३६ देशमा ‘भूमिगत’ संगठन बनाउँदै नेकपा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ३६ देशमा प्रवास कमिटी विस्तार गर्न लागेको छ । यसअघि पूर्वएमालेको प्रवासी नेपाली मञ्च र पूर्वमाओवादी केन्द्रको जनप्रगतिशील मञ्च सक्रिय थिए ।

अब ती दुवै कमिटीलाई मर्ज गरेर प्रवासी नेपाली एकता मञ्च गठन गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य युवराज कार्कीले जानकारी दिए । गत वर्ष पार्टी एकता भएसँगै गठित नारायणकाजी श्रेष्ठ नेतृत्वको कार्यदलले ३६ देशमा प्रवास कमिटी गठन गर्नेगरी निर्देशिका तयार पारेको हो । 

साविक एमालेबाट युवराज कार्की र विन्दा पाण्डे र पूर्वमाओवादीबाट श्रेष्ठ र युवराज चौलागाईं रहेको कार्यदललाई प्रवास कमिटी गठनको निर्देशिका तयार पार्ने, प्रवास कमिटीको नेतृत्वको खाका तयार पार्ने कार्याधिकार दिइएको थियो ।

कार्यदलले तयार पारेको निर्देशिका सचिवालयले अनुमोदन गरेपछि प्रवास कमिटीको गठन प्रक्रिया अघि बढेको कार्यदलका एक सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार ३६ वटै देशमा प्रवास कमिटीको नाम प्रवासी नेपाली एकता मञ्च राखिनेछ । सदस्य संख्याको आधारमा ३५ देखि १२५ सदस्यीय राष्ट्रिय समिति गठन गर्न सकिनेछ । 

ती कमिटीलाई पार्टीको संगठन नभई सामाजिक संगठनका रूपमा सम्बन्धित देशका कानुन, प्रचलित नियमअनुसार दर्ता गर्ने र नेकपाले अप्रत्यक्ष नेतृत्व गर्ने तयारी रहेको बताइएको छ । विधान, झण्डा, नियमावलीआदि पनि सम्बन्धित देशका राष्ट्रिय समितिले छुट्टाछुट्टै बनाउन सक्नेछन् ।

यसअघि यस्तो अभ्यास पूर्वएमालेले गर्दै आएको थियो । पूर्वमाओवादी केन्द्रले भने प्रवासी कमिटीलाई पार्टी कमिटीकै मान्यता दिन्थ्यो  । “अहिले तयार पारिएको निर्देशिकाअनुरूप प्रवासी नेपाली एकता मञ्चले गोप्य रूपमा सदस्यता वितरण गर्नेछ । उनीहरूको सदस्यता र परिचय पनि गोप्य नै राखिनेछ,” ती सदस्यले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-09-05 15:54:32

प्रतिकृया दिनुहोस्