अर्थतन्त्रको अवस्था अझै सन्तोषजनक छैन: प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अर्थतन्त्रको अवस्था अझै सन्तोषजनक नभएको बताएका छन्।

शुक्रबार संघीय संसद भवनभित्र भएको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरु’ विषयक छलफल कार्यक्रममा उनले अर्थतन्त्रको अवस्थामा सुधार भएपनि सन्तुष्ट हुने अवस्था नभएको भन्दै अर्थतन्त्रलाई थप गति दिन आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो आवश्यकता धेरै छन्, साधन स्रोत कम छन्, गर्नुपर्ने काम धेरै छ। त्यसैले कसरी बढीभन्दा बढी प्रभावकारी तरिकाबाट सरकारले काम गर्न सक्छ, परिणाम ल्याउन सक्छ भन्ने विषयमा निरन्तर सुझाव सल्लाहको आवश्यक्ता पर्छ। अर्थतन्त्रको सबै समस्या समाधान भएको अवस्था छैन्। सुधार भएका छन् तर सन्तुष्ट भएर बस्ने अवस्था छैन्। अर्थतन्त्रलाई थप गति दिन आवश्यक छ।’

अर्को प्रसंगमा प्रवक्ता डा. महतले चीनसँगको बिआरआईको समझदारी पत्रमा आफैँले हस्ताक्षर गरेको बताउँदै समझदारीमा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरु उल्लेख भए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताए।

उनले नेपाललाई अहिले ऋणको भार धेरै रहेको भन्दै अब ऋण कुनै पनि मुलुकसँग थप्न नहुने कांग्रेसको धारणा रहेको स्पष्ट गरेका हुन्।

बैठकमा छाता संगठनलगायत सबै संस्थाहरुसँग अर्थतन्त्रलाई थप सुधार गर्न र व्यवस्थित गर्न सुझाव लिएको पनि उनको भनाई छ। 

प्रकाशित मिति: : 2024-11-22 17:12:00

प्रतिकृया दिनुहोस्