आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूहकाे अखडामा लक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा ५० भन्दा बढी लडाकू मारिएकाे बताइएकाे छ। केही दिनयता जारी कारबाहीमा तीन दर्जन बढी लडाकू घाइते भएकाे प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले शनिबार बताए।
‘बहाराक जिल्लालाई सशस्त्र विद्रोहबाट मुक्त गरिएको छ र तालिबान विद्रोहीबाट हाल प्रान्तीय राजधानी तालुृकान शहरलाई कुनै खतरा छैन’ हजारीले सिन्ह्वा समाचार समितिलाई बताए।
तालिबान आतङ्ककारीले १० दिन अगाडि आश्चर्यजनक रुपमा बहाराक जिल्लाका प्रमुख नाका कब्जा गर्ने लगायत तखारको प्रान्तीय राजधानी तालुकान शहरलाई कब्जा गर्न खोजिरहेका थिए।
यद्यपि सरकारी सेनाले तीन दिनमा गरेको कारबाहीमा ५० सशस्त्र लडाकू मारिनुको साथै ३७ भन्दा बढी घाइते भएकाे हजारीले बताए।
कारबाहीका कारण छिमेकमा पर्ने खवाजा जिल्लामा रहेका तालिबान लडाकू भाग्न बाध्य भएकाे बताइएकाे छ। आतङ्कवाद विरोधी अभियानको क्रममा तीन सुरक्षाकर्मी मारिनुका साथै अन्य ६ घाइते भएकाे हजारीले बताए। सरकारी सुरक्षा बलले अब छिटै खवाजा जिल्लामा आतङ्ककारीविरुद्ध अभियान सुरु गर्ने हजारीले बताएका छन्।