महिनावारी 'कप' के हो? कसरी प्रयोग गर्ने?

मेन्स्ट्रुअल कप

महिनावारी बेला तपाईं के प्रयोग गर्नुहुन्छ?

केही समयअघि सेतोपाटीको महिनावारी कुरा श्रृंखलामा माल्भिका सुब्बाले भनेकी थिइन्– मेन्स्ट्रुअल कप।

हामीमध्ये धेरैलाई यसबारे थाहा नहोला। कतिले त नाम पनि सुनेका छैनौं होला। हाम्रो समाजको परिवेश महिनावारीबारे अहिले पनि धेरै संकुचित छ। सहरी भागमा यसलाई सामान्य शारीरिक प्रक्रिया मान्ने सकारात्मक सोच विस्तार हुँदै गए पनि गाउँघरमा यो अझै ‘पाप’ नै कहलिन्छ। छाउगोठमा महिलाहरूले ज्यान गुमाएका समाचार आइरहेकै छन्।

महिनावारी स्वच्छ बनाउन हामी 'स्यानिटरी प्याड' प्रयोग गर्दै आएका छौं। अचेल 'ट्याम्पुन' पनि बजारमा देखिन थालेको छ। ट्याम्पुन भनेको कपासलाई लाम्चो आकार दिएर बनाइएको साधन हो, जुन महिनावारी बेला योनीभित्र राखिन्छ। यसले रगत सोस्छ। विदेशमा यसको चलन धेरै भए पनि हामीकहाँ प्याडजस्तो सर्वसुलभ छैन।

यस्तै वैकल्पिक साधन हो, मेन्स्ट्रुअल कप अर्थात् महिनावारी कप। यो सिलिकनले बनेको सानो कप हो, जसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ। यो कप गर्भाशयभन्दा तलपट्टि योनीको भित्तामा अडिन्छ र रगत बग्न दिँदैन। रगत कपमा जम्मा हुन्छ।

Image result for menstruation cup how it works

यसको प्रयोग अनुभवबारे माल्भिका भन्छिन्, ‘यो नरम र लचिलो भएकाले समस्या हुँदैन। प्याड वा ट्याम्पुनजस्तो फेरेर फ्याँक्नु पर्दैन। राम्ररी धोइपखाली बारम्बार प्रयोग गर्ने हो। मेन्सट्रूअल कप स्वास्थ्य र आर्थिक दुवै हिसाबले फाइदाजनक छ। एउटा कपको आयु पाँचदेखि दस वर्ष हुन्छ।’

उनले भनेजस्तै संसारभर महिनावारी कपका फाइदाबारे चर्चा भइरहेका छन्। लगाउन आरामदायी र रगत नचुहिने भएकाले पौडी खेल्नेहरूलाई पनि फाइदाजनक भएको बताइँदै आएको छ। तर यसबारे धेरैलाई अलमलै छ। टालोबाट भर्खरै प्याडसम्म पुगेका महिलाका लागि त झन् यो के हो के?

यसबारे हामीले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नीरा श्रेष्ठसँग कुराकानी गरेका छौं।

उनका अनुसार यो कप सुरक्षित छ। यसले स्वास्थ्यमा कुनै असर गर्दैन। प्याड प्रयोग गरेको ४ देखि ६ घन्टा अन्तरालमा परिवर्तन गरिनुपर्छ। नभए संक्रमणको सम्भावना बढ्छ। त्यसको तुलनामा महिनावारी कप धेरै गुणा राम्रो छ।

‘प्याड बढी समय प्रयोग गरे त्यसमा हुने रसायनले योनीमा असर गर्छ, जसले बाँझोपन वा पाठेघर क्यान्सरसमेत निम्त्याउन सक्छ,’ निराले भनिन्, ‘मेन्स्ट्रूअल कपमा रसायनको डर हुँदैन। यसलाई सफा भने गरिरहनुपर्छ।’

निराका अनुसार रगत बग्ने मात्रा हेरेर चारदेखि बाह्र घन्टाको अन्तरालमा कप सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ। प्रत्येक महिनावारीपछि कपलाई कम्तिमा पाँच मिनेट पानीमा उमालेर सफा गर्नुपर्छ। सुख्खा कपलाई झोला वा बट्टामा प्याक गरेर राख्नुपर्छ।

प्रकाशित मिति: : 2019-09-06 07:38:42

प्रतिकृया दिनुहोस्