राष्ट्रिय जनगणना २०७८ को मुल गणना बिहीबार (आज) गते सकिएको छ। ‘मेरो गणना मेरो, सहभागीता’ भन्ने नाराका साथ सञ्चालन भएको ‘जनागणना २०७८’ अन्तर्गत गणकहरुले घर–घरमा पुगेर तथ्यांक संकलन गरिसकेका छन्।
नेपालको यो १२ औं जनगणना हो। गणकहरु घर–घरमा पुग्नु पूर्व पहिलो चरणमा सुपरीवेक्षकले घरसंख्या, घरमुलीको नामलगायत सामान्य तथ्यांकहरु संकलन गरिसकेका थिए। गणकहरुले पूर्ण तथ्यांक ल्याउने काम सकेसँगै अब केही समयभित्रै तथ्यांक सार्वजनिक गरिने जनगणना कार्यालयले जनाएका छन्।
दाङका १० पालिकाका १०० वडामा पनि जनगणनाको काम सकिएको छ। कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिनको समयावधिमा जनगणना गरिने गरी दाङमा १०० वडामा ८ सय ४ जना गणक खटिएका थिए।
दाङमा गणकहरुले नागरिकहरुबाट पूर्ण सहयोग पाउन भने सकेनन्। नेपाल सरकारले सञ्चार माध्यमसँगै मोबाइलको रिङ टोनमा समेत गणकहरुलाई सहि, सत्य तथ्यांक दिई सहयोग गर्न नागरिकहरुमा अपिल गरेको थियो।
तर सरकारले गरेको जनचेतनामुलक अपिलले नागरिकहरुलाई जागृत गराउन नसकेको पाइएको छ। जसले घर–घरमा पुगेर तथ्यांक ल्याउन पुगेका गणकहरुलाई देखे घरमा ढोका लगाइदिने, तथ्यांक किन भन्नु पर्यो? जस्ता प्रश्न गरी तथ्यांक दिन नमान्ने समस्या गणनकहरुले भोग्नु परेको छ।
गाउँमा भन्दा सहरी क्षेत्रमा तथ्यांक संकलन गर्न समस्या
गणकहरुलाई गाउँमा भन्दा शहरी क्षेत्रमा तथ्यांक संकलन गर्न समस्या हुने गरेको पाइएको छ। आम रुपमा सहरी क्षेत्रमा शिक्षित नागरिक बस्ने गरेको मानिन्छ। तर त्यहि शिक्षित नागरिक बस्ने शहरी क्षेत्रमा जनगणनामा सहयोग हुन नसकेको पाएको छ।
दाङ घोराही उपमहानगरपालिका १० मा गणकका रुपमा खटिएका सन्तोष केसीले गणक देखे ढोका लगाउनेदेखि एउटा घरमा दुई तीन पटकसम्म पुग्नु पर्ने समस्या भोग्नु परेको बताउँछन्।
‘अलि गाउँतिर त त्यस्तो खासै समस्या भएन,’ उनले भने, ‘तर बजार क्षेत्रमा कतिपय ठाउँमा हामीलाई देखे ढोका लगाउने, बोलाउँदा बोलाउँदै घरभित्र पसिदिने गर्थे।’
उनले एउटा घरमा गणक आएको थाहा पाएर पनि बाहिर मान्छे ननिस्किएपछि तीन पटकसम्म पुग्नु परेको बिएल नेपाली सेवासँगको कुराकानीमा सुनाए। घरको वास्तविक जानकारी दिन पनि केही घरमा आनाकानी गर्ने गरेको केसीले बताए।
गणक केसीले प्राय ठाउँमा सहयोग मिलेको भन्दै जान्ने बुझ्नेबाटै अलि अव्यवहारिक कुरा गर्ने गरेको बताए। ‘जनगणनाको बारेमा नबुझेका नागरिकले त अलि व्यवहारिक प्रश्न गर्छन्। हामीलाई सम्झाउन पनि सहज हुन्छ,’ उनले भने, ‘तर अलि बुझेका होलान भन्ने कतिपयले त अव्यवहारिक कुरा गर्ने, प्रश्न गर्ने के।’
यता बंगलाचुली गाउँपालिका वडा नं. २ मा खटिएका गणक विराज सुनारले गाउँमा खासै त्यस्तो समस्या नभएको सुनाए। उनले बरु नागरिकमा जनगणनाका बारेमा जनचेतनाको कमी भएको बताए। ‘मलाई त्यस्तो नागरिकबाट असहयोग भन्ने त भएन,’ उनले भने, ‘सोचेको भन्दा सहजै भयो। सोधको प्रश्नको उत्तर पनि सहजै दिने गर्थे।’
उनले गाउँमै खाने बस्नेको व्यवस्था पनि मिलेको बताए। ‘म रोल्पाको हो। सुरुमा जाने बेला त नचिनेको ठाउँमा गाह्रो हुन्छ होला भन्ने सोचेको थिएँ,’ गणक सुनारले भने, ‘तर सहजै भयो। खाने बस्ने व्यवस्था पनि गाउँमै भयो।’
नागरिकको प्रश्न किन तथ्यांक चाहियो?
जनगणना कुनै निश्चित भुगोल भित्र, निश्चित समयावधिमा कति नागरिक बसोबार गर्छन्? नागरिकको आर्थिक, शैक्षिक, रोजगारी आदिको अवस्था के छ? भनेर विवरण संकलन गरी देश विकासका लागि गुरु योजना बनाउका लागि गरिने एउटा जनसांख्यिक प्रकृया हो।
तर प्राय सबैजसो नागरिक जनगणना किन गर्ने भनेर गणकहरुलाई प्रश्न गर्ने गरेका छन्। तथ्यांक संकलन गर्ने काम धेरै भएको भन्दै आफूहरुको अवस्था नफेरिएको प्रति नागरिकहरुले गुनासो धेरै रहेको गणकहरुले बताएका छन्।
‘गाउँमा पुग्दा सबैभन्दा बढी किन तथ्यांक चाहियो भन्दै प्रश्न गरे, अनि तथ्यांक दिएर के नै हुन्छ भन्ने मानसिकता भएको पाइयो’, बंगलाचुली वडा नं. २ का सुपरीवेक्षक चन्द्रबहादुर बिकले भने। उनले नागरिकहरुमा जनगणनाका बारेमा जानकारी कम मात्र रहेको पाइएको बताए।
जनगणना गर्दा मात्र जनचेतनाका कार्यक्रम गरेर नहुने भन्दै उनले अघि पछि पनि जनगणका बारेमा जनचेतनामुकल कार्यक्रम गर्नु पर्ने विचार व्यक्त गरे।
नागरिकमा करको डर
नागरिकहरुले आफ्नो पूर्ण विवरण दिन अप्ठेरो मान्नु धेरै कर लाग्ने त होइन भन्ने डर पनि एक रहेको पाइएको छ। धेरै आर्थिक आम्दानी देखाए कर लाग्ने डरले आफ्नो रोजगारी समेत लुकाउने गरेको पाइएको गणक सन्तोष केसीले बताए।
उनले पक्की घरहरुमा कोठा दिएको नखुलाउने, आफ्नो रोगजारी नखुलाउने, कतिपयले नाम पनि दिन अनकनाउने गरेको बताए। ‘यस्तो हुनुमा सायद धेरै आम्दानी देखिए कर लाग्ने हो कि भन्ने डर भएर होला’, उनले भने।
एक किसिमको करको डर मानेर आफ्नो घर जग्गाको विवरण दिन पनि अप्ठेरो मानेको हुन सक्ने अर्की गणक कमला पुनले पनि बताइन्। उनले शान्तिनगर गाउँपालिका २ मा जनगणना गरेकी थिइन्।
शारिरीक अपांगताका बारेमा खुलेरै उत्तर
जनगणनामा दाङमा शारिरीक अपांगता भएका नागरिकहरुले आफूहरुको अवस्थाका बारेमा खुलेर जानकारी दिने गरेको गणक केसीले बताए। बरु सरकारले थप सहयोग कहिले दिन्छ भनेर उनीहरुले प्रश्न गर्ने गरेको उनको भनाई छ।
‘शारिरीक अपांगता भएका व्यक्तिहरुले पनि आफ्नो पहिचानका बारेमा खुलेरै भन्ने गर्थे,’ उनले भने, ‘त्यस्तो नखुल्ने भन्ने नै भेटाइएन। बरु सरकारले थप सहयोग कहिले गर्छ होला भन्ने प्रश्न गर्थे।’
नेताप्रति वितृष्णा
जनगणना कार्यक्रममा नेताप्रतिको वितृष्णा गणक तथा सुपरीवेक्षकले सुन्नु परेको छ। कतिपय नागरिकहरुले त आफ्नो गुनासो छिट्टै नेताहरुलाई सुनाउन आग्रह गरेको पनि सुपरीवेक्षक बिकले बताए।
‘हामीलाई पनि नेताहरुले नै पठाएको भन्ने ठानेर होला नेताहरुलाई गुनासै गुनासा गर्छन् गाउँमा,’ उनले भने, ‘कुरा एउटा, काम अर्कै गरेपछि यस्तो गुनासो भएको हुन सक्छ।’
हामीले भोगेको वास्तविक कुराहरूलाई समाचार बनाइदिनु भएकोमा दांग खबर प्रति विशेष धन्यवाद !