नेकपा नेताहरूलाई गगन थापाको आग्रह- बिरामी प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम गर्न दिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसदमा जानकारी किन गराइएन भन्दै प्रश्न उठाए।

‘कम्युनिष्ट पार्टीका साथीहरूले धेरैपटक प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु,’ थापाले भने, ‘प्रधानमन्त्री बासरह हुनुहुन्छ। हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं? बा धपेडी नगर्नुस्, आराम गर्नुस्, विश्राम गर्नुस्। हामी हाम्रो बालाई त्यसो भन्छौं तर हाम्रो प्रधानमन्त्री बालाई किन यसो भन्न सक्दैनौं?’

सत्तारूढ नेकपामा प्रधानमन्त्री हुन इच्छा राख्ने र पहिला पनि प्रधानमन्त्री भइसकेका नेताहरू भएको उल्लेख गर्दै उनले बिरामी भएका प्रधानमन्त्रीलाई पार्टीले विश्राम दिनुपर्ने बताएका छन्। 

‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्,’ उनले भने, ‘कार्यकारी प्रमुख एकैपटक लामो समय बाहिर बस्दा राष्ट्रिय सुरक्षा र कूटनीतिक मर्यादा जोखिमको प्रश्न छँदैछ। भिडिओबाट मन्त्रीसँग कुरा गरेर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन।’

सांसद थापाले विगतमा आफ्नो पार्टीले पनि यस्ता गल्ती गरेको बताए।

‘यो गल्ती हिजो हामीले पनि गर्‍यौं। यो अन्याय हिजो हामीले पनि गर्‍यौं। सबैभन्दा नजिक बस्ने मान्छेले यो अन्याय गर्‍यो। यो अन्याय तपाईंहरू नगर्नुस्। यो गल्ती तपाईंहरू नदोहोर्‍याउनुस्,’ उनले भने।

उनले प्रधानमन्त्रीलाई नेकपाले विश्राम गर्न दिनुपर्ने बताए।

‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस् किनकी नेपालको आन्दोलनमा, शान्ति प्रक्रियामा योगदान पुर्‍याउनु भएको राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको र स्वाभिमानको लडाइँमा लामो समय काम गर्नुभएको प्रधानमन्त्री हाम्रो अभिभावकको रूपमा लामो समय हाम्रो बीचमा देख्न चाहन्छौं,’ उनले भने, ‘तर यो कुरा त्यतिबेलासम्म मात्रै सम्भव छ जतिबेलासम्म शरीरले साथ दिन्छ।’

प्रकाशित मिति: : 2019-09-04 15:34:24

प्रतिकृया दिनुहोस्