अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ६९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार ३१ जना वेपत्ता र बाढी तथा पहिरोमा परि ३८ जना घाइते भएका छन्।
१६,५२० घरपरिवार विस्थापित हुनुका साथै हवाई, जल तथा स्थलमार्गको माध्यमबाट ३,३६६ जना व्यक्तिहरुलाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी काठमाडौंमा तीन, मकवानपुरमा ६, ललितपुर, रौतहट र भोजपुरमा पाँच/पाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चार/चार, खोटाङ, धनुषा र काभ्रेपलाञ्चोकमा तीन/तीन, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुई/दुई तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा एक/एक गरी ६९ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये २८ महिला र ४१ पुरुष छन्।
बाढी तथा पहिरोमा परी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएका १४ महिला र १८ पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी डोल्पामा नौ, सिन्धुलीमा चार, इलाम र मोरङमा तीन/तीन, महोत्तरी र मकवानपुरमा दुई/दुई तथा काठमाडौँ, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा एक/एकजना बेपत्ता भएका छन् ।
उद्घार तथा राहत कार्यलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहका निकायहरु क्रियाशिल छन् । यस कार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरु, जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, रेडक्रस लगायतका सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने संघ संस्थाहरु र स्थानीयवासीहरु परिचालित भएको अवस्था विद्यमान छ।
शीघ्रातिशीघ्र उद्धारको काम प्रभावकारी रुपमा अगाडि बढाउन प्रधानमन्त्रीबाट सम्बन्धित सबैलाई निर्देशन र अनुरोध समेत भइसकेको छ । नेपाल सरकार मन्त्रिपरिषद, मिति २०७६/०३/२९ को बैठकले सरकारका सबै निकाय र जनशक्तिलाई परिचालित गरि तत्काल राहतका कार्यहरु तदारुकताका साथ गर्न निर्देशन भएबमोजिम सम्पूर्ण घाइतेहरुको नि:शुल्क उपचार, घाइते भई अपांग एवं अशक्त भएका र मृतकका परिवारहरुलाई यथोचित व्यवस्था गर्ने कार्य भइरहेको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन सतर्कताका साथ औषधि र उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको छ । विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, खानेपानी, सञ्चार लगायतका अत्यावश्यक सेवाहरुलाई सहज बनाइराख्न सरकारी र गैरसरकारी संयन्त्रहरु प्रभावकारी रुपमा परिचालन भइरहेका छन् । उद्धार र राहत लगायतका कार्यहरुमा आवश्यक सहयोग पुर्याउन नेपाल सरकार मन्त्रिपरिषद्ले जनप्रतिनिधि लगायत सबैलाई आग्रह समेत गरिसकेको छ ।
विपद्को खोज, उद्धार तथा राहत कार्यको प्रभावकारी व्यवस्थापनका लागि मा. गृह मन्त्रीको अध्यक्षतामा मिति २०७६/०३/२८ मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसी विपद् प्रभावित जिल्लाहरुका जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरुलाई निर्देशन भएबमोजिम सबै सुरक्षा निकाय लगायत विषयगत क्षेत्रहरु सक्रिय भइरहेका छन् ।
आपत्कालिन उद्धार तथा राहतका लागि आवश्यकतानुसार हेलिकप्टर उडान भइरहेको छ । काठमाण्डौबाट हेलिकप्टर मार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा प्रवाहलाई सुचारू गर्न जेनेरेटर र धनुषाको लागि ११०० थान त्रिपाल पठाईएको छ । त्यस्तै ललितपुर जिल्लाको महाँकाल गोटिखेलका २० र बागमती गाउँपालिकाको पिउटारका २० परिवारको लागि त्रिपाल, म्याट र कम्बल ४०/४० थानका दरले हेलिकप्टर मार्फत पठाइएको छ । साथै सुर्खेत र इटहरीमा हेलिकप्टर तयारी हालतमा राखिएको छ ।
यसैगरी प्रदेश गोदामघर हेटौडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि ३/३ हजार थानका दरले १२,००० थान त्रिपाल र ४ रोल म्याट सहितको राहत सामग्री पठाइएको छ । इटहरीमा रहेको प्रदेश नं. १ को गोदामघरबाट सप्तरीका प्रभावितहरुलाई आश्रय प्रदान गर्न त्रिपाल वितरण गरिएको छ।
नेपाली सेनाले १४ स्थानमा तटबन्ध निर्माण, ९ स्थानमा पहिरो पन्छाउने कार्य, ७ स्थानमा खोलाको निकास खोल्ने र ६ स्थानमा सडक सुचारु गर्ने व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाईटीको क्षेत्रीय गोदामघर पर्साबाट १००० थान त्रिपाल धनुषा जिल्लामा पठाइएको छ । पानीको सतह घटे सँगै प्रभावित परिवारहरु आआफ्नो वासस्थानमा फर्कने क्रम समेत शुरु भइसकेको छ ।
घरबाट बाहिर सुरक्षित बसेकाहरुका लागि प्रदेश सरकार, स्थानीय तह र स्थानीय स्तरमा कार्यरत संघसंस्थाहरुबाट तत्कालको लागि खाद्यान्न व्यवस्थापन भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सम्भावित महामारीलाई मध्यनजर गरी प्रभावित जिल्लाहरुमा स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन भएको छ। जिल्ला विपद व्यवस्थापन समितिहरुबाट उद्धार तथा वेपत्ताहरुको खोजीलाई तिब्रता दिइएको छ।
मकवानपुर जिल्लास्थित इन्द्रसरोवर (कुलेखानी जलाशय)मा सामान्यतया कार्तिक महिनासम्ममा भरि हुने पानीको सतह अहिले नै भरिइसकेको छ । ६० मेगावाट विद्युत उत्पादन गरी २ सेन्टिमिटरको दरले पानीको सतह घटाउँदै लैजादा समेत पानीले अधिकतम सीमा रेखा नाघ्ने अवस्था आएमा जलाशयको ढोकाहरु खोल्नुपर्ने स्थिति आउन सक्छ । हाल टर्बाइनबाट भएको निकासले पानीको सतह नियन्त्रणमा नै रहेको छ । ढोका खोल्नु पर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा जनधनको क्षति हुन नदिने गरी सुरक्षा सतर्कता अपनाइएको छ । एस. एम. एस. मार्फत अवस्थाको पूर्वसूचना दिने व्यवस्था मिलाइएको छ ।