चितवनमा ९० प्रतिशत रोपाइँ

सतह सिँचाइ भरपर्दो नहुँदा जिल्लामा अझै  १० प्रतिशत रोपाइँ हुन सकेको छैन । कृषिज्ञान केन्द्र भरतपुरका अनुसार अघिल्लो वर्ष यतिबेला ९८ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष ९० प्रतिशत मात्र रोपाइँ भएको हो ।

जिल्लामा २८ हजार ६०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा २५ हजार ८०० हेक्टरमा मात्र धान रोपाइँ भएको कृषिज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए।

 प्रमुख श्रेष्ठका अनुसार जिल्लाका चारवटा स्थानीय तहमा रोपाइँ शतप्रतिशत भएको भए पनि अन्य तीन वटा तहमा पानीको अभावका कारण लक्ष्य अनुसारको रोपाइँ हुन नसकेको हो।

भरतपुर महानगरपालिकामा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । महानगरमा अहिलेसम्म ८० प्रतिशत मात्र रोपाइँ भएको श्रेष्ठले जानकारी दिए।

यस्तै कालिका नगरपालिकामा ९६ प्रतिशत, ईच्छाकामना गाउँपालिकामा ९० प्रतिशत मात्र रोपाइँ भएको छ । रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकामा भने शतप्रतिशत भएको उनले बताए। भरतपुर महानगरका अधिकांश क्षेत्रमा सतह सिँचाइ गर्नुपर्ने भएकाले रोपाइँ कम भएको हो । यस क्षेत्रमा खगेरी नहर र नारायणी लिफ्टबाट प्रर्याप्त मात्रामा पानी नजाँदा रोपाइँ कम भएको प्रमुख श्रेष्ठले बताए। पश्चिम चितवनको खेतीयोग्य जमीनमा नारायणी लिफ्टले चार हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दै आएको छ भने अन्य क्षेत्रमा खगेरी सिँचाइको पानी प्रयोग हुने गरेको छ ।

कार्यालयका बाली विकास अधिकृत माधव पौडेलले रोपाइँ कम भएसँगै उत्पादनमासमेत कमी आउने बताए।

प्रकाशित मिति: : 2019-08-12 14:39:51

प्रतिकृया दिनुहोस्