लहान । साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपालिस लगाएर श्रीमान्को लामो आयु तथा दीर्घायुको कामना गर्ने गरिन्छ ।
सगरमाथा अञ्चलको प्रमुख व्यापारी केन्द्रका रुपमा परिचित लहान बजारमा हरियो चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई छ । अबिवाहित युवतीहरुले असल बर पाउन हरियो चुरा मेहन्दी लगाएर व्रत बसी भगवान शिवको व्रत बस्ने गर्ने र शिव मन्दिरमा पूजाआजा गर्ने गर्छन् । असार महीनामा खासगरी अधिकांश हिन्दू महिलाले हरियो चुरापोते र मेहन्दी लगाउने स्थानीय व्यापारी मो एजाजुलले बताए।
उनका अनुसार कतिपयले यसको धार्मिक महत्व बुझेर नै लगाउने गरे पनि कतिपय महिलाले देखासिखी र लहैलहैमा पनि हरियो चुरा, पोते तथा मेहन्दी लगाउने गरेका छन्।
साउनमा बोटबिरुवा पलाएर हरियाली छाउने र महिलाले पनि हरियो बस्त्र धारण गर्दा सुन्दर देखिने भएकाले साउन महीनामा हरियो चुरा, पोते, हरियो कपडा र मेहन्दी लगाउने गरेको सञ्जुकुमारी मण्डलको भनाइ छ ।
हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिला श्रीमान् समृद्धि होस् भनेर खासगरी सुहागन महिलाले हरियो चुरा, पोते र मेहन्दी लगाउने गरेको पण्डित रामकुमार शास्त्रीले बताए।
साउन महीनामा हरियो चुरा, पोते र मेहन्दीको बढी बिक्री हुने गरेको व्यवसायी बताउँछन् । रासस