बिएल नेपाली सेवामा आजका मुख्य खबरहरू:

ओली-बालेन साइबर वारमा घुसेको काँग्रेस, पलेसाले पेरिसबाट ल्याएको ‘पदक’

केही दिन यता प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाहबीच चलिरहेको ‘साइवर वार’ उत्कर्षमा पुगेको छ।

बालेनले एमालेका नेताहरू जोडेर लेखेका स्टाटस मेटाउनका लागि एमालेका कार्यकर्ताले ‘साइबर क्याम्पेन’ चलाएपछि बालेनका समर्थकहरूले पनि ओलीको फेसबुक पेज ‘अनफलो’ गर्ने ट्रेन्ड चलाए। यो अभियानबाट ओलीका ‘फलोअर’हरू मिनेटैपिच्छे घटिरहेका छन्।

खासगरी सर्वोच्च अदालतले नदी किनारा वरिपरी २० मिटर जमिन खाली गरेरमात्रै संरचनाहरू बनाउन आदेश दिएसँगै काठमाडौं महानगरले त्यहाँका संरचना हटाउन र नयाँ निर्माण रोकिएको सूचना निकालेको थियो। त्यसको विरोधमा नेकपा एमालेका केही नेताहरूले उनलाई ज्ञापनपत्र पनि बुझाए। त्यसपछि बालेन श्रृङ्खलावद्ध एमालेविरुद्ध खनिएका छन्।

०००

बालेन र ओलीबीच चलिरहेको ‘साइवर वार’मा अब भने नेपाली काँग्रेस पनि प्रवेश गरेको छ। काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि बालेनको आलोचना गरेका छन्। केही दिनअघि गौरा पर्वका बेला शीर्ष टुँडिखेलमा शीर्ष नेताहरूबीच नाराबाजी भएपछि त्यही मञ्चबाट देउवाले उनीहरूलाई गाली पनि गरेका थिए। 

त्यहाँ होहल्ला गरेका केही युवाहरूलाई प्रहरीसमेत पक्राउ गरेको छ। त्यसपछि नेताहरूविरुद्ध सामाजिक सञ्जाल र सडकमा युवाहरूले आक्रोश पोखिरहेका छन्।

बुधबार देउवालाई भेट्न गएका एमालेको एउटा प्रतिनिधिमण्डलसँग देउवाले बालेनको आलोचना गरेका थिए। काठमाडौंका नदी-खोला छेउका बस्ती हटाउन लागिएको भन्दै त्यसलाई रोक्नका लागि नेकपा एमाले लागिपरेको छ।

०००

प्रमुख प्रतिपक्ष दलका नेता नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दलहरू मिलेर ‘जनताको अधिकार खोस्ने’ षड्यन्त्र गरिरहेको बताएका छन्।

पार्टीको अनुशासन , निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै प्रचण्डले त्यसका विरुद्ध सडकमा उत्रिन तयारी अवस्थामा रहनुपर्ने पनि बताए।

दुई ठूला दल मिलेर बनेको सरकारले संविधान संशाोधनमार्फत जनताको अधिकार खोस्ने प्रपञ्च गरिरहेको उनको आरोप छ।

०००

पेरिस पाराओलम्पिकमा कास्य पदक जितेर काठमाडौं आइपुगेकी पलेसा गोवर्द्धनलाई भव्य स्वागतसहित नगर परिक्रमा गराइएको छ।

पेरिस भएको पाराओलम्पिक २०२४को के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जितेकी थिइन्।

कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्। यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो।

विमानस्थलमा पलेसाले पदक जितेको खुसीयाली साटेकी थिइन्। उनले त्यसक्रममा भनिन्, ‘अब हामी गर्वकोसाथ भन्न सक्छौं कि हामीसँग पनि एउटा ओलम्पिक मेडल छ।’

०००

नेपाल वायुसेवा निगमको सञ्चालक समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ।

सञ्चालनमा रहेका दुईवटै राष्ट्रियध्वजाबाहक वाइडबडी जहाजहरू मर्मतसम्भारका लागि पठाएपछि निगमले दैनिक पाँच करोडभन्दा धेरै घाटा बोक्दै आएको छ। नियमित मर्मतसम्भार (सी-चेक)का लागि उनले चलिरहेका दुई जहाज इटाली पठाएका छन्। चाडपर्वको यो बेला हवाई यातायातका लागि ‘पिक सिजन’ मानिन्छ।

२०७८ कात्तिकमा अधिकारी निगम कार्यकारी अध्यक्ष भएपछि अहिलेसम्म निगमको ऋणभार ५३ अर्ब पुगिसकेको छ। सञ्चालक समितिले उनलाई ३ दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ।

यसअघि गत भदौ १२ मा संस्कृती, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले पनि अधिकारीलाई प्रस्टिकरण सोधेका थिए।

०००

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा सांसदहरूबीच मत बाझिएको छ।

यो विवादसँगै डेडिकेटेड–ट्रंकलाइनमा महसुल छुट दिने विषयमा छानबिन गरिरहेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति छलफलमै अड्किएको छ। छानबिन थालेको महिना दिन बढी हुँदासमेत विवादको टुंगोमा समिति पुग्न सकेको छैन।

विवादको विषयमा पछिल्लो पटक भदौ ९ गते समितिमा चौथोपटक छलफल भएको थियो। त्यो बेला समितिका सभापति ऋषिकेश पोखरेलले कुलमानमाथि छानबिन गर्न अख्तियारलाई जिम्मा दिने भन्दै विवाद किनारा लगाउन खोजेका थिए। तर अरु सांसदहरूले असहमति जनाएपछि छलफल निष्कर्षविहीन भएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ विरुद्ध परेको उजुरीमाथि थप अध्ययन गर्ने भन्दै छलफल सकिएको थियो। त्यसपछि बैठक कहिले बस्छ भन्ने अत्तोपत्तो छैन। 

प्रकाशित मिति: : 2024-09-04 19:59:00

प्रतिकृया दिनुहोस्