कविता

आमा [भिडियो]

दिनको शुभारम्भ हुने
तिम्रै प्रार्थना गरी
खुशीले मुस्कान फैलिँदा होस्
गाह्राेले मन भरिँदा
तिम्रो एक बोलीले
जोसिला बन्छन्
डग्मगाएका आँटहरु !
प्राण त तिमीमै बसेको छ
श्वास तिमीमै अड्केको छ
आँखामा प्रतिबिम्ब तिम्रै
लाग्छ।

तिमी बिनाको संसार छैन
तिमी छौ,र त म छु
तिम्रै मायाभित्र फक्रेकी म
जीवनको यो क्यानभासमा
तिमी नहुदाे हो त !
अहँ, त्यो कल्पनामै छैन
तिम्रा हात समाउँदै
हिँड्दै गरेको पद्चाप
तिम्रै इतिहास कोर्दै
तिमीले गरेका त्याग तपस्या
तिम्रो बिम्बजस्तै
अडिग अनि अबल छ
र त,

परिस्थितिसँग सम्झौता गर्दैगर्दै
बढेकी छु तिमीले हिँडाएको
ती संघर्षका गोरेटाहरुमा
कहिले लड्छु
चिप्लिछु
फेरि उठ्छु
आत्मविश्वासको त्यान्द्रा बटुलेर
छोरी लड्छिन् कि ?
लड्दालड्दै हार्छिन्न कि ?
ढुक्क बन तिमी
किनकी,
जीवन युद्धको स्मरण बोकेर
निरन्तर सिँढीमा हिँड्न
तिमीले नै त सिकाएकी छौ
चिन्ता किन गर्छौ आमा ?
तिमीले पढ्न नजाने नि
तिमीले लेख्न नपाए नि
ती कोरा कागजमा
के भो त ?
तिमीले भन्दा असल बन्न सिकाउने
विश्वबिध्यालय संसारमै छैन आमा
बरु,
तिमीले देखाएको उजेली पथले
जिजीविषाको लय दिन्छन्
भाकाहरू समेट्छन्
जिउनुको मिठो आभास दिलाउँछन्
तर आमा,
तिमी बिनाको घर
घर जस्तै लाग्दैन
तिम्रो स्नेही काखबिना
सन्तोषको निन्द्रा लाग्दैन
चिर्चिर फुटेको तिम्रो हातबिना
स्वादिलो भात लाग्दैन
ल्यापटप अघि तिम्रै तस्बिर हेर्छु
तिम्रा बोली  सुन्छु भाइवरमा
तिम्रा गाली नि सुन्छु
माया नि महसुस गर्छु
अनि,
बिरानाे यो शहर नि
आफ्नै लाग्छ
चन्द्रमाको जून नि
तिमीझैं लाग्छ
आमा,
तिमी त यहीं यतै छौ
मेरो मनोबलमा
भावनामा
जताततै सर्वत्र छौ
बरु आमा,
छोरीले सम्झिनन्  भनेर
चित्त नदुखाऊ ल
भौगोलिक संसार त हो नि
यो दुरी भनेको  
मन त एक हो नि!
कान्छालाई बेलाबेला फोटो
अनि मेरा दिनचर्या पठाएकी छु
त्यही हेरी मुस्कुराऊ है ?
‘बा’लाई एउटा चश्मा
अनि गलबन्दी पठाएकी छु
चिसाे अनि संसारिक धुलाेबाट
टाढा बस्नुस् भनेर
कान्छा बेलाबेला गुनासाे गर्छ  
अझैं नि कोठाभरि
मेरा बालापन यादहरु
उस्तै छन् रे
चिन्ता नगर आमा
समयले सबै पाठ सिकाउँछ
सम्झनाका ज्वारभाटाहरुले
नहिर्काएको कहाँ छ र आमा ?
ऋृतुहरु फेरिन्छन्
पालुवा पलाउँछन्
सुन्दर पल आउँछ
अधेरी रातपछि
उदाउने त सुनौलो बिहानी नै हो
र त,
अझैं स्फुर्त छ तन–मन
कहिलेकाहीं चित्त दुखाउलान्
समाजका अनेक पाटाहरुले
कत्ति पनि दु:ख नमानू आमा
छोरी त आखिर तिम्रै हुँ नि
तिमीजस्तै धीर, सहासी
विदेश गाकी छोरी भनि नरुनू
सँगै बस्नु त कहाँ छ र रित संसारको ?
चाडपर्वमा मन उदास नबनाउनू
तिमीले नै भन्थियौ नि
हाँसी खुशी बाँचे त, सधै नै पर्व
है आमा !

प्रकाशित मिति: : 2022-02-05 10:19:00

प्रतिकृया दिनुहोस्