चितवन, जेठ २६
भरतपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएर भत्काएको आरोपमा पक्राउ परेका चार जना रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार राति डोजर प्रकरणका मुख्य आरोपी प्रकाश कँडेल, भैरव बास्ताकोटी, सुरेन्द्र बि.क. र धुव्र चापागाई रिहा गरेको हो।
प्रहरीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, प्रदेश सभाका सांसद विजय सुवेदी, चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ललगायतको उपस्थितिमा उनीहरुलाई रिहा गरेको हो।
पक्राउ परेका चारै जनालाई हाजिरी जमानीमा छाडिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जानकारी दिए।
घटना घटाउने पक्षले क्षमायाचना गर्दै भत्काएको बार पुर्ननिर्माण गर्ने विषयमा सहमति भएपछि रंगशाला निर्माणमा थप वातावरण बनाउन रिहा गरिएको प्रजिअ वस्नेतले भने।
चितवन प्रहरीका अनुसार चारै जनालाई १२ दिनसम्म दैनिक हाजिरी जमानीमा छाडिएको हो।
यसैबीच पक्राउ परेका चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेठ १५ गते विहान डोजर लगाएर बार भत्काउने कार्यप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन्।
रंगशालाको बार भत्काएपछि फाउण्डेशनले काम रोकेको थियो।