हामी किन दुख छोड्न सक्दैनौँ?

‘म चिकित्सक होइन, तर म केही अवश्य भन्न सक्छु। भन्छन् नि, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस।’ भरसक हामी सचेत हुनुपर्छ कि हामीलाई क्यान्सर नलागोस्। त्यसको लागि रोग निरोधक जीवनशैली अपनाउन नै आवश्यक छ। मलाई आफ्नो अनुभवले पनि केही कुरा सिकाएको छ।

मैले जोड दिएको कुरा के हो भने, रोग लागेर उपचार गरिसकेपछिको जीवनमा फेरि पनि त्यो रोग फर्केर नआओस् भन्नको लागि मैले गर्नुपर्ने क्रियाकलाप हो। मैले अध्ययन गर्दै जाँदा हामीले भन्ने गरेको ‘हेल्दी लाइभस्टाइल’ को बारेमा म बोलिहाल्छु।

हाम्रो शरीर दिमाग, शरीर र आत्माले बनेको हुन्छ। शरीरलाई आहार खाना चाहिन्छ, जसमा अर्ग्यानिकलाई केन्द्रित गरिन्छ। यसमा खानासँगै शरीलाई दिने आराम पनि आउँछ। दिनमा ८ घण्टा सुत्नु भन्छन्, यो असाध्यै आवश्यक रहेछ। मैले पहिला धेरै धेरै काममा मग्न हुन्थे, नसुते पनि हुन्छ भन्थे। तर शरीरलाई यो चाहिने रहेछ, धेरै मात्रामा आराम र निन्द्रा पनि। तर यो सँगै शरीलाई शारीरिक रुपमा सक्रिय बनाउनु पनि उत्तिकै आवश्यक रहेछ। हामीले हाम्रो शरीरलाई स्वस्थ्य राख्न अरु धेरै कुरामा पनि ध्यान दिन आवश्यक छ।

त्यसपछि आउँछ, दिमागी तन्दुरुस्ती। यो हाम्रो मनसँग जोडिएको कुरा हो। यो सकारात्मक छ कि खालि नकारात्मक काम कुरामा अल्झिरहन्छ? यो थाहा पाउन एकदमै जरुरी छ। समाचार हेरौँ त! धेरैजसो नकारात्मक नै आउँछ। कता-कता मलाई लाग्छ, हामी मानिसहरु नकारात्मतातर्फ अग्रसर भईराखेका छौँ। त्यसैले हामीले पहिला आफैँले आफैँलाई मूल्यांकन गर्न आवश्यक छ।

र यो आफूमा भर पर्ने कुरा हो, कसरी सकारात्मक हुने। मलाई लाग्छ, कसैको पनि जीवनमा समस्या नआउने हुँदैन। समस्या आउँछ भने, त्यहाँ पक्कै पनि समाधान पनि आउँछ। समस्यामा उल्झन हैन, समाधानको बाटो हिड्न खोजौँ। सकारात्मक दृष्टिकोण भयो भने जीवनलाई विभिन्न आयामबाट, दृष्टिकोणबाट हेर्न पनि जानिन्छ। भन्छन् नि, ‘जीवनलाई आधा खालि भएको देख्ने कि आधा भरिएको देख्ने।’

 

प्रकाशित मिति: : 2019-09-05 07:25:22

प्रतिकृया दिनुहोस्