अविनासको संघर्षपछिको सफलता

काठमाडौं । मानिसको सफलतामा एक विन्दु महत्वपूर्ण हुन्छ, जसले लामो समयका लागि उसको भाग्यरेखा कोरिदिन्छ । मिहिनेत र प्रयासलाई जारी राख्ने हो भने त्यो विन्दु अर्थात् टर्निङ प्वाइन्टले कुनै पनि व्यक्ति सफल मोडमा पुग्छ । खेलमा होस् या अन्य विधा, परिवर्तनका लागि कुनै न कुनै माध्यम टर्निङ प्वाइन्ट बन्न सक्छ ।

क्रिकेटर अभिनास बोहराको पनि यस्तै सफलतातिर लम्काउने एक विन्दु छ, जसले उनलाई एक क्रिकेट खेलाडीका रुपमा चिनाएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यतापछि नेपालले गत माघमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग एकदिवसीय सिरिज र ट्वान्टी–ट्वान्टी सिरिज खेल्यो । दुवै सिरिज नेपालले जित्यो । त्यसमा पनि केही कीर्तिमान बने । 

रोहित पौडेलले सबैभन्दा सानो उमेरमा अर्धशतक बनाउने कीर्तिमान बनाउँदा अर्का यस्ता खेलाडी चम्किए । जो पहिलो अन्तर्राष्ट्रिय सहभागितामा ‘म्यान अफ दी सिरिज’ भएका थिए । अभिनासले यूएईविरुद्धको सिरिजमा समग्रमा ६ विकेट लिएका थिए । उनको इकोनोमी ७.२० रहेको थियो ।

घरेलु प्रतियोगितामा चम्केर राष्ट्रिय टोलीमा स्थान बनाएका अभिनासले आफ्नो पहिलो सहभागितामा उत्कृष्ट प्रदर्शन गरेर टोलीमा बलियो चुनौती पेस गरेका छन् । उनी अहिले निरन्तर राष्ट्रिय टोलीमा उत्कृष्ट प्रदर्शनका लागि मिहिनेत गरिरहेका छन् । 

प्रकाशित मिति: : 2019-09-04 10:48:25

प्रतिकृया दिनुहोस्