एक दिन न्युटन स्याउकाे रुखमुनि बसिरहेका थिए । अचानक एउटा स्याउ खस्याे । यसले उनी साेचमग्न भए । उनकाे दिमागमा अनेक प्रश्नकाे ताँती लाग्याे । याे स्याउ भुईंमा किन खस्याे ? किन माथितिर गएन? आदि/इत्यादि । अन्ततः पत्ता लाग्याे, गुरुत्वाकर्षणकाे सिद्धान्त । यसले आधुनिक भौतिक विज्ञानको उदय गरायाे । याे थियाे, आजभन्दा ३३२ वर्ष अघिकाे कुरा ।
यदि न्युटन बसैकै बेलामा स्याउ नखस्दाे हाे त ? सायद गुरुत्वाकर्षणकाे सिद्धान्त धेरै पछि पत्ता लाग्थ्याे कि ? वा हालसम्मपनि गुरुत्वाकर्षणबारेकाे प्रश्न गर्भमै पाे रहन्थ्याे कि? त्यसैले जस स्याउलाई जान्छ ।
सिद्धान्तसँगकाे कुरा मात्र हाेइन, बाइबल अनुसार स्याउ मानव जातिको उत्पतिसँग पनि जोडिएको छ । 'यसु'ले आदिमानव आदम र इभलाई सुन्दर 'एडेन गार्डेन'मा छाेडेका थिए । गार्डेनकाे फल नटिप्नु भनेका थिए । उनीहरुले यशुले भनेकाे मानेनन् । फल टिपे । खाए । त्याे फल स्याउ थियाे । एकपटक सारा कुरा भुलेर पश्चिमा मिथकलाई मात्र आधार मान्ने हाे भने, उनीहरुले 'यसु'काे आज्ञापालन गरेर स्याउ नखाएकाे भए सायद अहिलेको मानव जाति अस्तित्वमै पाे आउदैन थियाे कि ?
जे हाेस् उनीहरुले त्याे स्याउ खाए । मानव जाति अस्तित्वमा आयाे। स्याउ लाए । अर्थात् स्याउ खेती गरे । यसरी पश्चिमबाट सर्दै भारतकाे हिमाञ्चल हुँदै स्याउ पूर्व नेपालकाे 'पश्चिम' जुम्लामा आइपुग्याे, वि.सं २०१८ सालमा ।
जुम्ला पुग्नुभन्दा पहिला १९९४ मा गोदावरी र छाउनीमा जापान र इटालीबाट स्याउका बुटा ल्याएर प्रयाेग गरिएकाे थियाे । सफल भएन ।
भारतमा भने स्याउ अमेरिकाबाट ल्याइएको थियो ।
यसरी जुम्ला पुगेकाे स्याउ स्याउ बहुगुणी छ । खाद्य पदार्थ, औषधीजन्य उपयोग र सौन्दर्य प्रसाधन सामग्रीका रुपमा समेत प्रयोग गर्न मिल्छ । स्याउमा भिटामिन 'बी’ कम्प्लेक्स, भिटामिन सी, फाइबर, पोटासियमलगायत तत्व पाइन्छ । यसले प्रतिरक्षा प्रणाली ठिक पार्छ । कोलेस्ट्रोल, मधुमेह, कब्जियतलगायत पेटकाे राेग हुनेका लागि पनि यो बढी लाभदायक छ ।
स्याउ जुम्लीहरुकाे मुख्य आम्दानीकाे स्राेत हाे । प्रमुख निर्यातमुखी उत्पादन हाे । यही स्याउकाे हालकाे अवस्था बहसकाे विषय हाे ।
अघिल्लो वर्ष जुम्लाबाट १७ कराेडकाे स्याउ निर्यात भयाे । कृषि ज्ञान केन्द्रले आँकडा निकालेपछि त्यसलाई देशभरका सञ्चारमाध्यमले प्रमुख समाचार बनाए ।
'जुम्लामा एक घर एक बगाैचा' कार्यक्रम उति प्रभावकारी नभएपनि स्याउ बगाैचा थपिदै जानुले स्याउ उत्पादन बढिरहेकाे छ। अर्थात् देशकाे कुल गार्हस्थ उत्पादनमा थाेरै भएपनि जुम्लाकाे स्याउले याेगदान गरिरहेकाे छ ।
कुनै देशकाे भाैगाेलिक सिमाभित्र एक वर्षमा उत्पादन भएका अन्तिम वस्तु तथा सेवाकाे माैद्रिक मूल्य नै कुल गार्हस्थ उत्पादन(जीडिपी) हाे । यसमा अन्तिम वस्तु भन्नाले बिक्रीका लागि बजारसम्म आएकाे भनी बुझ्नुपर्छ । त्यसैले जीडिपीमा १७ कराेड मात्र हाेइन, अरु पनि याेगदान छ । जस्ताे; स्याउकाे ब्रान्डिङ, चाना, जुम्लामै उपभाेगका लागि किसानकाे बगैँचा र स्टाेरबाट मान्छेहरूले किन्ने स्याउ, जसकाे कुनै हिसाब छैन ।
अघिल्लो वर्ष ५ हजार ६ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रले याे वर्ष ६ हजार १ सय मेट्रिक टन स्याउ फल्ने अनुमान गरेकाे छ । ज्ञान केन्द्रका प्रमुख बालकराम देवकोटा अहिले बगैंचामा स्याउ कति फलेको छ भन्ने यकिन तथ्यांक आई नसकेकाे बताउँछन् । 'असोज पहिलो साता स्थानीय तहका कृषि प्राविधिकले सम्पूर्ण विवरण ल्याएपछि एकिन तथ्यांक आउँछ,' उनले भने ।
संसारभरका करिब सय देशमा फल्ने स्याउकाे झण्डै आधा जति चीनले उत्पादन गर्छ । त्यसपछि अमेरिका, भारत लगायतका देशहरु, जसले ठुलाे मात्रामा स्याउ उत्पादन गर्छन्। नेपाल निकै कम परिमाण ०.०५ प्रतिशत मात्र उत्पादन गर्ने देश हाे । जसमा मनाङ, मुस्ताङलगायत अन्य जिल्लाकाे स्याउ पनि जाेडिन्छ। एक तथ्यांकअनुसार नेपालका ४५ जिल्लामा स्याउ फल्छ । त्यसैले संसारभरकाे उत्पादन हिस्सामा जुम्लाकाे स्याउ नगन्य छ । संसारका लागि जे सुकै भएपनि जुम्लाकाे लागि स्याउ खास हाे, प्रमुख हाे । जुम्लीहरुकाे शान हाे । गाैरवकाे विषय हाे ।
विशेषत: १८४६ पछि केन्द्रीय सत्ताद्वारा जुम्ली र फाेहाेर उस्तै उस्तै हाे भन्ने संकथन निर्माण गरियाे, स्याउ उत्पादनले यसलाई जबर्जस्त विस्थापन गर्ने काेसिस गरिरहेकाे छ । त्यसैले जुम्लाकाे पर्यायवाची अब स्याउ हाे । यत्ति बुझेका मिडियाले स्याउकाे सिजन चलिरहेकाे याे समयमा स्याउ जतिकै रसिलाे मसला पाएका छन् र छापेका छन् अखबारका मुल पृष्ठमा।
'मिठाे पनि, रसिलाे पनि,' 'जुम्लाकाे स्याउ खाेजिखाेजी खाउँ,' 'नेपालगञ्जमा जुम्ली स्याउको माग बढ्यो, 'जताततै जुम्ली स्याउ,' 'विस्थापित हुँदै विदेशी स्याउ,' 'बजारभरी जुम्ली स्याउ,' 'किसानलाई स्याउ टिप्न भ्याइनभ्याई' आदि समाचारका हेडलाइन बनेका छन् ।
तर, हरेक वर्ष उत्पादनकाे एक चाैथाइ स्याउ कुनै न कुनै रुपमा खेर गैरहेकाे छ ।
पंक्तिकारसँग जुम्लाका पाका किसान पुरिनाथ न्याैपानेले एकाबिहानै निरास हुँदै भनेका थिए 'असत्ति सरकार भएपछि, कलि जुक(युग) लागेपछि यस्तै हुन्छ । जसका स्याउमा रस भरिएका नाई, जसले चुकिल्लाे(अमिलाे) हुँदै टिपेका छन्, उनीहरुले बढी माेल पाउन्या भयापछि हाम्रा स्याउ त घुईया भाउ भया ।'
कृषि प्राविधिकहरु स्याउ भदौ दाेस्राे सातामा टिप्याे भने गुणस्तरीय हुन्छ, भन्छन् । तर हरेक वर्ष साउन २० अघिदेखि नै स्याउ बजारमा आउँछ। परिणामत: जुम्लाकाे स्याउ 'देख्दा राम्राे, खाँदा मिठाे' हुन पाउँदैन ।
याे समस्या सुल्झाउन गत वर्ष जिल्ला समन्वय समितिमा जिल्लाका सबै स्थानीय तहसहितको बैठक बस्यो र भदौ १० देखि मात्र स्याउ टिप्न पाउने निर्णय ग-यो ।
‘ढिलो स्याउ टिप्दा गुलियोपना बढ्छ । पूरै रङ चढ्छ । बजारमा लैजानलाई परिपक्व हुन्छ । दाना पनि ठुलाे भैसक्छ । हेर्दा आकर्षक देखिन्छ,’ देवकोटा भन्छन्, ‘स्याउ टिप्नका लागि सामाजिक थिति विकसित हुँदै गइरहेको छ । स्याउ पाकेपछि टिप्नुपर्छ भन्ने भावना विकसित भएको छ । तर, नपाकेको स्याउ बजार पठाउँदा मिठाे स्वाद पाइदैन ।’
जिल्लाका अधिकांश किसानले सोही निर्णयलाई मानेर स्याउ टिप्न थालेका छन् । तर बिचाैलियाहरु जति छिटाे स्याउ बजार पु-यायाे, उति बढी माेल पाउने लाेभले किसानहरुलाई एक किलाेमा दुई रुपियाँ बढी थपेर भएपनि नपाकेकाे स्याउ सुर्खेत, नेपालगञ्ज पु-याउन हतारिए।
भन्नलाई त सूचना निकालेरै कृषि ज्ञान केन्द्रले काचाे स्याउ नटिप्न भनेकाे हाे । कसैले नपाकेको स्याउ टिपेर बजार पठाए रोक्न सडक आसपासका प्रहरीचौकीसँग समन्वय गरिएकै हाे । किसानलाई पनि स्याउको गुणस्तरबारे प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सचेत गराइएकै हाे । तर, बिचाैलियाहरुसँग सक्ने कसले ? काे त्यस्ताे बहादुर छ र ? केन्द्रीय सत्ता आफै कतिपटक बिचाैलिया मुक्त गर्ने भनेर लाग्याे तर लाेप्पा खायाे भने जुम्ली स्याउका बिचाैलियाका के कुरा गर्नु ?
त्यसैले न्यौपानेले गुनासाे पाेखेका थिए। त्याे थियाे भदाै १० गतेकाे बिहान। तर, माथि छापिएका समाचारका हेडलाईन त्याे मितिभन्दा अागाडिका थिए।
अहिले स्याउ व्यापारीलाई 'मेरा स्याउ किन्देउ' भनेर गयाे भने उनीहरु भन्छन्, 'तल(सुर्खेत, नेपालगन्ज) भाउ छैन। ४० रुपियाँ केजी दिने हाे भने ठिक छ ल्याउनु। नत्र घाटा लाग्छ।'
अघिल्लो वर्ष बगाैचामा ५० रुपियाँ किलाेमा स्याउ बिक्री भयाे, याे वर्ष सुरुमा ५०मा, अहिले घटेर ४० मा झरेकाे छ। मतलब किसानले ३० देखि ३५ रुपियाँ मात्र पाउनेछन् । बाँकि ढुवानी खर्च तिर्नुपर्छ । यस्ताे अवस्थामा रितिथिति मान्ने किसानहरु दु:खी हुनु अस्वाभाविक भएन।
जुम्ली स्याउले अरु स्याउ विस्थापित गरे भनेर अहिले जतिसुकै फलाके पनि वा जतिसुकै उत्साहित भएपनि त्याे अस्थाई हुनेछ । नेपालमा वर्षेनी स्याउ आयातकाे आयतन बढिरहेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार नेपालमा प्रतिवर्ष करीब ३७ प्रतिशतले स्याउ आयात वृद्धि भैहेको छ । ११ वर्ष अघि ३१ करोडको स्याउ आयात भएकोमा हाल बढेर ४ अर्ब ९४ करोड पुगेको छ । काठमाडौंमा मात्र लागभग ८० प्रतिशत स्याउ चीनबाट र अरु भारतबाट आउँछ । हाम्राे १ प्रतिशत हाराहारीमा हुन्छ । त्यसैले जुम्ली स्याउ बजारमा दुई महिनाभन्दा बढी टिक्न सक्ने अवस्था छैन ।
देशभर स्याउ खेती हुने कुल जमिनकाे ३८ प्रतिशत जति मात्र खेती हुने गरेको छ भने ६२ प्रतिशत जमिन खाली छ । यसले खेती विस्तार गर्न सक्ने सम्भावनालाई उजागर गरेकाे छ । याेजनाबद्ध रुपमा यसाे गर्न सकिएमा हामी स्याउ उत्पादनमा आत्मनिर्भर भई निर्यातकर्ता समेत हुनेछाैं । तर, याे आदर्श हाे ।
यथार्थमा बजार छैन । अर्गानिक प्रमाणिकरण, लेबलिङ, प्याकेजिङ, वैज्ञानिक ढंगको भण्डारण र प्रवर्द्धनकाे समस्या छ । यातायातकाे समस्या गर्भदेखि नै भाेग्दै आएकाे हाे । त्यसैमाथि बिचाैलियाकाे बिगबिगीले जुम्ली स्याउ थला परेकाे छ ।
पहिला यी समस्याहरु समाधान गर्नु ठुलाे उपलब्धि हात लाग्नु हाे । यसका लागि सरकारकाे भूमिका अहम् हुनेछ । यातायात र ढुवानीकाे लागि केही समय अनुदान व्यवस्था गर्न सके, सडक सुधार गरी व्यवस्थित बनाउन सके, स्याउमा चोटपटक लाग्ने र बिग्रने सम्भावना कम हुन्थ्याे ।
स्याउ दलालको दलदलबाट उम्काउन सके सस्तोमा बिचौलियालाई बेच्नुपर्ने बाध्यताबाट पार पाउन सकिन्थ्यो । यी सबै कुनै एक वा दुई व्यक्तिको प्रयासले हुने हाेइन, सरकारी तवरबाटै हुनुपर्छ । के हाम्राे सरकार यसो गर्न तयार छ?