निबन्ध

को पागल ?

कुनै न कुनै रुपमा मानिसले जीवनमा कम्तिमा एक पटक आफैंलाई पागल सकारेको हुन्छ। जस्तोः

प्रेमिकालाईः म तिम्रो प्रेममा पागल भईसकेँ।

छोराछोरीलाईः तिमीहरुको हल्लाले म त पागल भइसकेँ।

कार्यालयमाः हाकिमको हेपाहा प्रवृत्तिले पागल बनाइसक्यो। अथवाः कामको चापले पागल बनायो।

श्रीमतीलाईः तिम्रो डिमाण्डलिष्टले पागल बनाउँछ।

श्रीमानलाईः तपाईंको एक्स्ट्रा म्यारिटल अफेयरले मलाई पागल बनाएको छ।

व्यापार सप्रिएः आम्दानी यस्तो बढेको छ कि पैसा गन्दागन्दै पागल हुन्छु।

व्यापार खस्किएः मन्दीले पागल बनाइसक्यो।

डर लागेः भूकम्पका साना साना झट्काहरुले पनि पागल बनाउँछ।

सन्दर्भ जे पनि हुनसक्छ। व्यक्ति जो पनि हुनसक्छ। यस प्रकार उसले कुनै न कुनै मामिलामा आफूलाई पागल ठानेको छ। पागल सकारेको छ।

व्यक्ति साहित्यमा आफूलाई पागल करार दिन रुचाउँछ। चित्रकारितामा पागलपनका रङ्गहरु खन्याउँछ। दर्शनशास्त्रमा चरम पागलपनको मथिंगल गर्छ। अझ प्रेमको मामिलामा त पागल शब्दको अलंकारको महत्व अपराम्पर छ।

आखिर पागलपनप्रति किन यत्रो धेरै आकर्षण? अनि के यो आकर्षण वास्तविक हो वा केवल एक फेशन?
कि यहाँ हरेक मानिस पागल नै छ? र ऊ बेला बेलामा यसलाई थाहा पाउँछ र सकार्छ कि ऊ पागल हो?
कुरो जे भए पनि यसमा गहन मनोवैज्ञानिक कारण छुपेको छ।

आज मेडिकल साइन्स पनि दाबी गर्छ कि कुनै न कुनै मानिस केही न केही मात्रामा अवश्य पागल छ। कार्ल गुस्ताभ युंग भन्छन्ः मलाई कुनै सद्दे मान्छे देखाईदेउ म त्यसको ईलाज गरिदिन्छु। 

दार्शनिकहरुको त झन खतरनाक कथन छ। उनीहरु भन्छन्– कि पागल र जागृत पुरुषमा केवल एक फरक छ त्यो के भने, जागृत पुरुष होशमा हुन्छ। पागल बेहोश।

कुनै न कुनै मानिस केही न केही मात्रामा अवश्य पागल छ भन्ने कुरोमा तर्क छ। जस्तो कि समाजमा अत्यधिक पागलहरु भएको खण्डमा थाहा हुन कठिन हुन्छ कि को पागल हो। त्यस्तो समाजमा पागलपनको पूजा हुन्छ र मान्छेहरु सद्दे भएको भानमा भटाभट पागल हुन्छन्।

वास्तवमा पागलपन मानिसको सोच्ने प्रणालीसँग सम्बन्धित छ। पागल शब्दको जसरी प्रयोग भए पनि यसले अति वा आउट अफ कन्ट्रोल भन्ने जनाउँछ। 

मन पानी पानी भए पनि पागल। मन सुख्खाग्रस्त भए पनि पागल।

अब यसरी हेरौँ:
रिसर्चहरुसँग घटनाहरुलाई मिलान गरेर भन्ने हो भने, अर्काकी श्रीमतीलाई लाइन मार्नु पागलपन हो।
छ वर्षकी बालिकालाई बलात्कार गर्नु वा गर्ने सोच्नु मात्रै पनि पागलपन हो।
बदलाको भावले युवतीको अनुहारमा एसिड छ्याप्नु पागलपन हो।
भ्रष्टाचार गर्नु पागलपन हो। घुस दिनु र घुस लिनु दुवै पागलपन हुन्। 
नशा सेवन गर्नु, जुवा खेल्नु वा अत्याधिक कामेच्छा समेत पागलपन हुन्।
लोभ पागलपन हो। लालच पागलपन हो। आफूलाई सद्दे ठान्नु पागलपन हो।

यहाँसम्म कि छिमेकिको एकतले घरलाई घाम छेक्ने गरी आडैमा पाँचतले घर बनाउँने सपना देख्नु वा घरै बनाउनु दुवै पागलपन हुन्। 
एउटा इँट्टाले लागेर मर्न सक्ने ज्यानमाथि हजारौं किलो (वा टन) रोडा, ढुंगा, फलाम अनि हजारौँ इँट्टा थुपारेर सुत्ने होडमा लागेकाहरु पागल हुन्।
छोरीको हातबाट कप खसेर फुट्यो अब त्यो छोरीको कानको जाली फुट्ने गरी वा नफुट्ने गरी झापड हान्नु पनि पागलपन हो। यस केसमा आमालाई छोरी भन्दा तीस रुपियाँको कपमा ज्यादा आशक्ति छ। 


पैदल यात्रुलाई सडकको पानी छ्याप्दै सवारी चलाउँनेहरु पागल हुन्। जेब्रा क्रशिंगमा पैदल यात्रुलाई बाटो नदिने ड्राइभरहरु पागल हुन्।नाफाखोरहरु पागल हुन्। 'प्रुफ रिडर' बिनै अखवार निकाल्नेहरु पनि पागल हुन् र खतरा के हो भने यिनले अरुलाई पनि पागल बनाउँछन्।आफ्नो घर बनाउँदा आफैंलाई भ्रष्टाचार गर्नेहरु महापागल हुन्।

गह्रौं सामानहरु थुपारेर सुत्ने अनि प्रकृतिले आफ्नो सन्तुलन मिलाउँदा गर्ल्याम्‍गुर्लम ढल्यो भनेँ प्रकृतिलाई विनाशकारी आरोप लगाउनेहरु पागल हुन्। विनासकारी मान्छे हो। भूकम्प होइन। तसर्थ अखबारमा भँगेरेटाउको अक्षरमा विनाशकारी भूकम्प लेख्ने र तदनुरुप टेलिभिजनमा डुक्रिनेहरु पागल हुन्। भूकम्प पीडितलाई आएको राहत हिनामिना गर्नेहरु पागल हुन्।

भूकम्पको भविष्यवाणी गर्नेहरु पागल हुन्। राहतको नाममा एक कार्टून चाउचाउ बाँडेको फोटो खिचेर सोसल मिडियामा राख्ने वा पत्रकारलाई जाँड खुवाएर अखवारमा छाप्नेहरु पागल हुन्। 

यस प्रकार लिष्ट लामै छ। यहाँ केही कथा सान्दर्भिक देखिन्छन्।

एउटा गाउँ थियो। जहाँ सबै शीर्षाशनमा जिन्दगी जिउँथे। जन्मदेखि मृत्युपर्यन्त उनीहरु टाउको टेकेरै बाँचेका थिए। पुस्तौं टाउको टेकेर बित्यो। अझै बित्दै छ। अब यस्तोमा एकदिन एउटा किशोर उल्टियो। माने ऊ खुट्टाले टेकेर हिंड्न थाल्यो।

वरिपरिकाले उसलाई धेरै संझाए। भने, खुट्टाले टेकेर हिँड्नुहुदैन। लडिन्छ। अपशकुन लाग्छ आदि ईत्यादि। तर, केटाले मानेन। ऊ खुट्टैले हिँडिरह्यो।
मान्छेले उसलाई क्रमशः पागल करार दिए र आफ्नो काममा लागे। ऊ भने खुट्टैले टेकेर हिँडिरह्यो। हिँडि नै रह्यो।

कुनै गाउँमा एउटा युवक पागल कहलिएको थियो। उ मान्छेहरुको भिडमा रुखझैं उभिएर एउटै प्रश्न बारबार सोध्ने गर्‍थ्यो— म को हुँ? क्रमशः मान्छेले उसलाई पागल ठान्दै गए। म पनि त्यस गाउँमा पुगेको थिएँ। ऊ भन्दै थियो- कोही मलाई बताईदेऊ कि म को हुँ?
मैले गाउँलेहरुलाई सोधेँ- यो युवकलाई के भएको हो?
एउटा गाउँलेले भन्यो- यो हाम्रो छिमेकी साथीको छोरो हो। केही वर्षदेखि यो पागल भएको छ। यसलाई थाहा छैन कि ऊ को हो। 

मैले भनेँ- यदि म को हुँ भन्ने थाहा नपाउनु पागलपन हो भने दुनियाँका सबै मान्छे पागल हुन्। किनभने यहाँ कसैलाई थाहा छैन कि ऊ को हो। 

एउटा मन्त्री विश्व मेण्टलहेल्थ डे मनाउन पागलखाना पुग्यो। वार्डेनले उसलाई पागलखानाको अवलोकन गराउन थाल्यो। निकै जना पागलहरु नियालिसकेपछि छाती पिटेर रोइरहेको एउटालाई देखाएर मन्त्रीले ऊ रुनुको कारण सोध्यो।

वार्डेनले भन्यो, 'यो मान्छेको एउटी केटीसँग प्रेम थियो तर त्यसले अर्कैसँग बिहे गरी। यो बिस्तारै पागल भयो। तबदेखि यो यसरी नै छाती पिटेर रोइरहेको छ।'

टोली अगाडि बढ्यो। अर्को एउटा मान्छे पनि अलिक पर त्यसरी नै छाती पिटेर रोइरहेको थियो। मन्त्री पुनः जिज्ञासु भयो। 
वार्डेनले सहजभावमा भन्यो- अघिको मान्छेले प्रेम गरेकी केटीलाई यसले बिहे गर्‍यो। र, यो मान्छे पागल भयो। तबदेखि यो यसरी नै छाती पिटेर रोइरहेको छ।

अलिक पर तेस्रो मान्छे पनि त्यसरी नै छाती पिटेर रोइरहेको थियो। मन्त्रीले सोध्नुअगावै वार्डेनले भन्यो- यो मान्छेले कसैलाई बिहे गरेन र यसरी पागल भयो। तबदेखि यो यसरी नै छाति पिटेर रोईरहेको छ।



बर्माको 'मोगोक' उपत्यका- जहाँ नेपाली नै नेपाली भेटिन्छन्

‘कुवेरको राजधानी’ सम्मको त्यो यात्रा

प्रकाशित मिति: : 2021-02-27 09:06:00

प्रतिकृया दिनुहोस्