राष्ट्रसंघमा मोदीविरुद्ध कडि्कए इमरान

तस्बिरः एजेन्सी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कडा प्रतिवाद गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा पाकिस्तानविरुद्ध घेरबन्दीको नेतृत्व गरेको भन्दै कडा प्रतिवाद गरेका हुन्।

काश्मीरको विषयलाई लिएर पाकिस्तानी प्रम इमरान खानले संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भारत र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गरेका छन्। ४५ मिनेट लामो भाषण गर्दै उनले भारतमा रहेको आरएससलाई हिट्लरले जन्माएको नश्लीय अभियानका रुपमासमेत अर्थ्याए।

पाकिस्तानविरुद्ध भारतले राष्ट्रसंघमा घेराबन्दीको तयारी गरेपछि त्यसको कडा प्रतिकार गर्ने गरी खानले आफूलाई प्रस्तुत गरेका थिए। ‘दुर्भाग्यवस हामीले त्यो घटनालाई उठाएनौं। राष्ट्रसंघको महासभामा हाम्रा विदेशमन्त्री गए पनि मिटिङ रद्द गरियो,’ उनले भने।

 ‘मानौं परम्परागत शैलीको युद्व भयो भने, छिमेकी (भारत) भन्दा सात गुना सानो देश (पाकिस्तान) ले के गर्छ? त्यहाँ दुई विकल्प रहन्छ। कि तिमी आत्म समर्पण गर। या प्राण रहुन्जेल लड। यो प्रश्न म आफैँसँग पनि गर्छु। हामी लड्छौं। यदि आणविक शक्ति भएको मुलुकले अन्तिम लडाई लड्छ त्यसको असर सीमाभन्दा धेरै टाढासम्म पुग्छ’, उनले भने।

‘भारतमा मेरा साथीहरु छन् र मलाई त्यहाँ जान पनि मन लाग्छ। हाम्रो पार्टी सरकारमा आएपछि हामीले समस्या सुल्झाउनका लागि पहल गर्‍यौं,’ पाकिस्तानी प्रम खानले भने, ‘…मोदीले पाकिस्तानबाट आतंकवादी आक्रमण भइरहेको बताए। हामीले भन्यौं भारतका तर्फबाट बलुचस्थानमा हामीमाथि आक्रमण भयो।’

‘नियन्त्रणमा लिएका भारतीय पाइलटलाई तत्काल छोड्यौं, यसलाई बढाउन चाहन्न थियौं।’

‘यसलाई शान्तिको संकेतका लिनुको साटो पाकिस्तानलाई पाठ पढाएँ [मोदीले] भनियो, उनीहरुको जेटले ३ सय ५० आतंककारी मारियो भनियो।’

‘पूरै झुट। उनीहरुले हाम्रा हुर्किँदै गरेका १० रुख मारे जुन एकदमै पीडादायी हो।’

भारतीय चुनावमा प्रधानमन्त्री मोदीले पाकिस्तानविरोधी क्याम्पेनिङ गरेको विषय पनि इमरानले राष्ट्रसंघमा उठाए।

प्रकाशित मिति: : 2019-09-28 08:53:35

प्रतिकृया दिनुहोस्