समता अस्पतालभित्र हत्या प्रकरणः सञ्जेल पत्नीसहित पक्राउ परेका तीनै जना जेल चलान

बीएल

सस्तोमा उपचार दिने भन्दै खोलिएको समता अस्पतालभित्र त्यही कार्यरत कर्मचारी मृत अवस्थामा फेला परेको विषयमा पक्राउ परेका तीनै जना जेल चलान भएका छन्।

समता अस्पतालभित्र मृत अवस्थामा फेला परेकी २७ वर्षीया बिमला तामाङको घटनालाई लिएर प्रहरीले सञ्चालक उत्तम सञ्जेलकी पत्‍नी कला अधिकारी सञ्जेल, लेखापाल सरिता केसी र कर्मचारी तीर्थकुमारी श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला अदालत काठमाडौंले बुधबार पक्राउ परेका तीनै जनालाई जनही तीन लाख रूपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो। तर, उक्त धरौटी रकम बुझाउन नसकेपछि तीनै जना कारागार चलान भएको काठमाडौं प्रहरी प्रवक्ता होमेन्द्र बोगटीले जानकारी दिए।

तामाङको रहस्मय मृत्यु भएको भन्दै प्रहरीले गत असार ३ गते उनीहरूलाई पक्राउ गरेको थियो।

सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल ‘सुसाइड नोट’का आधारमा पक्राउ परेका थिए।

रामेछाप, दोरम्बा घर भएकी विमला अस्पतालभित्रै एउटा कोठामा झुन्डिएको अवस्थामा मंगलबार फेला परेकी थिइन्। मृतकका परिवारले उनको हत्या भएको दाबी गर्दै आएका छन्।

अदालतले धरौटी मागेको रकम नबुझाएको कारण उनीहरुलाई पूर्पक्षको लागि कारागार चलान गरिएको हो। ‘उहाँहरुले धरौटी रकम बुझाउनु भएन। त्यसैले केन्द्रीय कारागार सुन्धारामा राखिएको छ, बोगटीले भने।

तीन जान विरुद्ध सुरूमा प्रहरीले अभद्र व्यवहार शीर्षकमा काठमाडौ जिल्ला प्रशासनबाट म्याद थपेर अनुसन्धान गरेको थियो।

त्यसपछि भने ज्यान उद्योगमा म्याद थप गरेर अनुसन्धान गरि सरकारी वकिल कार्यालयमा राय सहितको प्रतिवेदन बुझाएको थियो।

प्रकाशित मिति: : 2019-07-18 13:07:44

प्रतिकृया दिनुहोस्