बजाहा बाँधले डुबायो नेपालको ३०० बिघा खेत

कपिलवस्तु : "जमिनको मालिक हामी हौँ। हामीसँग लालपूर्जा छ। वर्षेनी जग्गाको कर बुझाएका छौं तर जग्गामा खेतीपाती गर्न पाउँदैनौं।”

मायादेवी गाउँपालिका ४ तुलसीडिहवा गाउँका सुकदेव यादवको गुनासो हो यो। सुकदेव जस्तै तुलसीडिहवा गाउँका सवै किसानको पीडा उस्तै छ।

सीमावर्ती क्षेत्रमा भारतले बनाएको बजाहा बाँधका कारण यहाँको करिब ३०० बिघा क्षेत्रफल खेतीयोग्य जमिन डुबानमा परेको छ। यहाँको करिब १६० बिघा जमिनमा पानी जमेका कारण वर्ष भरी नै खेती हुँदैन', सुकदेवले भने, 'हामी जग्गाको मालिक हौं, कर बुझाउँछौं तर उपभोग गर्न पाएका छैनौँ।' खेतमा वर्ष भरी नै पानी जम्मा हुँदा खेती गर्न नमिल्ने उनी सुनाउँछन्।

तुलसीडिहवा गाउँ वरपरको डुबान जमिन मध्ये १४० बिघा जमिनमा धान खेती त गरिएको छ तर बाँधका कारण धान खेतमा पानी जम्मा हुँदा धान फल्ने अवस्था नभएको कृषक निर्मला यादवले बताइन्। 'वर्षभर भारतीय बाँधको पानी जम्मा भएकाले वर्षौँदेखि ७ बिघा खेतमा कुनै बाली लगाउन पाएकी छैन', निर्मलाले भनिन्,'यो हरेक वर्षको समस्या हो। कसलाई भन्न जाने ? हाम्रो समस्या कसैले बुझेन।'

सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी बाँध निर्माण गरेका कारण यहाँका किसानले लामो समयदेखि यो समस्या भोगिरहेका छन्। भारतीय पक्षले अंग्रेज सरकारको पालामा निर्माण गरेको यो बाँधमा २८ ढोका छन्। बाँधका कारण मायादेवी गाउँपालिकाको तुलसीडिहवा, रजबापुर, तितिर्खा र पकडी र गौरा गाउँको धेरै खेतीयोग्य जमिन डुबेको कृषक मनोज यादवले बताए। 

र्षायाममा भारतीय पक्षले बाँधको ढोका बन्द गरी सीमावर्ती नेपाली भूमिमा पानी संकलन गर्छ। हिउँदका बेला बाँधको ढोका खोलेर हिउँदे खेती सिचाईंका लागि पानी लैजाने गरेको कृषक अरुण कुमार यादवले बताए। 'वर्षायाममा नेपाली भूभाग जलमग्न हुन्छ', अरुणले भने, 'तर हिउँदका बेला हाम्रो गहुँ खेत पानीको अभावमा सुक्छ।' हामी त सधैँ पीडित छौँ।'

नेपाली क्षेत्रमा पर्ने जमुवार नदीको पानी र यस क्षेत्र वरपर जम्मा हुने पानीलाई नेपाली भूभागमा संकलन गर्न भारतले सो बाँध निर्माण गरेको हो। नेपालतर्फ सरकारले जमुवार नदीको पानी व्यवस्थापन गर्न सिचाईं योजना निर्माण गर्न सके यो समस्या हट्ने स्थानीय वातावरण संरक्षणकर्मी जयप्रकाश पाण्डेले बताए। 'हामीले यो समस्याका बारेमा राजनीतिक दल, स्थानीय निकाय तथा स्थानीय प्रशासनलाई अवगत गराउँदै आएका छौं तर कसैको ध्यान जान सकेको छैन', पाण्डेले भने।

प्रकाशित मिति: : 2019-09-04 19:04:18

प्रतिकृया दिनुहोस्