बेन्चमा बसेकी छोरीको आढमा ढलेकी छिन् ४६ वर्षीया कविता थापा। अगाडि वीर अस्पतालको टिकट काउन्टर छ। बारम्बार उनी टाउको उठाउँदै टिकट काट्नका लागि काउन्टर खुल्छ कि भनेर हेर्छिन्। तर आएको एक घण्टा बढी भइसक्यो खुलेको छैन।
दिनको १२ बज्यो। टिकट काउन्टर खुल्ने कुनै छाँटकाट छैन। उनी बिहान ११ बजे आइपुग्दा पनि काउन्टर खुलेको थिएन। शनिबार त होइन, तर किन टिकट काउन्टर खुलेको छैन? कविता अलमलमा परिन्।
सोधिखोजी गर्दा थाहा भयो कतारका राजा नेपाल आएको दिन भएकाले अस्पताल बन्द छ रे। श्वासप्रश्वासमा समस्या भएपछि उनी सिन्धुलीबाट एकाबिहाननै गाडी चढेर उपचारका लागि वीर अस्पताल आएकी थिइन्।
तर मंगलबार कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपाल आएकाले सार्वजनिक बिदा भएपछि कविताले उपचार गर्न पाइनन्। अब कहिले उपचार हुने हो उनलाई पनि अन्याेलता भएको छ। ‘भोलि पनि त अस्पताल बन्द हुने होला’, उनी भन्छिन्।
अस्पताल बन्द भएपछि उनी मंगलबार घर फर्किने योजनामा छिन्। ‘हामीलाई गाह्रो भएर उपचार गर्न आएको हौँ। अस्पताल बन्द भएपछि उपचार नगरेर अब फर्किने भयो।’
०००
ललितपुर गोदवारीका सुनिल क्षेत्री छातीमा समस्या देखिएपछि सोमबार (हिजो) पाटन अस्पालमा भर्ना भए। तर उपचार हुन नसकेपछि पाटनले सोमबार साँझ नै वीरमा पठायो।
बेलुका वीरमा आएर सुनिल वाडमा भर्ना भए। भर्ना त भए तर उनको उपचार भएन। किनकि साँझ भइसकेको थियो। अस्पतालले भोलि (मंगलबार) मात्र उपचार हुन्छ भने।
मंगलबार बिहान १० बजे डाक्टरले सुनिललाई चेकजाँच पनि गरे। भिडियो एक्सरे गर्नुपर्ने बताए। भिडियो एक्सरे गर्न जाँदा उनले डाक्टर भेटाएनन्। सबै डाक्टर निस्किसकेका थिए।
किन डाक्टर निस्किएका उनलाई थाहा थिएन। एकछिन पछि हल्ला सुने सार्वजनिक बिदा भएकाले डाक्टर छैनन्। सबै बिदामा छन्।
सुनिललाई कतिखेर निको हुन्छ भन्ने लागेको छ। छिट्टै घर फर्किन पाए हुने भन्ने पनि छ। अस्पताल बन्द भएपछि उनलाई थप समस्या भएको छ। ‘यसरी अस्पताल नै बन्द गरेपछि हामीलाई समस्या माथि समस्या हुँदै जान्छ। जाबो अर्काको देशको राजा आउँदा अस्पतालै बन्द गर्नुपर्ने’, उनले ऋष पोखे।
कविता र सुनिल मात्र होइन। कलंकीबाट दीपक कुमार बस्नेत पनि उपचार गर्न आएकोमा त्यसै घर फर्किनु पर्यो। उनी दमको रोगबाट समस्यामा परेको ५ वर्ष भयो।
मंगलबार उपचार गर्न आएकोमा वीर अस्पताल बन्द भएपछि उपचार नगरेर उनी फर्किनुपर्यो। ‘बुवालाई सास फेर्ने गाह्रो भएर आएको हो’ उनकी छोरीले भनिन्, ‘यस्तो बन्द भएको थाहा भएको भए आउँदिन थिएँ।’
कविता, सुनिल र दीपक मात्र होइन। कतारी राजा थानी आउँदा मंगलबार सरकारले सार्वजनिक बिदा दिएपछि वीर अस्पतालमा ओपिडी सेवा सञ्चालन हुन सकेन। उनीहरु जस्तै दजनौँ बिरामीले उपचार गर्न पाएनन्।
संविधान त नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चित गर्न नपाइने हो। संविधानमा स्वास्थ्य सेवाबाट कुनै पनि नागरिकलाई बञ्चित गरिदैन भन्ने छ। तर यस्ता विभिन्न सार्वजनिक बिदाले गर्दा भनेको समयमा नागरिकले सर्वसुलभ सेवा पाउन सकेका छैनन्।
देशकै ठुलो वीर अस्पताल बन्द भएपछि कतिपय बिरामी निजीअस्पतालमा महंगोमा उपचार गर्न बाध्य भए।