आज माघ १ गते, विशेष प्रकारका खानेकुराहरु खाएर उत्साहका साथमा माघी पर्व तथा मकर संक्रान्ति मनाइदैछ। विभिन्न समुदायनमा भिन्नभिन्नै तरिकाले मकर संक्रान्तिलाई मनाउने चलन छ। विशेष गरेर थारु समुदाय र मगर समुदायमा मकर संक्रान्तिलाई मनाइने भए पनि अन्य समुदायमा पनि यस पर्वको महिमा विशिष्ट छ।
मगर समुदायले मनाउने विभिन्न चाडपर्वहरुमध्ये माघी सबैभन्दा ठूलो विशेष महत्व बोकेको पर्व छ। सरकारले मकर संक्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वको रुपमा मान्यता दिएको छ। यस पर्वलाई मगरहरुले चेली, पितृ र प्रकृति पुज्ने पर्वका रुपमा मनाउने गर्छन। तर, पछिल्लो पुस्तालाई माघी पर्व आफ्नो विशेष पर्व हो भन्ने भुल्ने मात्र होइन, संस्कार, संस्कृतिहरुसमेत भुल्दै गएका छन्।
आज माघी पर्वका अवसरमा पारेर मगर समुदाय र माघी पर्वको सम्बन्ध के छ ? किन विशेष पर्वका रुपमा मगर समुदायमा यस पर्वलाई मनाउने गरिन्छ ? लगायत विषयमा कुराकानी गरेका छौँ। प्रस्तुत छ, बिएल संवादाता टोपेन्द्र रोका मगरले नेपाल मगर संघ दाङका निवर्तमान अध्यक्ष खलुप्रसाद पुन मगरसँग गरेको कुराकानीको सम्पादित अंश:
माघी पर्व मगर समुदायले कसरी मनाउने गर्छ ?
माघी पर्व मगर समुदायको महत्वपूर्ण ठूलो पर्व हो। यसलाई मौलिक पर्व पनि भन्छन्। थारु समुदायले जस्तै हामीले पनि माघ १ गतेलाई नयाँ वर्षका रुपमा लिने गर्छौँ। तर, पछिल्लो समय विक्रम संवतलाई नयाँ वर्ष मान्न थालेपछि माघ १ लाई नयाँ वर्ष मान्ने चलन हराउँदै गयो।
यो पर्व मगर समुदायले विशेष गरेर चेली पुज्ने, पितृ पुज्ने र प्रकृति पुज्ने पर्वका रुपमा मनाउने गरिन्छ। माघीमा खासगरी तरुल, कन्दमुल, भ्याकुरलाई पुज्ने र विशेष परिकारका रुपमा खाएर मनाइन्छ। अर्को रमाइलो धनुष वान हान्ने मगर समुदायको महत्वपूर्व कार्य हो।
माघी पर्वमा तरुल, कन्दमुल खानुपर्ने किन ?
माघी पर्व मगर समुदायको विशेष पर्व हो, अघि नै मैले भनिसकेँ। विशेष पर्व भन्नुको कारण पनि छ। पहिले त अन्न उत्पादन हुँदैन थियो, त्यस समयमा हाम्रा पुर्खाहरु तरुल, कन्दमुल भ्याकुरलगायत वनमा पाइने फलफूलहरु खाएर बाँचेका हुन। उनै पुर्खाहरुदेखि नै आफूहरुलाई प्राण दिने खानेकुराहरुको पूजा गर्थे र त्यो पनि माघ १ गते नयाँ वर्षका अवसर पारेर। आज पनि पुर्खाहरुले खाएर बाँचेको खानेकुराहरुको पूजा गरेको हो। सम्मान गरेको हो र सधैंभरि खान नपाए पनि एक दिन खाने चलन बसेको हो।
अर्को हामीले माघीमा धनुष वान हान्ने गर्छौँँ। हाम्रा पुर्खाहरुले हिजो हतियारहरु आविष्कार नहुँदा धनुष वान हानेर सिकार गर्ने गर्थे। त्यो मात्र होइन, दुष्मनसँग लड्नका लागि पनि धनुषवान प्रयोग गरियो। त्यस कारण मगर समुदायले धनुषवान हान्ने चलनलाई विशेष रुपमा लिएर आजका दिन धनुष वान हान्ने गरिन्छ। धनुष वान्ने हान्नेमा जो प्रथम हुन्छ, उसलाई सम्मान स्वरुप फूलपाती लगाउने गरिन्छ।
धनुष वान हान्दै आज स्याम्बो गाउने चलन छ। पहिले अरु समुदायमा धनुष वान हान्दैनथे। पछिल्लो समय अन्य समुदायले पनि धनुसवान हान्ने गर्छन।
आज चेली पुज्ने गरिन्छ। मगर समुदायमा आज चेली पुज्ने र सक्दो निरसाउ (उपहार) दिने गरिन्छ। यो माघ महिनाभरि पनि गर्न सकिन्छ। समय मिल्नेहरुले आज नै चेली पुज्ने गर्छन तर बाहिरबाट आउनेहरुले माघ महिनाभरि पनि चेली पुज्ने र निरसाउने दिने गर्न पाइन्छ।
मगर समुदायको भूमे लगायतको पर्वलाई पनि महत्वपूर्ण चाडका रुपमा मनाइन्छ नि ?
भूमे, भूम्या पर्व पनि महत्वपूर्ण चाड नै हुन तर यो भन्दा माघीको धेरै महत्व छ। मगरलाई भाषिक र भौगोलिक गरी तीन भागमा चित्रण गरिन्छ। जसमा १८ मगरात, १२ मगरात र काइके मगरात गरी तीन भागमा हामीलाई बाँडिएको छ।
डोल्पातिर काइके भाषा बोल्ने मगरहरुलाई काइके भनिन्छ। १८ मगरात भनेको राप्ती धौलागिरी र भेरीलाई भन्निन्छ। गण्डकी, बागमतीलगायत पूर्व तर्फका मगरहरुलाई १२ मगरात भनिन्छ। भूमे पर्व १८ मगरातमा अलि बढी मनाइन्छ। पूर्वतर्फ भ्युम्या भनेर अलिअलि मनाउने चलन छ। काइके मगरहरुले भूमे पर्वलाई मनाउँदैनन्।
तरऽ मकर संक्रान्ति तीन भाषी सबै मगरहरुले मनाउने भएकाले यसलाई विशेष चाड भनिएको हो।
माघीको विशेष महत्व के छ ?
महत्वका रुपमा हेर्ने हो भने, अघि मैले भनेको थिएँ नि चेली, पितृ र प्रकृति पुज्ने यहि नै महत्व हो। चेली र पितृ पुज्नेका बारेमा मैले भनिसकेको छु। अर्को हामीले माघी पर्व खासमा माघ १ गतेदेखि सुरु हुने उभौली पर्वको संकेत गर्ने पनि हो।
उभौली पर्व ६ महिनासम्म मनाइन्छ। उभौली पर्व सुरु भएपछि ठूला बाजाहरु बजाइदैन। यो प्रकृतिको सम्मानका लागि हो। किनेभने पृथ्वीमा विभिन्न किसिमका चराचुरुङ्गीहरु, जीवजन्तुहरु हुन्छन् र तिनीहरुलाई मानव जातीले गरेका क्रियाकलापले कुनै असर नपरोस भन्नका लागि ठूला बाजाहरु बजाइदैन।
बसन्त ऋतुमा जीवजन्तुहरु, चराचुरुङ्गीहरुले फुल पार्ने, बच्चा जन्माउने हुँदा तिनीहरुलाई असर नगरोस भनेर ठूला बाजाहरु बजाउन बन्देज गरिएको हो। पृथ्वीमा मानिसको मात्र अस्तित्व छैन, अन्य जीवहरुको सहअस्तित्वमा हामी बाँचेका छौँ र एकले अर्काको सम्मान गर्दै माघ पर्व मनाउने गरिन्छ।
बराह किन पुज्ने गरिन्छ ?
बाह्र भाइ बराह, मगर समुदायका पुस्ता हुन। तिनैलाई अहिले बराह देवता भनिन्छ। खास गरेर माघ १ गते बराहलाई पुजिन्छ। बराह भन्ने मगर समुदायका पुस्ता हुन। बाराही चाहिँ मगरसँग सम्बन्धित होइन। विष्णु बराही भन्ने आर्य समुदायसँग सम्बन्धित हुन र भोक खादैनन्।
तर, बराह भन्ने हामीसँग सम्बन्धित हुन्। बराहलाई भाले र भेडाको बली दिइन्छ। हिजो हाम्रो पुस्ताले भेडा, चल्ला पालेको इतिहास छ, त्यसैले भेडा र भाले नै बराह देवताका लागि बली दिने गरिन्छ। अहिले बराह देवताका भक्तहरु मगर समुदायमात्र होइन, अन्य समुदाय पनि छन्। अन्य समुदायले पनि बराह देवता मान्छन्।
बराह देवता पुज्नका लागि बिहान नुहाउनुपर्ने चलन छ। माघको १ गते अनिवार्य बराह पुज्ने, बिहान नुहाउने समयमा जति चिसो भए पनि आछु भन्न पाइँदैन। बराहलाई पातीका फुर्का दिने गरिन्छ। गाउँगाउँमा देवताका थान नभए पनि स्परण गरेर बराह देवतालाई माघ १ गते मानाइन्छ।
अहिले विधिवत रुपमा बराह पुजेको देखिदैन। हामीले बराहको अहिले खोजविन गर्दैछौँ। नेपाल मगरसंघले आफ्नो संस्कार, संस्कृतिको, परम्पराकालाई संरक्षण गर्न राम्रा चिजलाई खोजविन गर्दैछ।
मगर समुदायको संस्कृति संरक्षणमा राज्यको सहयोग छ ?
मगरहरुलाई राजा, मञ्च्यात शासनमा सक्न खोजिकै थियो। यसलाई ध्यवस्त बनाएर सून्य बनाएकै पनि हो। जसले गर्दा आज हामी एउटा संग्रहालयमा पुग्ने चिन्तामा छौँ। तर, पछि जनपक्षीय अन्दोन भए, युद्ध भए त्यसले २०७२ सालको संविधानले हाम्रा पुराना चाडपर्वलाई संरक्षण गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने सरकारी नीति बनेको छ।
हिजोको शासनकालमा जे भए पनि आज भने राज्य मगर कला, संस्कृतिको उत्थानका लागि केही भए पनि सहयोग गर्दै आइरहेको। सबै संस्कार, संस्कृतिलाई अबलम्बन गर्दै संरक्षणमुखी काममा लागेको छ। अहिले स्थानीय सरकारले पनि मगर समुदायका लागि बजेट विनियोजन गरेका छन्।
नयाँ पुस्तालाई केही भन्नुहुन्छ ?
पहिले मकर संक्रान्ति भव्य रुपले मनाइन्थ्यो। म सानो हुँदा गाउँ गाउँमा आमासँग मकर संक्रान्तिलाई भव्य रुपमा मनाएको याद छ। अहिले चाडपर्वहरुप्रति चासो नदिएको जस्तो भएको छ। विभिन्न किसिमका गतिविधि भए। कुनै बेला देश द्वन्द्वमा गयो। कुनै दिन आधुनिकताका नाममा संस्कार संस्कृति भुलिदै पनि गए र संस्कार, संस्कृतिहरु बिर्सदैँ जान थालि सक्यो।
तर, अहिले आफ्नो संस्कार संस्कृति जोगाउनुपर्छ भनेर हामी आफैं जागरुक भएका छौँ। हाम्रो संस्कृति सम्पत्ति हो भन्ने हामीमा बुझाइएपछि यसलाई बचाउनुपर्छ भनेर अहिले माघी पर्व मनाइन लागिएको छ। हामी जागरुक हुँदै जाँदा नयाँ पुस्ता पनि संरक्षणमा ध्यान दिन थालेका छन्।
तर, नयाँ पुस्ताले चाडपर्व एउटा रमाइलोका रुपमा मात्र लिने गरेको पाइन्छ। यसलाई बचाउनका लागि नयाँ पुस्ता आउन सकिरहेका छैनन्। अब नयाँ पुस्ता आफ्नो संस्कार, संस्कृति आफ्नो अमूल्य सम्पत्ति हो भनेर संरक्षण गर्न लाग्नुपर्छ। त्यसको लागि मगर संघलगायत मगर समुदायका रहेक व्यक्तिको भूमिका रहनुपर्छ।