सरकारले हरेक कारोबार बैंकमार्फत गर्न अनिवार्य गरिसकेको छ। राष्ट्र बैंकले पनि आफ्ना सबै सदस्य बैंकलाई अनिवार्य रूपमा बैंकिङ कारोबार गर्न निर्देशन दिइसकेको छ।
तर, बैंक तथा वित्तीय संस्थाका भौतिक संरचना अपाङ्ग मैत्री हुन नसक्दा फरक क्षमता भएका नागरिकले सहजरूपमा बैंकिङ सेवा पाउन सकेका छैनन्।
सरकारले सरकारी तथा गैरसरकारी संस्थाका भौतिक संरचना अपाङ्ग मैत्री बनाउनुपर्छ भनेको छ। यद्यपी सबै क्षेत्रले सरकारी निर्देशन पालना गरेका छैनन्।
नेपालमा अपाङ्ता भएकाहरुको संख्या ३ लाख भन्दा बढी छ। तर, अपाङ्गमैत्री भौतिक पूर्वाधार नहुँदा अपाङ्गता भएकाहरुको पहुँच हरेक क्षेत्रमा कमजोर छ। विद्यायल, बैंक तथा वित्तीय संस्था सहित विभिन्न खाले संघसंस्था र कार्यालयहरुको भौतिक संरचना अपाङ्गमैत्री नहुँदा अपाङ्ता भएकाहरु मर्कामा परिरहेका छन्।
बैंकिङ क्षेत्रलाई अरु भन्दा व्यवस्थित क्षेत्र मानिन्छ। कारण यो क्षेत्रमा आकर्षक तलब, सुरक्षित रोजगारी र शिक्षित जनशक्ति संलग्न हुन्छन्। त्यतिमात्रै होइन सुशासनका हिसाबले पनि यो अन्य क्षेत्र भन्दा अगाडि नै छ । तर, सबै मामलामा अग्रणी रहेको भएपछि यो क्षेत्रका भौतिक संरचना अपाङ्ग मैत्री छैनन्। स्टाफ अपाङ्गमैत्री छैनन्।
दृष्टिबिहिनहरू कुनै पनि बैंकमा बैंकिङ सेवा लिन जाँदा अहिले पनि धेरै झन्झट व्यहोर्नुपर्ने हुन्छ। सरकारले बैंकमा खाता खोल्न अनिवार्य गरे पनि बैंकका कर्मचारीको व्यवहारको कारण धेरै दृष्टिविहिनहरू खाता नखोली फर्कने गरेका छन्।
यदि खोलिए पनि धेरै संघर्ष गर्नुपरेको छ। ‘सानोतिनो जागिर खान थालियो। तलब बैंकमा हाल्ने भनेपछि खाता खोल्न गए पनि धेरै ठाउँमा बैंकका कर्मचारीको रूखो बोली साथै हस्ताक्षर र जथाभावी लगाउनुपर्ने ल्याप्चेले हैरान भइन्छ,’ काठमाडौंमा बस्दै आएकी रूपन्देहीकी दृष्टिविहिन उमा चौधरीले गुनासो गरिन्, ‘बैंकमा सहयोगी बिना जानै हुँदैन। हामी काठमाडौंमा एक्लै बसेर अध्ययन गरिरहेका हुन्छौ कसरी सहयोगी खोज्ने?’
यस्तै आफ्नै नामको चेक साट्न जादाँ पनि बैंकका कर्मचारीको असहयोगले थप असजिलो हुने गरेको छ। ‘बैंङ्कका कर्मचारीले चेक काट्नै मानदैनन् र आफ्नो मान्छे लिएर आउ भन्छ,’ उनले भनिन्,‘बैंकले चेक काटि हाले पनि धरै ठाउँमा तनाव दिन्छन्।’
केही मात्रामा आँखा देख्ने व्यक्तिले अरू आँखा देख्नेजस्तै सजिलै हस्ताक्षर गरेर पैसा निकाल्न र राख्न सक्छन्। तर, पुरै आँखा नदेख्नेलाई समस्या हुने गर्छ।
चेकमा औँठाछाप गरिसकेपछि पनि नागरिकता र अपाङ्गता परिचयपत्र दुबै मागिन्छ।
दिनहुँ एउटै बैंकमा कारोबार गरिरहने व्यक्तिलाई पनि दश ठाउँमा औँठा छाप गरिरहँदा बैंकिङको कारोबारनै आफूहरूलाई झन्झटिलो हुने सेवाग्राहीले बताएका छन्।
यस्तै रूपन्देहीकी अनिता बनिया आफू बैंकबाट पीडित भएको बताएकी छन्। ‘हुन त बैंकिङ कारोबार केही जोखिमपूर्ण हुन्छ नै तर अपाङ्गता भएका व्यक्तिलाई सहज हुने वातावरणनै छैन,’ उनले भनिन्,‘बैंकमा खाता खोल्न गयो चेक बुक नै दिँदैनन्। अर्को दिन पैसा निकाल्न गयो नागरिकता, अपाङ्गता परिचय पत्र र आफन्त किन नल्याएको भनेर फर्काउँछन्।’
अपाङ्गता भएकालाई त झन बैंकमा सजिलो गर्नुपर्ने तर खाता खोल्न जाँदा आफ्नो मान्छेको नागरिकता नभए खातै खोल्दैनन्।
यस्तै अर्का दृष्टिविहिन कुशल न्यौपाने आफू बैंकमा पैसा निकाल्न जाँदा भौचर भर्ने मान्छे पनि नभेट्ने जिकिर गर्छन्, ‘बैंकका कर्मचारीलाई भौचर भर्न लगायो। फुर्सद छैन भन्छन्, आफू एक्लो मान्छे कसलाई साथी लिएर जानू बरू यो विधि परिवर्तन गरेर डिजिटल माध्यमबाट पैसा निकाल्न पाए सहयोगी खोजिरहनु पर्दैनथ्यो।’
यता बैंकिङ संस्थाले पनि बिस्तारै आफूलाई अपाङ्गमैत्री बनाउँदैछन्। बैंक तथा वित्तीय संस्थाका सबै शाखा र कार्यालयहरु अपाङ्गमैत्री भइसकेका छैनन्। तर यसको शुरुवात भने भएको पाइन्छ।
बैंकिङ सेवालाई अपाङ्ग नागरिकको पहुँचमा पुर्याउन काठमाडौंस्थित एभरेष्ट बैंकले सुरूवात गरिसकेको छ।
नयाँ बानेश्वरमा रहेको एभरेस्ट बैंकको केन्द्रीय कार्यालय अपाङ्ग मैत्री छन्।
‘हाम्रो बैक पूर्ण अपाङ्गमैत्री हो। यहाँ आउँदा अपाङ्गता भएका व्यक्तिले लाइन बस्नु पर्दैन। उहाँहरूको सबै काम हामीनै गरिदिन्छौं,’ एभरेष्ट बैंक नयाँ बानेश्वर शाखाकी अपरेशन इन्चार्ज हेमा श्रेष्ठले भनिन्।
एभरेष्ट बाहेक यो स्तम्भकार काठमाडौंका विभिन्न बैंकमा गयो। त्यसमध्ये कुमारी बैंकको नयाँ बानेश्वर शाखामा जादाँ त्यहाँका कर्मचारीमा अपाङ्गप्रति हेर्ने प्रवृत्तिनै फरक पाइयो।
काठमाडौंकै नयाँ बानेश्वरस्थित कुमारी बैंकको शाखा अपाङ्ग मैत्री छैन।
यहाँ दृष्टिविहिनहरूले खाता खोल्न र बैंकिङ कारोबार गर्न जाँदा अनिवार्य अर्को व्यक्ति लिएर जानुपर्ने हुन्छ।
यहाँ खाता खोल्न आउँदा अन्धोहरूले सहयोगी ल्याउनुपर्ने र उनीहरूका लागि यहाँ कोही सहयोगी नहुने बैंककै शाखा प्रमुखले भनिन्।
बैंककै यति उपल्लो पदमा बसेर पनि दृष्टिप्रतिको यस्तो सम्बोधनमा अरू बैंकका कर्मचारीले के सिक्लान् र?
बैंक तथा वित्तीय संस्थाहरुका भौतिक संरचना अपाङ्गमैत्री बन्न थाले पनि त्यहाँ कार्यरत कर्मचारीको व्यवहार अपाङ्ग मैत्री अझै हुन नसकेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रराज शर्माले बताए।
३ लाख भन्दा बढी संख्यामा अपाङ्ता भएका व्यक्तिहरू रहेको मुलुकको संघीय राजधानीमासमेत अपाङ्गमैत्री संरचना र बैंकिङ कारोबार नहुनु दुखत रहेको उनले बताए।
‘हामीले सबै निजी तथा सरकारी बैंकहरूलाई अपाङ्गमैत्री बैंक बनाउन सुझाव दिइसकेका छौं,’ उनले भने,‘केही हदसम्म परिवर्तनसमेत भएको छ, हिजो अस्ती बैंकमा जाँदा हेर्ने नजरनै अर्को थियो। तर, आजभोलि केही परिवर्तन भएको छ।’
यसैबीच नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द प्रसाद नागिनाका अनुसार सबै बैंकलाई अपाङ्गमैत्री बनाउन सर्कुलर गरिसकिएको छ। ‘जेष्ठ नागरिक, साक्षर नभएको व्यक्ति, शारीरिक अपाङ्ग, दृष्टिविहिनहरूलाई बैंकमा प्राथिमिकता दिनुपर्ने व्यवस्था छ,’ उनले भने,’ उहाँहरूलाई लाइनमा पनि बसाउन मिल्दैन। उहाँहरूले सहजै बैंकिङ कारोबार गर्न पाउनुपर्ने व्यवस्था छ। त्यतिमात्र होइन सम्भव भएसम्म एटिएम पनि दिने व्यवस्था छ।’
उनले कुनै पनि बैंकले विभिन्न बहाना बनाएर दुःख दिएमा नेपाल राष्ट्रिय बैंकमा लिखित उजूरि दिन मिल्ने व्यवस्था रहेको जानकारी दिए।
वर्तमान समयमा नेपाली बैंकहरुले आधुनिक सेवा सुविधा उपलब्ध गराए पनि ती सबै अपाङ्ग मैत्री हुन सकेका छैनन्।
विशेषगरी नेपाल राष्ट्र बैंकका काउन्टर र अन्य एकाध बाहेकका बैंक तथा वित्तीय संस्थाका काउन्टरहरू अपाङ्गता मैत्री बन्न सकेका छैनन्।