अवैध कारोबारको नयाँ शैली : पिँधमा प्वाल पारेर ग्यास सिलिन्डरबाट लागुऔषध तस्करी

राजविराज-लागुऔषध प्रयोग तथा कारोबारमा प्रहरी निर्मम रुपमा प्रस्तुत हुन थालेपछि सप्तरीमा नयाँ-नयाँ शैलीमा लागुऔषधको कारोबार हुने गरेको  पाइएको छ। 

सदरमुकाम राजविराजवाट मंगलबार लागुऔषधका कारोबारी राजगढ गाउँपालिका-६ का ३८ वर्षीय अशोक यादवलाई पक्राउ गरेपछि प्रहरीले यस्को सुइँको पाएको हो।

यादवले पिँधमा प्वाल पारी ग्यास सिलिन्डरमा लागु औषध भित्र्याउँदै गरेका थिए।

उनलाई राजविराज–छिन्नमस्ता सडकखण्डको बागेश्वरी मन्दिर नजिकैबाट पक्राउ गरिएको सप्तरीका निमित्त प्रहरी प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले बताए।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा यादवलाई सार्वजनिक गर्दै मिश्रले भने, 'प्रहरी जति कडा रुपमा प्रस्तुत हुँदैछ, कारोबारी त्यति नै धुर्त हुँदै गएका छन्। तस्करीका नयाँनयाँ तरिका विकस हुँदै गएका छन्।’

प्रहरीलाई झुक्याउन तस्करले ग्यास सिलिन्डरको पिँधमा प्वाल बनाई त्यस भित्र लागुऔषध भरेर ताल्चा लगाई कारोबार सुरु गरेको उनको भनाइ छ।

तर, प्रहरीको इमान्दारी र चुतर्‍याईंको अगाडि तस्करको सुझबुझ कमजोर भएको मिश्रले दाबी गरे। 

जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको थियो। उनले आफू भरिया मात्र भएको जिकिर गरेका छन्।

विनोद यादव भन्ने व्यक्तिले राजविराजसम्म पुर्‍याइदिन सिलिन्डर दिएर पठाएको यादवको जिकिर छ।

लागुऔषध ओसार–पसार, चोरी, तस्करीलगायतका अपराधिक घटना बढ्न थालेपछि प्रहरीले सिमाक्षेत्र तथा सम्भावित क्षेत्रमा निगरानी बढाएको मिश्रले जानकारी दिए।

प्रकाशित मिति: : 2019-09-04 07:33:19

प्रतिकृया दिनुहोस्