भाषा नबुझ्दा प्रहरीको अनुसन्धानमा अरुकै भर

‘एक जना चिनियाँ भाषा बुझ्ने प्रहरी तत्काल दरबारमार्ग पठाइदिनुस् त।'

शनिवार दिउँसो करिब साढे ४ बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीको फोन कलले पर्यटक प्रहरी भृकुटीमण्डपमा तनाव नै भयो।

के गर्ने? कसलाई पठाउने?

एसएसपी सुवेदीले पर्यटक प्रहरीसँग चिनियाँ भाषाको ज्ञान भएको प्रहरी होलान् भनेर फोन गरेका रहेछन्। तर, उनले सोचेजस्तो अवस्था थिएन।

उपत्यकामा पर्यटकलाई पर्ने समस्याको जानकारी लिन बसेको प्रहरीसँग चिनियाँ भाषाको ज्ञान भएको प्रहरी थिएनन्। पर्यटक प्रहरी प्रमुख निरीक्षक अमृतबहादुर बस्नेतको सम्झनामा तत्काल एक युवती परिन् जसले केही समय अगाडि पर्यटक प्रहरीलाई चिनियाँ नागरिकसँग अनुवादकका रुपमा सहयोग गरेकी थिइन्।

तत्काले तिनै युवतीलाई उनले फोन गरे। लाजिम्पाटमा रहेको सांग्रिला होटेलमा काम गर्ने ती युवती तत्काल दरबारमार्ग पुगिन्। महानगरीय प्रहरीले एटिएमबाट अनाधिकृतरुमा पैसा झिक्ने एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। भाषाको ज्ञान नहुँदा कुनै जानकारी पाउन प्रहरीले सकिरहेको थिएन।

होटेलकी स्टाफ ती युवती त्यहाँ पुगेपछि भाषा नबुझ्दा नखुलेको कुरो खुल्यो। र, अनुसन्धान केही सजिलो भयो।

‘हाम्रोमा पनि कहाँ राम्रोसित चाइनिज बोल्ने प्रहरी छन् र? मैले अर्को एक जना महिलालाई सम्पर्क गरेर पठाएको थिएँ,' पर्यटक प्रहरी प्रमुख बस्नेतले भने।

विदेशीसँग जोडिएका धेरै अपराधमा भाषाका कारणले समस्या आउने गरेको छ। समयमा नै दोभाषे नहुँदा कतिपय अनुसन्धान समेत प्रभाव पर्ने र ढिलो हुने गरेको छ।

‘हामीलाई दोभाषेको समस्या छ। बयान लिँदा विश्वासिला लाइसेन्स प्राप्त दोभाषेको सहयोगले काम गरिरहेका छौं,'  महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीले भने।

यस्तो भाषिक समस्या शनिवार एटिएम ह्याकर समात्दामात्र होइन, केही दिनअघि मानव तस्करीमा समातिएका चिनियाँ नागरिकको केसमा पनि भएको थियो।

भदौ १२ गते मानव बेचबिखन व्यूरोको टोलीले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। त्यहाँ पनि भाषाकै समस्या आयो।

‘अनुसन्धान गर्दा भाषा नबुझ्दा केही ढीलो हुँदोरहेछ। दोभाषे भए सजिलो हुन्थ्यो,' व्यूरोका एसएसपी उतमबाबु कार्कीले भने।

प्रकाशित मिति: : 2019-09-04 10:25:05

प्रतिकृया दिनुहोस्