‘भिसाले अमेरिकाबाट सोध्यो, ह्याकरले बीचबाटै जवाफ पठाए’

नेपाल राष्ट्र बैंकले एटीएम लुट प्रकरणको अनुसन्धानपछि आधिकारिक धारणा बाहिर ल्याएको छ।

राष्ट्र बैंकको प्रतिवेदनमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) र अमेरिकाको भिसा सिस्टमको बिचमा बेग्लै सर्भर बनाएर ह्याकरहरु एटीएमबाट पैसा निकाल्न सफल भएको खुलासा गरिएको छ। ह्याकरहरुले नेप्समा आवद्ध भएका बैंकहरुको एटीएम कार्ड प्रयोग गरि नेप्समा आवद्ध नभएका बैंकहरुको एटीएमबाट पैसा झिकिएको राष्ट्र बैंकको प्रतिवेदनमा छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको नेतृत्वमा गठन भएको अनुसन्धान टोलीले शनिबार काठमाडौंमा भएको एटीएम लुट प्रकरणको प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुधबार गर्भनर डा. चिरन्जीवी नेपाललाई बुझाएको हो।

राष्ट्र बैंकको अनुसन्धानमा काठमाडौंका एटीएममा प्रयोग भएका नक्कली कार्डले अमेरिकामा रहेको भिसा कार्यालयलाई सम्पर्क गरेको खुलेको छ। भिसाले सोधेको प्रश्नमा बिचमा ह्याकरहरुले आफ्नो सर्भरबाटै नेप्सको तर्फबाट जवाफ पठाएका थिए। भिसाबाट माग भएको रकमको स्वीकृति आएको तर उक्त कुराको जानकारी नेप्ससँग आइनसकेको अनुसन्धानको क्रममा भेटिएको छ। त्यसैबाट बिचमा ह्याकरहरूले भिसालाई जवाफ पठाएको देखिन्छ।

नेप्सले अनुमति नदिइकनै पूर्ण सूचना नै नलिइ एटीएमबाट पैसा झिकिएको राष्ट्र बैंकको प्रारम्भिक प्रतिवेदनमा छ।

शनिबार भएको ह्याकिङको घटना नेपालको बैंकिङ इतिहासमै एउटा गम्भीर पाठ बनेको छ। ह्याकिङको सूचना पाए लगत्तै प्रहरीले घटनास्थलबाटै संलग्नहरूलाई पक्राउ गरेको थियो भने बैंकहरूले आफ्नो एटीएम प्रणाली बन्द गरेका थिए।

यो एटीएम लुट कसरी सम्भव भयो भन्ने चासो सर्वत्र रहेका बेला राष्ट्र बैंकले बुधबार अनुसन्धानमा भेटिएका कुरा बाहिर ल्याएपछि धेरै प्रष्ट भएको छ।

राष्ट्र बैंकका अनुसन्धान टोली प्रमुख मिश्रले एटीएम लुट प्रकरणको अनुसन्धान सुरु भएको र प्रारम्भिक प्रतिवेदनमा विस्तृत विषयवस्तु समेटिएको बताए।

प्रकाशित मिति: : 2019-09-04 21:46:00

प्रतिकृया दिनुहोस्