नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले जनतामाझ विकासप्रेमी र बौद्धिक नेतृत्वको रुपमा उचो छवि निर्माण गरेका छन्।
जिल्लाको विकासका निम्ति अहोरात्र खटिने उनी २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा जुम्लाबाट अत्यधिक मतले विजयी भएका थिए। उनले संसदमा व्यक्तिगत रुपमा दर्ता गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित भएर ऐन बनेको थियो। जहाँ हाल एमबीबीएस र एमडी पढाइ हुन्छ भने विशेषज्ञ सुविधासहितको उपचार हुन्छ।
संविधान निर्माणपछि पहिलोपल्ट भएको प्रदेशसभाको निर्वाचनमा जुम्ला प्रदेश (क) बाट निर्वाचित उनी आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत भएका थिए। प्रदेशसभाको इतिहासमा पहिलोपल्ट व्यक्तिगत रुपमा सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र नवप्रवर्तन, अनवेषण तथा आविष्कार विधेयक दर्ता गराएका उनी प्रदेश सरकारले आफैँ दर्ता गरेको उच्च पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको विधेयक पारित गराउन निरन्तर खटिएका थिए। विधेयकहरुलाई विषयगत समितिहरुले अगाडि नबढाउँदा भण्डारी आफैँ सडक संघर्षमा समेत उत्रिए।
पछिल्लो समय पार्टी सुदृढीकरण अभियानमा सक्रिय भण्डारी 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान'को सल्यान जिल्ला इन्चार्ज भएर विविध गतिविधिमा सक्रिय छन्। अभियानको क्रममा उनको नेतृत्वमा पार्टी गतिविधिका साथसाथै थुप्रै रचनात्मक गतिविधिसमेत भए।
पार्टीले अभियान चलाउनुको उदेश्य, अभियानको प्रभावकारीता र उनको अनुभूतिलाई लिएर बिएल नेपाली सेवाका लागि महेश नेपालीले गरेको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत छ:
'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' सञ्चालन गर्नुपर्ने अवस्था कसरी आयो?
निश्चित समयावधिका लागि परिभाषित उदेश्य प्राप्तिका लागि अभियान सञ्चालन गर्ने गरिन्छ। यसले पार्टीलाई गतिशील र जीवन्त बनाउँछ। रुपान्तरित, विस्तारित र सुदृढ बनाउँछ। यो अभियानको पहिलो उदेश्य- पार्टीलाई रुपान्तरण गर्ने हो।
दोश्रो उदेश्य- पार्टीभित्र विचार र विधि विकास गर्ने हो। तेश्रो उदेश्य- सुदृढ जनसम्बन्ध स्थापित गर्ने हो। चौथो उदेश्य- पार्टीलाई सुदृढ र एकताबद्ध तुल्याउने हो। पाँचाैँ उदेश्य- जनताका मागहरु, गुनासाहरु, जिज्ञासाहरु सरकारसमक्ष पुर्याउने र सरकारका गतिविधिहरु र प्रतिबद्धताहरु जनतामा पुर्याउने सेतुको काम हो। सरकारले सुरु गरेको सुशासनलगायतका सकारात्मक कार्यको पक्षमा जनमत सृजना गर्ने अर्को उदेश्य हो।
२०६४ को पहिलो संविधान सभाको निर्वाचनबाट आएको माओवादी र अहिले ०७९ को संसदीय निर्वाचनबाट आएकोमा ओवादीको आकारमा निकै भिन्नता छ। योबीचको समीक्षा के हो?
निसन्देह हाम्रो पार्टीको आकार घटेको छ। हाम्रा केही वैचारिक, नीतिगत, विधिगत, व्यवहारिक र कार्यशैलीजन्य समस्याहरु देखा परे। हामीले क्रान्तिको कोर्स पूरा गर्न सकेनौँ। नयाँ र पुराना शक्तिबीच भएको सम्झौताको हामीले जनतामा जाहेर गरेका प्रतिबद्धताहरु पूरा गर्न सक्ने अवस्था बनेन। हामीले जनतालाई यो परिस्थितिबारे बुझाउन सकेनौँ।
चरम अभावमा जिइरहेका जनताले हामीबाट आमुल परिवर्तनको अपेक्षा गरेका थिए। ठूलो दल बने पनि हामीले बहुमत हासिल गर्न सकेनौँ। सत्ता साझेदार दलहरुको एजेण्डा र हाम्रो एजेण्डाबीचको भिन्नता, राज्यको सीमित साधन-श्रोत, यथास्थितिवादी राज्य संयन्त्र र जनअपेक्षाबीचको अन्तरविरोधका कारणले जनअपेक्षालाई सम्बोधन गर्न सकेनौँ।
तथापि माओवादी पार्टीको नेतृत्वमा हासिल भएका उपलब्धिहरु युगान्तकारी छन्। खुला राजनीतिमा आइसकेपछि पार्टीमा विशालु झारपातहरु उम्रिन थाले। नवधनाढ्यहरुको प्रभाव बढ्नुले इमान्दार कार्यकर्ताहरु किनारामा धकेलिँदै गए। परिणामतः पार्टीको आकार साँघुरो हुँदै गयो। बेहिचकिचाहट पार्टीले यही तथ्यबोध गर्यो र सुदृढ, एकताबद्ध र रुपान्तरित पार्टी निर्माणका लागि अभियान सञ्चालन भएको छ।
हिजो मेजोरेटी हुँदाको सरकारले भन्दा आज कसैसँग मिलेर गएको सरकारले बढी काम गर्छ भने माओवादीलाई त्यतिबेला काम गर्न के कति कारणले रोक्यो होला?
हिजो पनि हामीसँग बहुमत थिएन। ०६४ को निर्वाचनपछि हामी ठूलो पार्टी बन्यौँ। जनमतका हिसाबले अहिलेभन्दा ठुलो र सहज थियो। त्यतिबेला देश र जनताको पक्षमा अहिलेभन्दा ज्यादा काम गर्न सक्थ्यौँ। हाम्रा केही अनुभवजन्य समस्या, कार्यदिशामा देखिएको अस्पष्टता, केही मनोगत कमजोरी र बुझाइका सिमाका कारणले पनि हामीले त्यो कार्यकाललाई अपेक्षाकृत बनाउन सकेनौँ। तथापि किसानहरुलाई ऋण मुक्त गर्ने, सडक विस्तार गर्नेलगायतका महत्वपूर्ण कार्यहरु भएका छन्।
माधव नेपाल, कृष्णबहादुर महराको कुरा आउँदा सरकारले ठूला मान्छे वा राजनीतिक पहुँच भएका मान्छेलाई सत्ता टिकाउनका लागि संरक्षण गर्न खोज्यो भन्ने जस्तो आराेप पनि आइरहेको छ। अभियानको बीचमा तपाईंहरुलाई यस्ता प्रश्नहरु पनि आए होलान्। यसलाई कसरी फेस गर्नुहुन्छ?
सरकारले सुशासनका क्षेत्रमा बोल्ड स्टेप चाल्यो। २००७ सालदेखि हालसम्मको कुनै पनि प्रधानमन्त्रीले यति साहसिक कदम चालेका थिएनन्। पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, अर्बौँपति र शक्ति केन्द्रमा पहुँच भएका व्यक्तिहरुलाई गिरफ्तार गर्ने अवस्था बन्यो। विगतमा यस्तो परिस्थितिको कल्पना नै गर्न सकिँदैनथ्यो।
पार्टी उपाध्यक्षका छोरालाई समेत कानुनी दायरामा ल्याउने काम भएको छ। पार्टीको बहुमत नहुँदा अझै सोचे जस्तो सुशासनको अभियान अगाडि बढ्न सकेको छैन। अपराध गर्ने मानिस जुनसुकै ओहोदाको भएपनि कानुनको दायरामा आउँछ भन्ने सन्देश प्रवाह भएको छ।
सरकारले कारबाही गर्न खोजेका केही व्यक्तिलाई अदालतले उन्मुक्ति दिन र मुद्दालाई फितलो बनाउन खोजेको देखिन्छ। चाहे पूर्व प्रधानमन्त्री हुन वा अरु नै किन नहुन्, कानुन उल्लंघन गरेका छन् भने कारबाहीको दायरामा ल्याउनुपर्दछ भन्ने जनताको आवाज छ। सरकारको नेतृत्व गरिरहेको हाम्रो पार्टीका सिमाबारे जनतालाई प्रष्ट पार्ने काम पनि गरेका छौँ। आवश्यक परे सरकारका कमदहरुका पक्षमा सडक उत्रन जनताहरु तयार छन्।
अब अलिकति अभियानमा तपाईंको अनुभूतिबारे पनि छलफल गरौँ न।
सल्यानको भूगोल, सभ्यता, संस्कृति, राजनीतिको अध्ययन गर्ने अवसर मिलेको थिएन। नयाँ जिल्ला भएको अनुभूति पनि नयाँ हुने नै भयो। अभियानका क्रममा हामी विभिन्न जिल्लाबाट आएका छौँ। यसर्थमा अनुभव, बुझाइहरुको केन्द्रिकरण भएको छ। मैले सल्यानलाई सिक्ने थलोकोरुपमा ग्रहण गरेको छु।
कार्य सम्पादनका क्रममा सहकार्यमा जोडिने कमरेड, भेटिने जनता, देखिने भूगोलबाट नयाँपनको अनुभूति गरेको छु। तिनीहरुसँगको साक्षात्कारबाट मैले सिकिरहेको हुन्छु। नयाँ अनुभूति सँगालिरहेकै हुन्छु। जनयुद्धमा पारिवारिक जिम्मेवारीबाट उन्मुक्तिको अवस्था आज छैन। निजी समस्यालाई थाती राखेर कमरेडहरु पार्टीको ४ महिने अभियानमा खट्नुभएको छ।
बागचौर पालिका इन्चार्ज ७१/७२ वर्षका वृद्ध कमरेड देवीलाल, जसको हात भाँचिएको छ। सुगर प्रेसरको रोगी उहाँले प्लास्टर गरेको हात झुन्ड्याएर हिँडिरहनुभएको छ। आराम गर्न हामीले गरेको अनुरोधलाई स्वीकार गर्नुभएको छैन। जनयुद्धदेखि हालसम्मको उहाँको त्यो सक्रियता र समर्पणबाट पनि फरक अनुभूति भयो। लाग्यो, निजी जीवन च्यातेर देश टाल्न हिँडेका राजनीतिकर्मीहरु र नागरिकता च्यातेर आफ्नो आङ टाल्न हिँडेका राजनीतिकर्मीहरुबीच तुलना हुनुपर्छ। बिडम्वना ! देश टाल्न हिँडेकाहरुलाई खलनायक करार गर्न खोजिँदैछ।
सल्यानमा माओवादीको संगठन कस्तो छ?
जनयुद्धकालमा जनताले माओवादीलाई औधी रुचाए। सल्यान जनयुद्धको आधार इलाका बन्यो। जनताले २०६४ सालपछि पार्टीलाई लगातार जिताए। केही प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारणले पुरानो वर्चश्व कायम राख्न सकेन। सल्यानमा अहिले पनि माओवादी शक्तिशाली र भरोसायोग्य पार्टीकोरुपमा स्थापित छ।
यो अवधिमा तपाईंले त्यहाँको समग्र भूगोल अध्ययन गर्न पाउनुभयो?
हो, म यहाँका सम्पूर्ण पालिकामा पुगेँ। सल्यानको भूगोल, आर्थिक उत्पादन, राजनीति, विकास सम्भावना, भाषा, सभ्यता, संस्कृतिको पनि जानकारी लिइरहेको छु।
सरकार र माओवादीप्रति सल्यानी जनताका के कस्ता अपेक्षाहरु छन्?
हावापानी असाध्यै राम्रो छ। जनसमुदाय इमान्दार र सन्तुलित देखेँ। उत्पादनशील जमिन छ। सल्यान सम्भावनायुक्त जिल्ला हो। यहाँका जनता मेहनती छन्। यस जिल्लाले जनयुद्ध र शान्ति प्रक्रियापछि पनि हाम्रो पार्टीको पक्षमा ठुलो योगदान गरेको छ।
तसर्थ, सरकारले जीवनस्तर उठाउने खालका ठुला आयोजना निर्माण गरिदेओस् भन्ने जनताको चाहना छ। जिल्लामा प्राविधिक कलेज, राम्रो र सुविधासम्पन्न अस्पताल, कुमाख, कुपिण्डे दह, खैरावाङ्ग जस्ता पर्यटकीय स्थलहरुमा पर्यटन प्रवर्द्धन गर्न सरकारले आवश्यक बजेट व्यवस्था गरिदेओस् भन्ने जनअपेक्षा छ।
तपाईंले सल्यानलाई सम्भावना भएको जिल्ला भन्नुभएको छ। खास सम्भावना के केमा छ?
पर्यटन र उत्पादनमा सल्यान सम्भावना भएको जिल्ला हो। कुपिण्डे दह, कुमाख, खैरावाङ, छत्रेश्वरीजस्ता पर्यटकीय सम्भावना बोकेका स्थानहरु यस जिल्लाका सम्पत्ति हुन्। कर्णालीकै सबैभन्दा ज्यादा कृषि उत्पादकत्व भएको जिल्ला हो। टिमुर, अदुवा, बेसार, तरकारी उत्पादनको सम्भावना छ। अहिले पनि कपुरकोटको तरकारी सुर्खेत, दाङलगायतका जिल्लाहरुमा निर्यात हुने गरेको छ।
त्यहाँबाट निर्वाचित हुने जनप्रतिनिधिले जनताको पक्षमा के कस्ता काम गरेको देख्नुभयो?
सल्यानका जनप्रतिनिधिहरुले आ-आफ्नो क्षेत्रबाट जनताहरुको पक्षमा काम गर्ने कोसिस गरिरहनुभएको छ। सरकार र सल्यानका जनप्रतिनिधिहरुले दीर्घकालीन महत्वका मेगा विकास आयोजनाहरु निर्माणमा जोड दिनुपर्दछ भन्ने मेरो सुझाव छ। यहाँ संघ सरकारको नजर पुग्नुपर्छ। यही महत्वबोधका साथ हामी सल्यान विकास र समृद्धिका सम्भावनाहरु विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दैछौँ।
अभियानको क्रममा तपाईंहरुले सिर्जनशील गतिविधि पनि गर्नुभयो। यसमा जनसहभागिता कत्तिको भयो? पार्टी कार्यकर्ता गएर औपचारिकता निभाउने काम भयो कि जनता आएर यो हाम्रो काम हो है भनेर अपनत्व लिने काम पनि भयो?
हामीले श्रम गतिविधिहरु पनि सञ्चालन गर्यौँ। जनताका घरमा विद्युत पहुँच पुर्याउने, पार्टी-पौवा, चौतारा निर्माण गर्ने, बाढी पीडितहरुका घर निर्माण गर्ने जस्ता जनसेवाका कामहरु पनि गर्यौँ। बेपत्ता योद्धाको स्मृतिमा करिब ३०० मिटरसम्म लम्बाईको प्रेम स्मृति सडक निर्माण गरेका छौँ।
कविता प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिताहरु र सिर्जनशील सप्ताह मनायौँ। श्रम कार्यमा जनताहरुको पनि सहभागिता रह्यो। सार्वजनिक श्रम कार्यमा कम जनसहभागी हुने गलत संस्कार तोडने कोशिस गर्यौँ। यही क्रममा जनताका सुझावहरु पनि संकलन गरेका छौँ।
केही सुझावहरु उदाहरणका रुपमा लिन सकिन्छ कि?
पुराना पार्टीहरु रुपान्तरित हुनुपर्दछ। प्राप्त उपलब्धिहरुको रक्षाका लागि माओवादी रुपान्तरित, एकताबद्ध र शक्तिशाली बन्नुपर्दछ भन्ने सुझावहरु प्राप्त भए।
कपुरकोट गाउँपालिकाको दुई दिने (घरदैलो) कार्यक्रममा तीनवटै(माओवादी, कांग्रेस, एमाले) पार्टीहरुबाट अपेक्षा छैन, तसर्थ सुझावहरु दिन पनि आवश्यक छैन भन्ने धारणा पनि एक जनाले राख्नुभयो। उहाँ कांग्रेसनिकट हुनुहुँदो रहेछ।
तपाईंले सिर्जनशील गतिविधि गर्नुभयो। बौद्धिक गतिविधि पनि भयो। साहित्यिक गतिविधि पनि गर्नुभयो। साहित्य चेतले बिम्ब र प्रतिकहरुमार्फत सत्तालाई प्रश्न गर्छ। त्यो सल्यानमा कत्तिको देख्नुभयो?
निश्चितरुपमा बौद्धिक र साहित्यिक चेत आलोचनात्मक हुन्छ। सरकारका गतिविधि, व्यवस्था प्राप्तिका लागि भएको वलिदानका बारेमा बौद्धिक र साहित्यिक व्यक्तित्वहरुले कलात्मक र विम्बात्मक ढंगले आफ्ना सिर्जनामार्फत व्यक्त गर्नुभयो। बिम्ब र प्रतिकमार्फत पनि सरकार र व्यवस्थाका पक्षमा समर्थन, विरोध र प्रश्न खडा गरिए।
समग्रमा रचनाहरुमा अपेक्षाकृत कम प्रश्न र विरोध तथा सरकारका कार्यहरु र व्यवस्थाको पक्षमा ज्यादा समर्थन झल्कियो। यी कार्यक्रम परम्परागत राजनैतिक कार्यक्रमका शैलीभन्दा नयाँ थिए। बौद्धिक एवं साहित्यिक तप्कालाई यी कार्यक्रमहरुले झक्झक्याएको छ।
माओवादीको यो अभियान सकिएको छैन। पुष १५ गतेसम्म चलिरहने छ। यसपछिको अभियानलाई कसरी अगाडि लैजानुहुन्छ?
बाँकी डेढ महिना अभियानको निर्णायक अवधि हुनेछ। यो अभियानको उत्कर्षक र निष्कर्ष हो। सांस्कृतिक कार्यक्रमसहितका पालिका र जिल्लास्तरीय संकल्प सभा आयोजना गरिनेछ। बाँकी सांगठनिक, जनभेटघाट, जनसेवाका कार्यहरु सम्पन्न गरिनेछन्। भूकम्प पीडितहरुका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका काममा केन्द्रित हुनेछौँ।
यीबाहेक अभियानको क्रममा तपाईंले संगालेका छुट्टै अनुभूतिहरु के-के छन्?
सल्यान मेरा लागि नयाँ जिल्ला हो। अभियानबाट विशुद्ध पार्टीका बारेमा मात्र नभएर यहाँको समग्र विषयमा अध्ययन गर्ने अवसर मिलेको छ। मेरो बुझाई निकै फराकिलो भएको पाएको छु। आफूलाई एक अभियानकर्मीका रुपमा मात्र नभएर एउटा सोधार्थीका रुपमा ४ महिना सल्यानमा बिताउनुपर्छ भन्ने महसुस हुन्छ।
पार्टीको रुपान्तरण, विचार र विधि विकासका क्षेत्रमा पनि गहिरो खोज तथा अध्ययनको आवश्यकता देखिन्छ। मैले उल्लेखित विषयमा सूक्ष्म अध्ययन पनि गरिरहेको छु। सल्यानलाई विश्वविद्यालय ठानेको छु। ४ महिने अभियानमा सल्यानको व्यवस्थित प्रतिवेदन पेश गर्नुपर्छ भन्ने सोचेका छौँ। यस्तै अभियानहरुमा विभिन्न जिल्लाहरुमा काम गर्न पाउँदा आफूलाई सापेक्षिक पूर्ण बनाउन सहयोग मिल्थ्यो भन्ने महसुस भएको छ।