दसैं अग्रिम टिकट बुकिङ अझै अन्योल, सरकार–व्यवसायीबीच अर्को साता मिति तय गर्ने समझदारी

काठमाडौं। दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन् । तर, कहिले र कसरी खुलाउने भन्नेमा अझै अन्योल देखिएको छ । बस व्यवस्थापन कसरी गर्ने भन्ने विषयले अग्रिम टिकट बुकिङ खुलाउने विषय अन्योलमा परेको हो ।

व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन गर्न कठिन भएको जनाएका छन् । उनीहरूले भाडा बढाउनुपर्ने विषयलाई पनि घुमाउरो पाराले अघि सारेका छन् । भाडा नबढेको पाँच वर्ष भइसकेको र यस अवधिमा पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेका छन् ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघबीच बुधबार अग्रिम टिकट बुकिङ खुलाउने तयारीसम्बन्धी छलफल भएको थियो । दुई पक्षीय छलफलमा सबै तयारी पूरा गरी अर्को साता अग्रिम टिकट बुकिङ खुलाउने मिति तय गर्ने सहमति भएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले दसैंको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल भएको र अर्को साता पुनः बैठक बसेर मिति तय गरिने बताए । ‘अर्को हप्ता सबै तयारी गरेर आउन व्यवसायीलाई आग्रह गरेका छौं, गत वर्ष कति यात्रुले टिकट काटे, ती रुटमा चल्ने बसको अवस्था के कस्तो छ, बसको अभाव हुने भए कसरी पूर्ति गर्नेलगायत विषयमा उहाँहरूले तयारी गरेर आउनुहुन्छ त्यसपछि टिकट खुलाउने मिति तोक्ने तयारीमा छौं,’ महानिर्देशक हमालले राजधानीसँग भने ।

प्रकाशित मिति: : 2019-09-05 06:55:02

प्रतिकृया दिनुहोस्