बिचौलीयामार्फत चोर बाटो हुँदै अफ्रिकी मुलुक केन्या पुगेका १२ नेपाली युवती घर फर्किएका छन्।
केन्या प्रहरीले विभिन्न बारमा रंगीला बारमार्फत उद्धार गरेर उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो।
नेपाल प्रहरीले ती १२ युवतीलाई शुक्रबार आफन्तको जिम्मा लगाएको छ।
केन्या प्रहरीले उद्धार गरेका ती युवतीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपाल झिकाएको थियो।
ब्यूरोले केन्यास्थित गैरआवसीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्यालगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याएको हो।
बिचौलीयाले ती युवतीहरुलाई विभिन्न मितिमा भारत हुँदै केन्या पुर्याएका थिए।
केन्याको मुम्बासा शहरस्थित रङगीला डान्सबारमा केन्या प्रहरीले छापा मारी मालिकलगायत त्यहाँ कार्यरत नेपाली महिलालाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले ती युवतीलाई भारतीय विमानस्थल हुँदै केन्या पठाउने एजेन्टका बारेमा अनुसन्धान थालेको छ।
कस्तो थियो रङ्गिला
रङ्गिला बारमा पैसावाल र परिचितहरु मात्र प्रवेश पाउँथे। गार्डले चेकजाँच गरेर वृस्तृत बुझेपछि मात्र प्रवेश दिन्थे। बारमा प्रवेशका लागि महङ्गो मूल्य राखिएको थियो। जहाँ यौन शोषण गरिन्थ्यो।
बारमा महिलाहरुलाई उपनाम दिइन्थ्यो । हरेक रात निश्चित पैसा कमाउनुपर्ने वाध्यात्मक अवस्था बनाइन्थ्यो। असिको उपनामकी संजितालाई मासिक चार लाख नेपाली रुपैयाँ बराबरको केन्याको सिलिङ कमाउनैपर्ने टार्गेट दिइएको थियो।
बारमा बस्दा नेपाली चेलीहरुको मोबाइल फोन प्रयोग वञ्चित गरिएको थियो । जसरी हुन्छ ग्राहकबाट बढी भन्दा बढी रकम धुत्न लगाइन्थ्यो । हरेक चेलीलाई दैनिक यतिसम्म पैसा उठाउनैपर्ने वाध्यता बनाइएको हुन्थ्यो ।
बारमा काम गरेवापत् हरेक चेलीले मासिक ५५ देखि ९० हजार नेपाली रुपैयाँ दिइन्थ्यो । तर, उनीहरुले १० देखि १५ हजार नेपाली रुपैयाँमात्र हातमा पाउँथे । बाँकी रकम परिवारका नाममा पठाइएको भनिन्थ्यो ।
कसरी लगिए केन्या
विदेश गएर पैसा कमाउने सपना देखेका नेपाली चेलीहरु म्यानपावरका दलालमार्फत् प्रक्रियामा लागे । राम्रो कमाई हुने लोभले नृत्य सिके । फोनकल र स्काइपबाट अन्तवार्ता दिए । उनीहरुको तस्वीर र वृस्तृत विवरण लिएपछि हवाइ टिकट पठाइयो । शुरुमै केही रकम पनि पठाइयो ।
पहिल्यै पैसा पाएपछि लोभ्भिएका चेलीहरु गैरकानुनी बाटो हुँदै केन्या पुगे । उनीहरु टुरिष्ट भीसामा त्यहाँ पुर्याइए। नेपाली चेलीलाई केन्या पुर्याउन नेपाल देखि केन्यासम्मको मानव तस्करको सञ्जाल संलग्न रहेका तथ्य भेटिएको छ।