई बिरामी भेट्न दिइएको थिएन। एकै चोटी मृत्यु भएको खबर परिवारलाई दिइएको थियो।
घटनाको विरोधमा आइतबार दुहवीको बजारमा रहेको प्रायः सबै पसल दिनभर बन्द रहे। बजार बन्द गराउने क्रममा केही बेर यातायात समेत अवरुद्ध बनाइएको थियो।
प्रदीपले समस्या सुल्झाउन भनेर अस्पताल प्रशासन र पीडित पक्षबीच आह्वान गरिएको वार्ता साँझ बिना निस्कर्ष टुँगिएको बताए।
‘माग पूरा गर्न चासो नदिए सोमबार बजार, यातायातका साथै सुनसरी–मोरङ औद्योगिक करिडोर ठप्प पार्नेछौं,’ भाई प्रदीपले चेतावनी दिए।
अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले उपचारका क्रममा लापरवाही नभएको बताए। शल्यक्रियापछि वार्डमा सार्ने क्रममा ‘हर्ट अट्याक’ भएर यस्तो घटना भएको अस्पतालको दाबी छ । ‘बिरामीलाई बचाउन आईसीयूमा राखेर डाक्टरहरूले धेरै प्रयास गर्नु भयो। तर, बचाउन सकिएन,’ दाहालले प्रतिक्रिया दिए।