प्रचण्डले ओलीसँग सल्लाह नगर्दा गौतम र पौडेललाई डाके सिङ्गापुर

काठमाडौं, भदौ १८ः  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि नेकपाका उपाध्यक्ष वामदेव गौतम मंगलबार अपरान्ह साढे १ बजेको थाई एयरवेजबाट सिंगापुर प्रस्थान गरेका छन् । प्रचण्डले अध्यक्ष ओलीलाई ‘बाइपास’ गरी पार्टी एकताका बाँकी कामबारे निर्णय गर्ने तयारी  गरेकाे थाहा पाएपछि प्रधानमन्त्रीले नेताहरू डाकेका हुन् ।

प्रधानमन्त्री ओलीले गौतमलाई राजनीतिक कारणले सिंगापुर डाकेपछि नजाने निर्णय गरेर बसेका गौतमले आकस्मिक रुपमा मंगलबारै त्यसतर्फ जाने निर्णय गरेका हुन् । नेकपा स्रोतले प्रधानमन्त्री ओलीले डाकेका कारण गौतम त्यसतर्फ हिँडेको पुष्टि गरेको छ । 

वामदेव गौतमका स्वकीय सचिव दीपक टमटाले उपाध्यक्ष गौतम साढे १ बजे थाई एयरवेजबाट सिंगापुर प्रस्थान गरेको पुष्टि गरे । ‘अस्ति सिंगापुर जानका लागि तयार हुनुहुन्थ्यो । उहाँ र महासचिव विष्णु पौडेल कमरेड सँगै जाने भन्ने कुरा थियो । हिजो बिहान म नजाने भएँ भन्नुभयो’, टमटाले भने, ‘आज बिहान फेरि सिंगापुर जाने भन्नुभयो।’ 

महासचिव विष्णु पौडेलसँगसँगै सोमवार जाने बताइए पनि अन्तिम क्षणमा आएर गौतमले भ्रमण स्थगन गरेका थिए । उपाध्यक्ष गौतम र महासचिव पौडेल प्रधानमन्त्री ओलीसँगै पर्सि शुक्रबार एकै उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव टमटाले जानकारी दिए ।

नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलको सिंगापुर यात्रा प्रधानमन्त्रीको स्वास्थ्य बिग्रेका कारण नभएको बताए । ‘प्रधानमन्त्रीजीको स्वास्थ्य ठीक छ, मसँग कुरा हुँदा पनि उहाँ उत्साहित हुनुहुन्थ्यो, उहाँ शुक्रबार फर्कनुहुन्छ’, नेम्वाङले भने, ‘प्रधानमन्त्रीले बोलाउनुभएका कारण जानु भएको हो । अरु कारण त थाहा छैन ।’

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले उपाध्यक्ष गौतमको सिंगापुर यात्राको कारणबारे आफूलाई जानकारी नभएको बताए । ‘महासचिवले चाहिँ प्रधानमन्त्रीले बोलाउनुभएकोले जान लागेको बताउनुभएको थियो’, थापाले भने ।

प्रधानमन्त्री ओलीनिकट स्रोतका अनुसार, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री फर्कनुअघि आज–भोलि नै नेकपा सचिवालय बैठक डाक्ने र पार्टी एकताका बाँकी कामबारे निर्णय गराउने तयारी गरेका थिए तर ओलीसँग कुनै सरसल्लाह भने गरेनन् । प्रचण्डको तयारीबारे थाहा पाएका ओलीले उपाध्यक्ष र महासचिवलाई डाकेको स्रोतको दाबी छ ।  

प्रकाशित मिति: : 2019-09-04 15:54:41

प्रतिकृया दिनुहोस्