ठेकेदार भागेपछि अपुरो रहेको पुल भत्किँदा एकको निधन (भिडियोसहित)

बिएल

मोरङको रंगेलीस्थित कानेपोखरी सडक खण्डअन्तर्गत कानेपोखरी गाउँपालिका–२ मा रहेको गोउरिया पुलको डाइभर्सन निमार्णका लागि २०७१ सालमा ठेक्का खुलेको थियो।

फिचर एन्ड सराउद्धिन जेवी कम्पनीले १ करोड १८ लाख रुपैयाँमा पाएको ठेक्का ५ वर्ष पुगिसक्दा पनि पुरा गरेको थिएन। कम्पनीले पुलको ३ फिट मुनीबाट सुरु गरेको काम अपुरो छोडेर भागेपछि स्थानीयहरूको त्यति नै बेला बिजोग थियो।

असार २६ गते आएको अविरल बर्षाका कारण अपुरो रहेको डाइभर्सन पनि बाढीले बगाएर लगेपछि अहिले ७ दिन यतादेखि मानिसहरूको आवतजावत नै ठप्प भएको छ।
स्थानीय दुर्गा रेग्मीले पुल ठेक्का लिएर भागेको ठेकेदार कम्पनीलाई कुनै कार्यवाही नहुँदा यो अवस्था आएको भन्दै गुनासो पोखे।

‘जनप्रतिनिधिले पुलको काममा ढिलाई भएको जानकारी बारम्बार सडक विभाग, प्रदेश सरकार र केन्द्र सरकारलाई दिँदा समेत कसैले चासो देखाएनन्,’ उनले भने।

यसै साता आएको बाढीले अपुरो संरचना पनि भत्काएर लगेपछि मोटरसाइकलमा सवार एक स्थानीयलाई खोलाले बगाएर लगेको थियो। उनलाई ४ घन्टाको प्रयासपछि स्थानीयले जीवित उद्दार गरेका थिए। तर, यही ठाउँमा एक पैदल यात्रीलाई खोलाले बगाएर लैजादाँ ४ दिनपछि मृत अवस्थामा फेला परेका थिए।

बाटो ठप्प भएपछि साना तथा ठूला सवारीसाधन जोखिम लिएर नहरको बाटो हुँदै हिड्न बाध्य छन्। दैनिक सयौं सवारीसाधन आवतजावत गर्ने यो सडक अहिले रंगेली , दर्वेशा, फर्सडागीको सडकमा समेत साना तथा ठूला खाल्डाखुल्डी परेको हुनाले सर्वसाधारण अझै बढी समस्यामा परेका छन्।

स्थानीय वडा सदस्य कलावती ऋषिदेव स्थानीयलाई खोला वारपार गर्न समेत डर लाग्ने गरेको बताउँछन्।

‘लाठीको सहारा लिएपनि खोला तर्ने डरले स्थानीयहरू आवतजावत गर्न डराउँछन्,’ वडा सदस्य कलावतीले बताए।

लामा डाँफे द कञ्नजंघा कन्स्ट्रक्सनले रंगेली कानेपोखरी सडक कालोपत्रे गर्ने काम सुरु गरेपनि गेउरीया पुल नबन्दा सडक कालोपत्रे भएको कुनै अर्थ नरहने स्थानीय बताउँछन् ।

रंगेली नगरपालिका–९, फार्साडाँगी चोकबाट उत्तर कानेपोखरी चोक जोड्नलाई ठेकेदार कम्पनीले सडक कालोपत्रे गर्न सुरु गरेको छ । ठेकेदार कम्पनीले पहिलो पटक

फार्साडाँगी चोकबाट उत्तर कानेपोखरी चोकसम्म १५।४४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ ।

पहिलो पटक १५।४४ किलोमिटर कालोपत्रे जेठ मसान्त भित्र सक्ने योजना रहेको लामा डाँफे द कञ्चनजंघा कन्स्ट्रक्सनका प्रविण शेर्पाले बताए। २०७४ असार ६ मा कामको जिम्मा पाएको कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएको थियो। तर, काम पुरा भएको छैन। २५।४ किलोमिटर लम्बाईको योजनामा कूल ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँमा सडक निर्माणको लागि ठेक्का लागेको थियो।

प्रकाशित मिति: : 2019-07-18 19:44:34

प्रतिकृया दिनुहोस्