राष्ट्रिय वाणिज्य बैंक जुम्लामा सन्ध्याकालिन सेवा, निजीभन्दा राम्राे हुने विश्वास

तस्बिरः महेश नेपाली

सरकारी सेवा सुविधा चुस्त नभएको आलोचना बेलाबेलामा बहसको विषय बन्छ। समाचार बनिरहन्छन्। ती आलोचित भैरहने र समाचार बनिरहने मध्येको एक हो, सरकारी बैंकिङ सेवा। जुम्लामा भएका मध्ये दुईवटा सरकारी बैंकहरु राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक हुन।

यी दुबैको सेवा निजी बैंकहरुको तुलनामा कमजोर भएको गुनासो सर्वसाधारण तथा व्यवसायीहरुले गर्दै आइरहेका छन्। तर पनि ग्राहकहरु निजी बैंकको तुलनाका सरकारी बैंकलाई नै भरपर्दो मान्छन्। सरकारी कार्यालय तथा विद्यालयहरुका खातापाता समेत सरकारी बैंकमै हुने हुनाले तुलनात्मक रुपमा बढी घुइँचो हुने गर्छ। तर ग्रहाकहरु भने सँधै सास्ती खेपिरहेका हुन्छन्।

जुम्लाका सबै स्थानीय तहको केन्द्रमा प्राइभेट बैंकहरु पुगेका छन्। सदरमुकाम खलंगामा मात्र आठवटा प्राइभेट बैंकहरु छन्। तरपनि राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका ग्राहक संख्या बढी छन्। सरकारी कारोबारहरु पनि धेरै हुने भएकाले भिडभाड बढ्ने गरेको बैंकले जनाएको छ।

एउटै सेवाग्राहीले सेवा लिनका लागि तीनचार घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको राष्ट्रिय वाणिज्य बैंकबाट सेवा लिन अब भने सहज हुने भएको छ।

राष्ट्रिय वाणिज्य बैंक जुम्ला शाखाले आइतवारदेखि सन्ध्याकालिन काउन्टर सेवा संचालनमा ल्याएको छ। बैंकले सेवा संचालन गरे लगत्तै सेवा लिन पुगेका चन्दननाथ ६ का स्थानीय अनुप थापाको खुसीको सिमा नाग्यो। उनी बैंकका ग्राहक हुन्।'हामीले चाहेको समयमा सुविधा पाउने भएका छौं।' उनले भने,'सरकारी सेवा चुस्त नहुँदा सेवाग्राहीहरु निजीतिर जाने र सरकारी संरचना नै ध्वस्त हुने हुन्छ।' ढिलै भएपनि वाणिज्य बैंकले ग्राहकको चाहनालाई मध्यनजर गरेको छ।

बैंकले बिहान १० देखि तीन बजेसम्म दैनिक सेवा दिदै आएपनि सेवाग्राहीको भिड थामिनसक्नु हुने गरेको प्रबन्धक ओम बहादुर शाहीले बताए।

सन्ध्याकालिन काउन्टर सेवा सुचारु भएपछि हिउँदको समयमा साँझ साढे तीन बजेदेखि साढे पाँच बजेसम्म र वर्षाको समयमा साढे चार बजेदेखि साढे ६ बजेसम्म संचालन हुनेछ। उनले भने, 'टाढाबाट सेवा लिन आउने सेवाग्राहीले पनि ढिलोसम्म सेवा पाउने छन् भने व्यवसायीहरुलाई आफ्नो दैनिक व्यवसायको रकम जम्मा गर्नको लागि पनि सहज हुनेछ।'

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ कार्तिक पाँच गते जुम्ला पुगेका बेला व्यवसायीहरुले वाणिज्य बैंकको सेवालाई छिटो छरितो र व्यवस्थित गर्दै सन्ध्याकालिन सेवाको व्यवस्था गर्न अनुरोध गरेका थिए। श्रेष्ठले मंसिर १ गतेदेखि सेवा सुचारु गर्ने बचन दिएका थिए। उनले दिएको बचन पुरा गराउनको लागि बैकका ग्राहक थापाले भिडियो रेकर्ड गरेको उनलाई सुनाएका थिए। सोहि अनुसार आइतवारबाट सेवा सुचारु भएको छ।

उक्त माग समयमै सम्बोधन गर्न सकेको बैंकले छिट्टै एटिएम सेवा पनि संचालन गर्ने तयारी गरिरहेको बताएको छ। आइतवार सन्ध्याकालिन काउन्टर सेवाबाट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटाले पहिलो चेक साटेपछि सुरुवात भएको छ।

बैंकिङ सेवा लिन सेवाग्राहीले धेरै दुःख व्यहोर्नु परेकाले स्मार्ट बनाउन खोजिएको बैंकको तर्क छ। कर्मचारी अभावका कारण केही समस्या भएपनि दरवन्दी थप गरि कर्मचारी पठाउन केन्द्रमा पहल भएको शाखा जुम्लाले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-17 21:57:25

प्रतिकृया दिनुहोस्