दिल्ली भ्रमण रद्द गर्दै चिनियाँ विदेशमन्त्री आइतबार काठमाडौं आउने

काठमाडौं- चिनियाँ राज्य परिषद् सदस्य तथा विदेश मन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका लागि आइतबार (भदौ २२ गते) काठमाडौं आउने भएका छन्। 

मन्त्री यी पूर्व निर्धारित नयाँ दिल्ली भ्रमण रद्द गर्दै नेपाल आउन लागेका हुन्। दुईदिने भ्रमणका लागि २३ गते मन्त्री यी नयाँ दिल्ली जाने तालिका तय गरिएको थियो, जहाँ उनी भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँग सीमाबारे वार्ता गर्ने योजनामा थिए। 

अफगानिस्तानमा जारी शान्ति वार्ताबारे शनिबार पाकिस्तानमा पुगेर कुराकानी गरेर विदेश मन्त्री यी सिधै आइतबार नेपाल आउनेछन्। 

तर, उनको भ्रमण मितिबारे भने परराष्ट्र मन्त्रायलका अधिकारीहरुले औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। ‘नेपाल भ्रमण निम्तो दिइएको हो तर आइतबार नै आउनेबारे थाहा भएन,’ मन्त्रालयका एक अधिकारीले भने। 

केपी ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउने मन्त्री यी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन्। उनको नेपाल भ्रमणलाई दशकौंदेखि चिनियाँ राष्ट्र प्रमुखबाट हुन नसकेको भ्रमणको अवस्थालाई तोडी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका बुझिएको छ। 

चिनियाँ राष्ट्रपति सी जिन पिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक भ्रमण लागि ११ अक्टोबरमा भारत जाँदैछन्। सन् २०१८ मा दुई नेताले चीनको वुहानमा दुई दिने अनौपचारिक भेटघाट गरेका थिए जुन वुहान शिखर सम्मेलनका नाममा चर्चित छ। 

प्रकाशित मिति: : 2019-09-04 18:32:43

प्रतिकृया दिनुहोस्