लेउले पुरिएको एउटा विशाल ढुङ्गो सदियौंदेखि जमिनको एउटा कुनामा समाधिस्थ थियो। त्यसको कापभित्र कैयौं पुस्तादेखि झारहरुको एउटा प्रजाति बस्दथ्यो। यो कथा त्यसै प्रजातिको एउटा फुच्चे झारले हासिल गरेको चमत्कारिक रुपान्तरण र कैवल्यको हो।
हिजो-आज ढुङ्गो निकै प्रख्यात भएको थियो। हरेक दिन कैयौं मान्छेहरु त्यस ढुङ्गोमाथि उभिएर वा बसेर फोटो खिच्न आउँथे। हरियो लेउले लगभग पुरिएको विशाल ढुङ्गो फोटोमा निकै सुन्दर आउँथ्यो, चाहे त्यसमाथि बिराजमान मान्छे जस्तोसुकै होस्। त्यहाँ भीड बढेको थियो। वरपरको रौनक नै फेरिएको। त्यो त ‘भाइरल ढुङ्गो’ भनेर जताततै चिनिन थालेको थियो।
ढुङ्गाको कापमा झारहरुका लागि सबैखाले सुरक्षाहरु मौजूद थिए। त्यस् बडेमानको ढुङ्गाका कापमुनि उनीहरु घामपानी र हावाहुरीको चपेटाबाट हमेशा दूर थिए। आनन्द थियो। उत्सव थियो। पछिल्ला वर्षहरुमा मान्छेहरुको भीड बढे पनि यसले उनीहरुलाई कुनै फरक पारेको थिएन।
छेउछाउका अन्य झारहरु उनीहरुको सुरक्षित र एक किसिमको ऐशआराम देखेर आरिस गर्थे। वरपरका अन्य झारहरु भने कहिले घामले डढ्थे। कहिले अतिवर्षाले चुटिन्थे वा शाकाहारी पशुहरुको आहार बन्थे। अनि कहिले मान्छेहरु आएर उनीहरुलाई भारीका भारी काटेर लैजान्थे। आजकल ढुङ्गो भाइरल भएपछि त्यहाँ बढेको भीडले कुल्चिएर वरपरका झारहरुमा एक किसिमको खैलाबैला सुरु भएको थियो। साथै उनीहरु मान्छेले गरेको फोहोरबाट आक्रान्त पनि हुन पुगेका थिए।
तर, विशाल ढुङ्गाका कापमुनि बस्ने झारहरुको परिवारलाई कुनै समस्या थिएन। उनीहरु यति सुरक्षित थिए कि त्यहाँ न बाढी पस्थ्यो, न आगलागी हुन्थ्यो, न त कुनै शाकाहारी पशु नै त्यहाँ पुग्न सक्थ्यो। तसर्थ, झार प्रजाति त्यो भीमकाय ढुङ्गाका कापमा निकै सुखमय जिन्दगी बिताउन समर्थ थिए। निद्रा उत्तम थियो भने उनीहरुको पाचनप्रणालीले पनि राम्रोसँग काम गरिरहेको थियो।
त्यस विशाल ढुङ्गोभन्दा अलिक पर एउटा जमिन्दारको बगैंचा थियो। जहाँ रङ्गीविरङ्गी फूलहरु फुलेका थिए। ढुङ्गाका कापबाट बगैंचामा फुलेका आकर्षक फूलहरु सहजै देख्न सकिन्थ्यो। उता बगैंचाबाट भने झारहरु देखिँदैन थिए। यसै पनि मान्छेको ध्यान बढीजसो फूलहरुतिर नै जाने भइगयो। झार देखे त मान्छेले यत्तिकै उखेलिदिन पनि सक्छ।
एकदिनको कुरा हो।
झार प्रजातिको एउटा किशोर बिहान सबेरै उठेर बगैंचातिर हेर्दै केही प्रार्थना गर्न थाल्यो। उसका अभिभावक र साथी-भाइहरु छक्क परे। कतिपयले उसको शरीरको ‘माथिल्लो तल्ला’ गडबढ भएको आशंका पनि गरे। तर, उसले प्रार्थना गर्न छाडेन।
बेलाबेला ऊ आकाशतिर हेरेर जम्लाहात गर्दै प्रार्थना गर्दथ्यो, ‘हे भगवान ! मलाई यो झारे जिन्दगीबाट मुक्ति देऊ, म ऊ त्यो बगैंचाको गुलाफको फूल हुन चाहन्छु।’
उसका यस्ता अनौठा कुरा सुनेर बुढा झारहरुले निकै सम्झाउने प्रयास गरे। आखिर बुढाहरुको काम नै यस्तै हो। नयाँ पुस्ताले नौलो, अनौठो र आविष्कारमय केही सोचे वा गरे त्यसलाई रोक्नु। हुन नदिनु। अनेक भाँजो हाल्नु। अनि उही पुरानै ढाँचाका थोत्रे कुराहरुलाई चाहिँ पुरस्कृत गर्नु धेरैजसो समाजका बुढा मान्छेको काम हो।
बुढाहरुले त्यस् युवा झारलाई सम्झाउँदै भने, ‘तिम्रो दिमाग खराब भएको छ र ? हेर्, यहाँ हामीलाई कति आराम र आनन्द छ ? सदियौंदेखि हामी यहाँ सुरक्षित छौं। यहाँ हामीलाई अहिलेसम्म कुनै प्राकृतिक बिपत्तिले छुन सकेको छैन। कुनै पशुले खान सकेको छैन। यहाँ अहिलेसम्म मान्छेले पनि दखल दिएको छैन। तर, त्यो बगैंचामा हरेक दिन अनेक आपत आइलागेको यहाँबाट तिमीले देखेका छैनौं र ? त्यहाँको जिन्दगीको कुनै भरोसा छैन। बिहान फुलेको फूललाई दिउँसो मालीले टिपिदिन्छ। चराहरुले बिथोल्छन्। बेलाबेला पशुहरु पसेर राइफाँडो मच्चाउँछन्। कहिले त खडेरीमा घामले डढेर राता-राता फूलहरुबाट पनि पुतपुत धुँवा आएको मैले देखेको छु।’
केटो चुपै भयो। कुनै जवाफ फर्काएन। के जवाफ फर्काउनु ? जे जवाफ फर्काए पनि उसका कुरा बुझ्ने आखिर त्यहाँ कोही पनि त थिएनन्। सबै जिन्दगीलाई रटिरहेका थिए। पुराना र बासी कुराले उनीहरुको दिमाग गाँजेको अवस्थामा कसले बुझ्ने उसको अन्तस्करणको आवाज ? ऊ रातभर जागा बस्न थाल्यो। अनि उसले प्रार्थनाको समय अरु बढाइदियो। ऊ अन्य झारहरुभन्दा बढी पहेँलो देखिन थालेको थियो।
प्रार्थनामा ऊ मन्द आवाजमा भन्दथ्यो, ‘हे भगवान ! मलाई यो पहेँलो जिन्दगीबाट मुक्ति देऊ। मलाई त्यो बगैंचाको रातो गुलाफको फूल बनाइदेऊ।’
उसको समाजमा उसलाई मानसिक रोगी घोषणा गरियो। उसको अनेक उपचार भयो। झारफुक पनि गरियो। तर, उसले त्यसरी प्रार्थना र ध्यान गर्न छाडेन्। अनि ऊ आफ्नो समाजमा क्रमशः पागल कहलियो। अनेक हेला र भेदभाव खेप्यो। तर, पनि उसले प्रार्थना गर्न छाडेन। उसको भोक र निद्रा सब गुमेको थियो।
उसको एउटै रट् थियो, ‘हे भगवान ! मलाई त्यो गुलाफको फूल बनाइदेऊ। मलाई यो झारे जिन्दगीबाट मुक्ति देऊ।’
यस्तै शब्द र भाका मिलाएर केही दिन ऊ गीत पनि गाउन थालेको थियो। ऊ गाउँथ्यो,
‘हे भगवान !
म यो पहेंलो झार होइन
बगैंचाको त्यो रातो गुलाफ
बन्न चाहन्छु
सुनिदेऊ मेरो पुकार
केवल एक पटक
केवल एक पटक !’
... ... ...
दिनहरु बित्दै गए।
कथाले अगाडि भन्छ कि एकदिन त्यस् झार केटाको प्रार्थना पूरा भयो। जसरी जगतमा धेरैको प्रार्थना पूरा भएको छ। ठिकसँग ताकेर हान्दा मट्यांग्राले पनि सिकार ढाल्न सकिन्छ। जीवहरुले सोचेको, हाकेताकेको वा लिएको लक्ष्य पूरा भएर नै यो जगत चलायमान र विकाससिल छ। त्यसरी सपना पूरा नहुने भए यो दुनियाँ उहिल्यै समाप्त भइसक्ने थियो।
झार केटाको घोर तपस्या र हठ देखेर त्यहाँ ईश्वर प्रकट हुन बाध्य भए र मुस्कुराउँदै भनिदिए, ‘तथास्तु !’
अर्को दिन त्यो केटो आफ्नो परिवारबाट अचानक गायब भयो र बाटापारीको बगैंचामा गुलाफको फूल भएर फक्रियो। चमत्कार !
उसका अभिभावक र साथी-भाइले ट्वाल्ल परेर त्यो सब रमिता हेरिरहेका थिए। आफ्नो सन्तानले पुस्तैनी थाँतथलो र आफन्त परित्याग गरेर अर्कै प्रजातिको धर्म अपनाएर रुपान्तर भएकोमा आज उनीहरुलाई निकै नरमाइलो लागिरहेको थियो।
उता ऊ भने सितल शीत, घामको न्यानो राप, चोखो र ताजा हावा खाएर अति प्रफुल्लित हुन पुगेको थियो। फूल, पुतली र चराहरुको दुनियाँमा ऊ यति आनन्दमग्न भयो कि त्यसको यहाँ बयान नै गर्न मुश्किल। यसो हेर्दा ऊ आह्लादित थियो। असीम अतिरेकमा थियो। दिनभरिमा उसलाई लाग्यो, स्वर्ग यही हो !
अर्को दिन दिउँसो घाम अस्ताउनुअघि अचानक ठुलो आँधीबेहरी आयो। असिनापानी पनि दर्कियो। हेर्दाहेर्दै बगैँचाका कैयौं फूल र बोटबिरुवाहरु तहसनहस भए।
त्यो फुच्चे नवफूल, जो झारको दुनियाँबाट मुक्त भएर अघिल्लो दिन मात्रै बगैंचामा अवतरित भएको, उसलाई पनि असिनापानीले हान्यो। उसको बोटमा भर्खरै ढकमक्क फुलेका फूलका थुँगाहरु टुक्रा-टुक्रा भएर भुइँमा खसे। केहीबेर दर्किएको मुशलधारे पानीले त्यो बालक फूलको बोटै उखेलियो। अनि उसलाई पानीको भलले बगाउन थाल्यो।
अलिक पर ढुङ्गाको कापबाट झारहरुले गहभरि आँसु पारेर उक्त दृश्य हेरिरहेका थिए। ऊ भने बग्दैबग्दै लगभग ढुङ्गाकै कापछेऊमा आइपुगेको थियो। पानीको भेलसँग ढुन्मुनिँदै ऊ अगाडि हुत्तिरहेको थियो।
झारहरुले चिच्याएर भने, ‘हामीले त्यत्रो सम्झायौं, नजाऊ भनेर। तर, तिमीले मानेनौँ। अब हेर तिम्रो के हविगत भयो ? माफ गर, तिमीलाई बचाउन हामी असमर्थ छौं !’
फुच्चे गुलाफले पानीमा बग्दाबग्दै चिच्याएर भन्यो, ‘मलाई कुनै गुनासो छैन। म आनन्दित छु। झार भएर हजारौं वर्षसम्म बाँच्नुभन्दा फूल भएर एक दिन बाँच्नु नै मेरा लागि उत्तम छ। आज म आफ्नो जिन्दगीदेखि तृप्त छु ! अनि मुक्त पनि !’
पानी अत्यधिक दर्किरहेको थियो। हेर्दाहेर्दै त्यो फुच्चे गुलाफलाई भेलले हुत्याएर नजिकैको खहरेमा समाहित गरिदियो। केहीबेर पानीमा ढुन्मुनिएपछि ऊ अदृश्य भयो।
उता ढुङ्गाका कापबाट त्यो सब दृश्य नियालिरहेका झार प्रजातिहरुको आँखाबाट तरक्क आँसु चुहियो। उनीहरु एकापसमा मुखामुख गरेर शोकमग्न भए।
यतिकैमा सारा दृश्य नियालिरहेको एउटा अर्को फुच्चे झारले उत्साहित हुँदै गीत गाउन थाल्यो,
‘हे भगवान !
म यो पहेंलो झार होइन
बगैंचाको त्यो रातो गुलाब
बन्न चाहन्छु
सुनिदेऊ मेरो पुकार
केवल एक पटक
केवल एक पटक !’
उसको गीत सुनेर बुढा र अन्य झारहरु ट्वाँ परे।
तपाईं नि ?