अमेरिकी आमचुनाव- २०२४मा नेपाली

न्युयोर्कमा दोस्रो कार्यकाल जितेर इतिहास बनाउँदैछिन् सराहना श्रेष्ठ

प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका

अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचनको न्यानो यहाँका नेपालीलाई पनि लाग्न थालेको छ । यतिबेला विभिन्न राज्यमा सुरू हुनै लागेको अन्तरपार्टी चुनावमा केही नेपाली मूलका नेपाली-अमेरिकी पनि उम्मेद्वारी आकांक्षा देखाएर चुनावी मैदानमा होमिएका छन् ।  

यस्तै एक उम्मेद्वारी- आकांक्षी हुन् सराहना श्रेष्ठ। उनी अमेरिकाको एम्पायर स्टेट भनेर चिनिने न्युयोर्क डिस्ट्रिक्ट १०३ की वर्तमान विधायक हुन् । यसअघि २०२२ को आम निर्वाचनमा पहिलपटक विजयी भएर उनले अमेरिकामा पहिलो नेपाली मुलकी महिला विधायकको कीर्तिमान बनाएकी थिइन् ।

न्युयोर्क राज्य संसदको कार्यकाल दुई वर्ष मात्र भएकाले सराहनाले यसै वर्ष दोस्रो कार्यकालका लागि उम्मेद्वार-आकांक्षी हुनु परेको हो। जनवरी २४ मा हुने प्राइमरीमा विजयी भएपछि उनको उम्मेद्वारी-आकांक्षा उम्मेद्वारीमा परिणत हुने हो । 

कस्तो छ सराहनाको स्थिति ?

सराहना श्रेष्ठको निर्वाचन श्रेत्र न्युयोर्क राज्यको डिस्ट्रिक्ट १०३ डेमोक्रेटिक बहुल क्षेत्र हो। डेमोक्रेटिक पार्टीमा पनि यहाँ बर्नी स्याण्डर्सलाई नेता मान्ने प्रगतिशील धार अगाडि छ ।सराहना श्रेष्ठ त्यही धारकी एक उदियमान नेतृ हुन् । उनले यसअघि तीन दशकभन्दा लामो समयसम्म विधायक रहेका आफ्नै पार्टीका मध्यमार्गी धारका विधायक केभिन चाहिललाई प्राइमरीमा पराजित गरी राजनीतिमा डेब्यु गरेकी थिइन् । श्रेष्ठले ७,९०७ मत प्राप्त ग्नेरदा उनका प्रतिस्पर्धी चाहिलले ७,३६९ मत प्राप्त गरेका थिए ।

यसरी डेमोक्रेटिक प्राइमरीमा विजयी भएकी श्रेष्ठले आमचुनावमा रिपलिकन पार्टीका प्याट्रिक सिहानलाई ठूलो मतान्तरले पराजित गरिन् । श्रेष्ठले ३६,६०५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सिहानले २३,५५४ मत मात्र प्राप्त गरेका थिए ।

यस वर्षको चुनावमा श्रेष्ठलाई डेमोक्रेटिक प्राइमरीमा अन्य उम्मेद्वारले चुनौति दिएका छैनन्। त्यसैले उनी डेमोक्रेटिक पार्टीको उम्मेद्वार हुने सुनिश्चित छ। अमेरिकामा सामान्यत: बर्तमान जनप्रतिनिधिले अन्तरपार्टी चुनाव भनिने प्राइमरीको सामना गरिरहनु पर्दैन।अपवाद घटनालाई छोडेर एकचोटि चुनाव जितेपछि छोड्न नचाहेसम्म उनीहरूले आफ्नै पार्टीभित्र भने प्रतिस्परर्धा सामना गर्नुपर्दैन। 

उता, रिपब्लिकन पार्टीको प्राइमरीमा पनि यसअधिका उम्मेद्वार सिहान नै निर्बिरोध देखिएका छन्। डेमोक्रेटिक बहुल क्षेत्र भएकाले नजित्ने चुनाव लड्न अमेरिकामा खासै प्रतिस्पर्धा हुँदैन। यसैले फेरि पनि यी दुबै उम्मेद्वार नै नोभेम्बर ५ मा हुने आमचुनावमा आम्नेसाम्ने हुने देखिन्छ। न्युयोर्क राज्यको प्राइमरी जुन २४ मा हुने भएकाले नोभेम्बर ५ मा हुने आमनिर्वाचनमा पार्टीको तर्फबाट औपचारिक रूपमा उम्मेद्वार घोषित हुन भने यो प्राइमरीको परिणाम पर्खनु पर्ने हुन्छ।

न्युयोर्कको डिस्ट्रिक्ट १०३ यसै पनि प्रगतिशील डेमोक्रेट्स बहुल क्षेत्र हो। त्यसमा पनि सराहनाले पहिलो कार्यकालमा उम्दा काम गरेको बताइन्छ। मतदाताको दु:ख-सुखमा सधैं साथ रहने उनले त्यस क्षेत्रका मतदाताको मन जितेकी छिन्। अल्बानीमा पनि उनले प्रष्ट देखिने गरी आफ्नो उपस्थिति जनाएकी छिन्। नाम र काम दुबै आधारमा अग्लो कद बनाएकी उनको जीत सुनिश्चित बताइन्छ ।  

को हुन् सराहना श्रेष्ठ ?

सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठ पेशाले ग्राफिक डिजाइनर हुन्। उनी नेपालमा फोटोग्राफी सुरू गर्ने परिवार द्वारिकादास श्रेष्ठ परिवारकी सदस्य हुन्। उनका भाइ कशीस दास श्रेष्ठ एक बहुआयामिक व्यक्तित्व हुन्। उनले नै अमेरिकाको न्युयोर्कबाट चन्द्रप्रकाश शर्माद्वारा प्रकाशित पहिलो नेपाली समाचारपत्र 'नेपाली आवाज'को सम्पादन गरेका थिए। यो पङक्तिकार उक्त समाचारपत्रको नेपाली सम्पादक रहेको थियो ।

सराहनाले नेपालमा लोकतन्त्रका पक्षमा वकालत गर्न एक अनलाइन जर्नल सञ्चालनमा ल्याएकी थिइन्। त्यसैमा प्रकाशित एक राजनीतिक लेखका कारण उनको अनलाइन प्रतिबन्धित भयो। यही घटनापछि एक ग्राफिक डिजाइनर सराहना राजनीतिक बाटोमा धकेलिइन् ।

अमेरिका आएर न्युयोर्कमा रहन थालेपछि उनको त्यो इच्छाले आकार लिन थाल्यो र उनी डेमोक्रेटिक सोसलिष्टहरूको संगतमा पुगिन्। त्यही संगतले डेमोक्रेटिक सोसलिष्टकी सदस्य बनेकी उनी अहिले  डेमोक्रेटिक सोसलिष्टको मिड-हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह-अध्यक्ष रहेकी छिन्।

स्वच्छ, नवीकरणीय, किफायती र पहुचयोग्य विद्युत आपूर्तिको प्रवर्धनका क्षेत्रमा काम गर्ने गठबन्धन पब्लिक पावर न्युयोर्ककी नेता समेत रहेकी श्रेष्ठले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्ने १०३ नम्बर एसेम्ब्ली क्षेत्रबाट डेमोक्रेटिक प्राइमरीमा उम्मेद्वारी दिएकी छिन्।

सराहना ग्रिन न्यु डिल, गुड कज इभिक्सन र न्युयोर्क हेल्थ एक्टजस्ता प्रगतिशील मुद्दाहरूकी कट्टर हिमायती हुन्।

कस-कसले गरेका छन् सराहनालाई  समर्थन ?

न्युयोर्ककी प्रभावशाली सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेज (एओसी) ले उनलाई सुरूदेखि नै समर्थन गर्दैआएकी छिन् । एओसी आफै पनि उनको चुनावी क्याम्पेनमा सहभागी भएकी थिइन् । यसैगरी अमेरिकी चर्चित कलाकार तथा अधिकारकर्मी सिन्थिया निक्सनको पनि उनलाई समर्थन रहदैआएको छ। यसपटक पनि उनीहरूले  समर्थन जारी राखेका छन् । यी दुई सेलिब्रेटीहरूको समर्थनले पनि उनको जीतलाई ठोस आधार बनाइ दिएको छ। 

यी दुई इन्डोर्समेन्टले उनको सार्वजनिक व्यक्तित्व अग्लो बनेको छ। र, यसले आम मतदातालाई उनीप्रति विश्वास गर्ने आधार पनि दिएको छ। 

के हुन्छ सराहनाले जितेर नेपाली-अमेरिकीलाई ?
नेपाली मूलकी चेली सराहनाको दोस्रो कार्यकालको जीतले अमेरिकामा नेपाल र नेपाली अरू बढी देखिने र सुनिने छन् । उनको जीतबाट अमेरिकी मूलधारको राजनीतिमा डा. ह्यारी भण्डारीले डेलिगेटका रूपमा दोहोरिएर खोलेको जीतको खाता एकबाट दुई हुने छ । 

अमेरिकाको एम्पायर स्टेट भनिने न्युयोर्क राज्यमा एकजना नेपाली मूलको सांसद छ भन्दा त्यसले नेपाली-अमेरिकीलाई ठूलो परिचय र गौरव दिन्छ। 

२०१८ मा अमेरिकाकै सबैभन्दा पुरानो संसद मेरिल्याण्डको एनापोलिसमा डा. ह्यारी भण्डारीले पहिलोपटक पाइला हालेर अमेरिकाको मूलधारे राजनीतिको नयाँ ढोका खोलेका थिए। त्यसअघि केही नगर र काउन्टीमा नेपाली-अमेरिकीको स्थानीयस्तरको प्रतिनिधित्व भए पनि त्यसले खासै अर्थ राखेको थिएन। डा. भण्डारी राज्यको संसदमा विधायककै रूपमा प्रस्तुत भएर कासिहतको उपस्थिति जनाएपछि मेरिल्याण्डमा मात्र हैन, समग्र अमेरिकामै नेपाल र नेपाली अरू बढी देखिएको र सुनिन थालेको हो।    

प्रकाशित मिति: : 2024-01-13 17:57:00

प्रतिकृया दिनुहोस्