पहिलो पटक सार्वजनिक कार्यक्रममा मेरो नाम फलानी हो भन्न नसकेकी उनी शिक्षाको महत्वलाई यसरी व्यक्त गर्छिन् 'सेतो कागज, कालो मसी खरखर लेखिन्छ। सब देखिन्छ। नपढेपछि देखिदैन।'
सभा, समारोहमा, तालिममा, सिकेको शिक्षा सँधैभरि दिमागले सम्झिरहन सक्दैन। आवश्यक परेको ज्ञान सीपलाई व्यवहारमा उतार्न सेतो कागज र कालो मसी चाहिने रहेछ। त्यही शिक्षा नपाएर ठूलो पछुतो भयो।
कसैबाट शिक्षा सिकियो भने ऊ गुरु बन्दोरहेछ। गुरु भगवानजत्तिकै पुजिन्छन्। त्यसैले संस्कृतमा 'गुरुदेव भ:व' भनिएको होला। पातरासी गाउँपालिका घेडासिनकी चुक्की महतारालाई पहिलो पटक शिक्षा दिने संस्थाका मान्छे गुरु लाग्छ।
संस्थाका मान्छे हुन्, यत्ति थाहा छ। तर कुन संस्थाका मान्छे हुन्, त्यो थाहा छैन। हृदयमै बस्नेगरि प्रभाव पारे। सिकाए। तिनै गुरुहरुका अगाडि उनले एउटा किरिया(कसम) खाइन 'एक, दुई, तीन... अबदेखि धुम्रपान गर्दिनँ। पछिल्लो पीडिको लागि सोच्छु।' त्यस अगाडि उनी चुरोट तमाखु पिउने गर्थिन्। यसले रोग बढाउने र काम गर्ने तडोबडो (तागत) गल्छ। काम गर्न सकिदैन भन्ने उनलाई लाग्यो।
आज उनले नारा बनाएकी छिन्, 'कोही दिदीबहिनी धुम्रपान गरिरहेकी छौं भने धुम्रपान छोड, मेरो शिक्षा सिक, निर्वाहमुखि होइन, व्यावसायिक गतिविधि गर।'
उनी टिभीमा आउने पशुपति शर्माको गीत मधुरो गरि सम्झिन्छिन् –मलाई मलेसिया यहीँ ! हङकङ पनि यहीँ !! दुवई–कतार यहीँ !!!
उनको मान्यता छ, छाछोरी (छोराछोरी) टोक्या (सानैमा बा आमा मरेका) जस्ता छोडी विदेश जानुभन्दा आफ्नै ठाउँमा पसिना बगाउनु उत्तम। त्यसैले उनलाई टिभीमा बज्ने माथिको गीत मन पर्छ।
चुक्की महतारा किन यत्ति आत्मविश्वमसका साथ बोलिरहेकी छिन् ? तपाईंलाई अनौठो लाग्न सक्ला। अनौठो नमान्नुस्। मिहिनेत र अनुभवले मान्छेको आत्मविश्वास बढ्छ। निर्धक्क बोल्न सिकाउँछ।
उबेला बा आमालई छाछोरीले भोट मधेस गरून्, खेतीपाती गरून्, घर धानुन् भन्ने लाग्थ्यो। पढाउनुपर्छ भन्ने चेतना भएन्। त्यसैले चुक्कीलाई हरेक तालिममा पाउने सेतो कागज र कालो मसिले मन चसक्क बिझाउँछ। जीवनमा सबैभन्दा ठूलो पछुतो यही हो। बाँकी सबै ठिकठाक छ। उनलाई ठिकठाक बनाउने तत्व खेतीपाती हो। व्यावसायिक तरकारी खेती ।
आजभन्दा २४ वर्ष अगाडि उनले किरिया खाएकी थिइन, एक, दुई, तीन भनेर। त्यही दिनबाट उनले तरकारी खेती सुरु गरेकी हुन्। सुरुका दिनमा उनको तरकारी खेती निर्वाहमुखी थियो। आफैलाई पुग अपुग हुने। तरकारीमा बानी परेपछि जिब्रोले तरकारीको स्वाद मात्र खोज्छ।
संस्थाको तालिम दिने गुरुहरुले बीउ दिए। खेतीपातीको उन्नत तरिका सिकाए। चुक्कीको यात्रा निर्वाहमुखी तरकारी खेतीबाट व्यवसायिकतातिर उन्मुख भयो। उनले बिस्तारै तरकारीको स्वाद सबैलाई बाँड्न थालिन। विस्तारै आम्दानी बढ्दै गयो। साथसाथै ज्ञान पनि बढ्दै गयो। मनको कागजमा मनमसिका अक्षर थपिदै गए।
आज त्यही तरकारी खेती तथा व्यवसायबाट उदाहरण बनेकी उनी गत वर्ष काठमाडौंमा कृषि मन्त्रीको हातबाट उत्कृष्ट कृषकको पुरस्कार तथा सम्मान पाउँदा भावुक भइन्। भन्छिन् 'म जस्तो अनपढका लागि यस्तो सम्मान पाउनु ठूलो कुरा हो।'
उत्कृष्ट कृषकको पुरस्कार पाएपछि उनको जाँगर पनि बढ्यो। गल्दै गरेको जीउँले ग्लुकोज पाएसरह भयो। यसपछि अरु काम गर्ने मन लागेन्। सपनामा पनि उनी तरकारी खेती गरिरहेकी हुन्छिन्। यो कामले उनलाई नाम र दाम दुबै दिलाएको छ।
चुक्कीको अनुभव छ–तरकारी खेती सँधै एकैनासे हुदैन, कहिले काहीँ घाटा पनि सहनु पर्छ। हरेस नखाई काम गर्दै गयो भने पछि नाफा मिलिहाल्छ। निराश हुनु हुँदैन। विस्तारै नाफा खाने दिन आइहाल्छ।'
भन्छिन् 'सुरुमा मैले तरकारी खेती गर्दा धेरैको ध्यान यता गएको थिएन। विस्तारै मेरो दैनिकी फेरियो। अहिले सबैले तरकारी खेती गरिरहेका छन्।'
आम्दानी राम्रो हुँदै गयो। बचत पनि सोचेजस्तो हुन थाल्यो। भावि पुस्ता राम्रो बनाउनु पर्छु भन्ने चेतना भएकी चुक्कीले छोराहरुलाई एसएलसीसम्म गाउँमै पढाइन्। त्यसपछि काठमाडौं पठाइन्। तरकारी बेचेकै पैसाले छोराहरुले काठमाडौंमा भविष्यको खोजी गरे। अहिले जेठो छोरा नेपाल टेलकममा जागिरे छन् भने कान्छो छोरा बी फार्मेसी पढिरहेका छन्।
२४ वर्ष अगाडि चुक्कीको खेत बारीमा जौ, गहुँ, कोदो लगायतका बालीनाली हुन्थ्यो। तरकारीको रुपमा चोतो(मुलाको स्वाद हुने तर आकार प्रकार सलगम जस्तो) आलुमात्र हुन्थ्यो।
तरकारी खेतीले आम्दानी दिन थालेपछि खेतीपातीको दैनिकी बदलियो । काउली, आलु, चोतो, गाँजर, पिँडालु, प्याज, लसुन, टमाटर लगायतका तरकारी फलाउन थालिन्। तरकारी खेतीपूर्व खान लाउन नपुग्ने चुक्कीको परिवारले हाल सबै खर्च धानेर वार्षिक एक लाख बीस हजार बचत गरिरहेको छ।
विभिन्न समूहमा बचत पनि गरेकी छिन्। तरकारी बेच्न पनि समूह बनाएका छन्। समूहले तरकारी बजारसम्म पु-याउने प्रबन्ध मिलाउँछ। सुरु सुरुमा डेढ घण्टा डोकोमा तरकारी बोकेर बजारसम्म ल्याउने उनीहरु आजभोलि उर्थु चौतारामै संकलन केन्द्रको माग गरिरहेका छन्। स्थानीय सरकार यसमा सकारात्मक भयो भने उनीहरुले कम दु :खमै आम्दानीको दायरा बढाउने छन्।
सुरु सुरुमा मौसमी तरकारी खेती गर्ने उनी पछिल्लो समय बेमौसमी तरकारी खेती पनि गरिरहेकी छिन्। जसबाट थप आम्दानी लिन सकिन्छ। पछिल्ला केही वर्षहरुमा बजारमा प्रतिस्पर्धा बढिरहेको छ। विशेषगरि भारतबाट आउने तरकारीले उनीहरुलाई प्रतिस्पर्धामा उत्रन नसक्कने गरि गलाइरहेको छ। भन्छिन् 'उदो(तराई)तिरबाट आउने तरकारी साह्रो सस्तो हुनाले हामीलाई कहिलेकाहीँ घाटा लाग्छ।'
तरपनि उनको उत्साह मरेको छैन। तालु बस्यो, कपालका रौं झरे, जाँङ पाखुरा गले तर उत्साह उस्तै छ। ६७ वर्षको उमेर हुँदा पनि २४ वर्ष अघिको जस्तै काम गरिरहेकी छिन्। मिहिनेतको फल खान थालेपछि जाँगर चल्दो रहेछ भन्छिन्।
बारीमा पुग्दा आलु, टमाटर, काउली, बन्दा, लसुन प्याजको बासना आउँछ । मन फुरुङ्गै हुन्छ। रायो र गाँजरको बीउ समेत उत्पादन गरिरहेकी उनले आफ्ना अनुभुति सुनाउँदा कतिबेला भावुक हुन्छिन् भने कतिबेला उत्साही।
'बजारमा तरकारी बेच्न लाँदा मलाई लाज कहिले लागेन। हाम्रो समाजमा त्यस्ता धेरै छन् जो माटो छुन र बोरा बोक्न लजाउँछन्,' उनी निर्धक्क सुनाउँछिन् 'काम गरेर खान के को लाज? सुकिला लुगा लगाउने कर्मचारी मात्र नाम र दाम कमाउँदैनन्। मैला लुगा लाउने किसान पछि नाम र दाम कमाउन सक्छन्। त्यसको उदाहरण म आफै हुँ।'
चुक्की महताराको मिहिनेत, उपलब्धि, सन्तोष र आत्मविश्वास देख्दा जो केाहीलाई भन्न मन लाग्छ 'सलाम छ चुक्की तिमी र तिमी जस्ता किसानहरुलाई। यो देश तिमीहरुकै मिहिनेतले बाँचिरहेछ।'