आज साउने सक्रान्ति : 'लुतो फाल्दै' नेपाली !

साउन एक : महिमा अनेक । ब्रेक एन लिंक्स ग्राफिक्स ।

आज साउन १ गते अर्थात् साउने संक्रान्ति । साउने संकान्ति भन्ने बित्तिकै असारभर कृषिमा व्यस्त किसान आफन्तका साथ जम्मा भई रमाइलो गरेर मिठो मसिनो खाने पर्व भन्ने बुझिन्छ ।

आज साँझ घरघरमा लुतो फाल्ने प्रचलन पनि छ । लुतो फालेको भन्नाले कुरिलो, कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि राखेर कण्डारक नामक राक्षसको पूजा गरी अगुल्टो फाल्ने कर्म हो । लुतो फाल्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ।

साउने सक्रान्तिको दिनलाई लुतो फाल्ने दिन पनि भनिन्छ । बलिरहेको अगुल्टो घुर्‍यानतिर मिल्काएर ‘जा लुतो जा’ भन्दै लुतो फाल्ने ग्रामीण परम्परा छ ।  लुतो फाल्ने क्रममा निबुवा, भोगटे, कागती, अम्बा, नासपाती इत्यादि फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गर्ने प्रचलनसमेत गाउँघरमा छ । यसरी पूजा गर्दा दाद, लुतो एवं खटिराजन्य छालामा लाग्ने रोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने लोक विश्वास रही आएको छ ।

साउन महिनालाई भगवान् शिवको महिना भनिन्छ । हिन्दू धर्मवालम्वीका लागि साउनका सोमबारको ठूलो अर्थ हुन्छ । साउनको सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिनाभर धेरै हिन्दुहरू साकाहारी हुने गर्छन् ।

साउनमा महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने प्रचलन समेत रहेको छ ।

ज्योतिषको कोणबाट हेर्दा पनि आजको दिन महत्वपूर्ण दिन हो । आजकै दिनदेखि सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन् र दक्षिणायन सुरु हुन्छ । 

 

 

प्रकाशित मिति: : 2019-07-17 09:30:34

प्रतिकृया दिनुहोस्