घामको घमन्जा

ज्यानै खाने गर्मी, हुनसक्छ ‘हिट-स्ट्रोक’

मिनु गोले

काठमाडाैं
photo: Agency
photo: Agency

देशभरि गर्मी बढेसँगै जनजीवन पनि प्रभावित बन्न थालेको छ। गर्मीका कारण मानिसको स्वास्थ्यमा विभिन्नखाले स्वास्थ्य समस्याहरू देखापर्न थालेका छन्। अस्पतालहरूमा गर्मीका कारण बिरामीको चाप पनि बढेको छ।

‘गर्मीका कारण एक हप्तादेखि अस्पतालमा बिरामीको चाप बढेको छ’, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका सूचना अधिकारी संकेतकुमार रिसालले भने। उनकाअनुसार दैनिक एक हजारभन्दा बढी बिरामी अस्पताल आउन थालेका छन्। तीमध्ये बालबबालिकाहरू तथा जेष्ठ नागरिकको संख्या धेरै छ। यसरी आउने बिरामीमध्ये भने थोरैमात्रै अस्पतालमै भर्ना गर्नु अवस्थाका छन्।

अस्पतालमा आउने धेरैजस्तो ज्वरो, झाडापखला, रुघाखोकी तथा स्वासप्रस्वाससम्बन्धी बिरामी रहेका छन्। गर्मी बढेसँगै नेपालगञ्ज क्षेत्रका विद्यार्थीहरू पनि बिरामी हुन थालेपछि विद्यालयहरू पनि बन्द गरिएका छन्।

त्यस्तै बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक दुई हजारको संख्यामा चेकजाँच गराउने आउने गरेका छन्। अस्पताल आउनेमध्ये धेरैजसो बालबलिकाहरूमा गर्मीका कारण स्वास्थ्य समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर राणा बताउँछन्।

‘धेरै जस्तो बालबालिकालाई साधारण समस्या देखिएको छ। अरु नै रोगले थलिएकाहरूलाई पनि गर्मीले असर पारेको छ। गर्मीको त कुरै गरिसाध्य छैन। गर्मी त कस्तो छ कस्तो?’, उनी भन्छन्। उनकाअनुसार यो गर्मीले वृद्धवृद्धा र बालबालिकाहरूमा ‘हिट स्ट्रोक’ पनि गर्न सक्छ।

‘बालबालिकाको शरीर उसै पनि अलि संवेदनशील हुन्छ। यस्तो अवस्थामा चर्किएको घाममा बालबालिकालाई बाहिर निकाल्नु नै हुँदैन’, उनी भन्छन्, ‘बालबालिकालाई घामबाट जोगाइराख्नका लागि विद्यालयहरू पनि बन्द गरिएका छन्। त्यो राम्रो कुरा हो।’

धनुषा जिल्लामा पनि त्यस्तै छ। गर्मीका कारण धेरै मानिसहरू बिरामी पर्न थालेका छन्। सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप बढेको छ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत पूर्वी तराईका सबैजसो स्वास्थ्य संस्थाहरूमा गर्मीका कारण बिरामी भएर उपचार गराउनेहरूको संख्या दिनदिनै बढिरहेको छ।

गर्मीसँगै तराई-मधेसमा चलिरहेको तातो हावाले जनजीवन अझ अस्तव्यस्त बनाएको छ। मौसम पूर्वानुमान महाशाखाले यो साताभरि नै गर्मी तथा तातो हावाको लहर बढ्ने भन्दै सचेत रहन चेतावनी दिएको छ।

महाशाखाका अनुसार ४० डिग्री वा सोभन्दा माथिसम्म तापक्रम बढ्ने र त्यत्तिकै तातो हावाको लहर चल्ने भएका कारण स्वास्थ्यमा असर पर्नसक्ने जनाएको छ।

तातो हावाले के गर्छ?

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि स्वास्थ्य समस्याहरू देखा पर्नसक्छन्।

धेरै बालबालिका वृद्धवृद्धा तथा किशोर उमेर समूहका जोसुकैलाई यसले असर गर्नसक्ने र स्वास्थ्य समस्याहरू निम्तिनसक्ने जरनल फिजिसियन डा.नारायण बस्नेत बताउँछन्।

त्यस्तै अध्यधिक गर्मीका कारण हिट स्ट्राेक्ससमेत हुन सक्ने डा. बस्नेतकाे भनाइ छ। उनकाअनुसार गर्मीका कारण मुटु अकस्मात बन्द हुने वा अकस्मात बेहाेस हुने अवस्था हिट स्ट्राेक्स हाे। यसरी गर्मीका कारण मस्तिकष्क बन्द भएमा पछि सुधार्न सकिँदैन।

बाहिरको करिब ४० डिग्री सेल्सियस र योभन्दा माथिको तापक्रम मानव शरीरका लागि निकै हानिकारक हुन्छ। डा. बस्नेतका अनुसार तातो हावा चलेको समयमा घर बाहिर ननिस्कने र शरीरमा पानीको अभाव हुन नदिनू नै तातो हावाबाट बच्ने उपाय हो।

भिडियाे:

प्रकाशित मिति: : 2024-06-10 18:23:00

प्रतिकृया दिनुहोस्