नेपाल किन बन्न सकेन भन्ने ‘टपिक’ अब पुरानो भइसकेको छ। सम्भवतः यसमा मेरा थप ‘गनगन’ सुन्ने जाँगर तपाईं पाठकलाई नहोला। त्यसमाथि, मलाई व्यक्तिगत रूपमा नेपाल बन्न नसकेकोमा चिन्ता अनि नेपाल बनाउन पाए हुन्थ्यो भन्ने हुटहुटी दुवै छैन- कमसेकम आजभोलि।
विकास-अविकास तथा समृद्धि-गरीबी अर्थ-राजनीति र इतिहाससँग जोडिएका प्रश्न हुन्। यिनको विवेचनाका लागि समाज र इतिहासको गहिरो अध्ययन चाहिन्छ। मेरो अध्ययन नेपालको अविकासका कारण र तिनको निदानका उपाय पत्ता लगाउन पर्याप्त छैन।
यद्यपि, विकासका संकथन र तिनमा देखिने विरोधाभाष केलाउने मेरो चाखको विषय हो। यो लेख यही रहरको पटके निरन्तरता हो।
नेपालमा दुईथरीका मानिसहरू भेट्न सकिन्छ। एकथरी मानिस छन्, नेपाल ‘बन्न नसकेको’मा अति चिन्तित। केही आक्रोशित। तर, लाचार।
अर्काथरी छन्, नेपाल ‘बनाउने’ काम आफ्नो पनि व्यक्तिगत जिम्मेवारी ठानेर त्यसमा लागिपरेका उत्साही। केही गर्न व्यग्र। आफ्नो रुचि, प्राथमिकता र करिअरलाई थाती राखेर देश बनाउन लागिपर्ने योद्धा।
आजको लेखमा देश बनाउन कटिबद्ध यिनै उत्साही मनहरूको बारेमा विशेष चर्चा गर्नेछु...