शिशिरको याम मोगाेक। बिहान ८ बजेको छ। शिशिरे सिरेटोले घामको ताप उछिनेर उसैको खल्तीमा राखेको छ। मन उथलपुथल भएर भित्रभित्रै अनेक तरङ्गहरू मस्तिष्कमा तैरिन थालेका छन्। मनको डुंगा यतिखेर बाल्यकालमा आफू हुर्किएको ठाउँलाई ओभाना सम्झनाहरूले अङ्कमाल गर्दै तैरिरहेको छ।
मोगोक पश्चिम दिशाको भूमा ग्राममा थियो, हाम्रो घर। वरिपरि डाँडाले घेरेको हाम्रो गाउँका घरहरू आधा कमेरो र आधा रातो माटोले पोतेको सुन्दरताको वर्णन खै! कसरी गरौं–
घरका अगाडि, पछाडि गरैगरा बनाएर तुलफूल लगाएका बारिले सुनमा सुगन्ध थपे झैं भान हुन्थ्यो। वास्तवमा मोगोक शहर बर्माको अरूक्षेत्र भन्दा अग्लो भएकाले अरूक्षेत्र भन्दा मौसम चिसो हुने गर्छ। त्यसमा पनि हाम्रो घर गाउँको सबैभन्दा अग्लो ठाउँमा थियो।
बुढापाकाहरू जाडोको मौसममा साँझ बिहान घाम ताप्न हाम्रै आगनमा आउने र गफमार्ने गर्थे। म भने ठूलाबढाका गफमा परैबाट भएपनि सानैदेखि चासो लिने गर्थें।
विषेश गरेर बेलुकीको क्षण सम्झन्छु, घामले हामीबाट विदा लिएको दृश्य छर्लङ्ग देख्न पाइन्थ्यो।
०००
बिहानको झुल्के घामसँगै भिक्षुहरू भिक्षापात्र लिएर दैलो अगाडि आउनु भूमाको रीत थियो। अन्नदान गरेपछि मात्र हरेक घरमा भोजन ग्रहण गर्नुपर्ने अनुमति थियो गाउँमा। 'देश गुनाको भेष, कपाल गुनाको केश' भने झैं जुन ठाउँमा जन्म भयो त्यो ठाउँको संस्कृति, परिस्थिति अनुसार अंगाल्नु पर्दछ, मान्छेले।
प्रवासी भए पनि बर्मेली नेपालीले एकातिर बर्मेली सभ्यता अर्कोतिर आफ्नो नेपाली संस्कृति दुबै काँधमा भिरे झैं अँगाल्दै आएका छौं। बर्मिज बीच हातेमालो गर्न खप्पिस नेपालीको रहनसहन नेपालको जस्तै छ अरे, नेपालबाट घुम्न आउनेले भन्थे। प्रवासी भएपनि हाम्रा हरेक चाडपर्व नछुटाई मनाउँदै आएका छौं, आजसम्म।
०००
गाईवस्तु पाल्नु, खेतीपाती गर्नु निजी पेसा थियो, हाम्रा गाउँघरको। लिसु, बर्मिज र केही चिनियाँहरू पनि थिए हाम्रो गाउँमा। त्यसैले घरमा नेपाली नै बोले पनि, सानैदेखि लिसु, चीन पनि सुनेको भरमा अलिअलि बोल्ने गर्थ्यौं। हामी सबै जातीय भित्रका साथी बीच अत्मीय नाता थियो।
खेलकुद र विभिन्न क्रियाकलापमा हामी सँगै मिलेर भाग लिने गर्थ्यौं। हामी भूमागाउँको निम्न माध्यमिक स्कुलमा पढ्थ्यौं। गाउँमा यही एउटा स्कुल मात्र थियो। त्यसैले माथिल्लो कक्षा पढ्न शहर जानु पर्थ्यो। गाउँका मानिस धेरैजसो शहरमा छोराछोरी पढाउने सुबिधाका लागि सानो छाप्रो भए पनि बनाउने गर्थे।
एकदिन सधै झैं स्कुलको आगनमा ध्वज प्रणाम गरिसकेर क्रमशः कक्षाभित्र बुद्ध स्तुति थाल्ने बेला थियो। गुरूमाले क्रिश्चियन साथीलाई लाठीले टाउकोमा हान्दै बाहिर भगाउँदै थिइन्। यसपालि पनि लाठीले जोडसँग लागेछ होला खुन भलभलि निस्किएको थियो, एउटा साथीको। क्रिश्चियनलाई यसरी पिटेरै बाहिर लखेट्ने काम मन कत्ति परेको त हैन मलाई। तर आफू सानो मान्छे, चुपचाप हेर्न पर्यो। हुन त यस्ता असाधारण कुराहरू कति छन् कति, चुपचाप हेर्नु परेका। सानो छँदा नसकेर, आज ठूलो हुँदा सामाजिक मुल्य र मान्यतामा बाधा पर्छ कि भनेर, मान्छेको भीडमा कहिँकतै कानुनबाट बचेर त कतै समस्याबाट भागेर त्रूटीहरू एकान्तमा मौलाएका पनि कति छन् कति।
मोगोकको कथा केलाउने हो भने कतिपय सभ्य मान्छेहरू भव्य कार्य गरेर गन्तव्य सुधारेका छन्। मोगोकमा सरकारको आदेशबाट र अन्य.. देशका उद्योगपति, धनीबाट मणि खन्ने खनाउने काम जारी छ ! वास्तवमा मणि खन्नु, यसको व्यापार गर्नु, दलाल गर्नु मोगोकबासीको निजी पेसा हो। मणि, रत्नहरूको खानी भएकाले मणिका ठुलाठूला धनी व्यापारी पनि अलिअलि पाइन्छन्। मोगोकमा मणिसँग जोडिएर जागेको छ भगवान प्रतिको आस्था! मानिसहरू मणि भगवानले अदृश्य रूपमा अथवा रूपफेरेर आएर दिन्छन् भन्ने सम्झन्छन्!! यसै विषयमा जोडिएर, दानपुण्य गर्नु, अरूको भलो गर्नु सानैदेखि सिकेर आएको कुरा हो, मोगोकबासीको।
आज विश्वमा कस्ले जान्दैन होला र मोगोक शहरलाई। त्यसमा पनि मोगोकबासी नेपाली संस्कृति, कला र साहित्यको अखण्ड ज्योति बालेर विश्वका अरू नेपाली बीच परिचित भएको ठाउँ, यसरी राम्रै राम्रा विषय बीच एउटा नराम्रो पक्ष पनि घुस्रिएर भित्रभित्रै फष्टाएको छ, मोगोकमा। धनी मानिस राजा जसरी नै जीवनयापन गर्दछ। तर यो सँगसँगै धेरैजसो साधारण परिवार धनीको नक्कल गर्दागर्दै वास्तविक जीवन केहो भन्ने नजानिकन बुढो हुनु, मर्नु अनि तिनका पुस्ताहरू पनि धनी नभएमा त्यही जीवन जीउनु एउटा निको नहुने रोग भएको छ।
ओ हो! सम्झँदा पनि फड्को हुन्छ। ऐले शिशिरको याम चलेको छ। मान्छेहरू जाडो हटाउन न्यानो लुगा शिरदेखि पाउसम्म लत्रिने गरी भिरेका छन्। हामी पनि भूमागाउँ छोडेर स्कुल पढ्ने क्रममा शहर छेउमा डेरा सारेका थियौं। त्यसैमा हातमुख जोर्न भनौं सानो रासन पसल थापेका छौं। पिताजी स्वर्गे भएदेखि घरमा आमा, भाइ र म मात्र छौं। पसल हामी तीनैले पालैपालो कुर्छौ।
आज मलाई केही काम गर्ने जाँगर नभएकाले बार्दलिमा बसी सडकमा आउने जाने गरेका मोटर स्कुटिहरूको लाम हेरिरखेको छु। सामान किन्ने आउने जाने भइरहँदा घरमा मान्छेको हल्ला कत्ति बन्द हुँदैन। परिवारमा मलाई भने साथीसँगको खटपटि मनभित्र छिरेर भित्रभित्रै जुलुस मच्याई रखेकाले सबैकुरामा झिँजो लागेको छ र आधि गर्मि पनि भएको छ। यही छट्पटीमा अल्झिएर बाल्यकालदेखिका आफ्ना कथाका केही पङ्तिहरू मनको चौतारिमा आउने जाने गरिरहेका छन्।
०००
यसै क्रममा... बाल्यकालको एउटा सानो कहानी नाच्न थाल्छ, मस्तिष्कमा। जहाँ म र मेरो मिल्ने साथी बीचका बालापनको अविस्मरणीय कथा छ। आज त्यो कथाका रमाइला छणहरूले पनि खट्पटि बीच घुस्रिएर लुकामारी गरी मलाई जिस्क्याई राखेका छन्। यस्ता स्मृति मुछिएका जिन्दगीका पानाहरूले मन उकुसमुकुस हुँदै जाँदा बालापनको छुट्टै एक फब्ल्याँटो कथाका पानाहरू प्रष्टसँग कसैले वाचन गरेको भान हुन्छ मलाई।
जहाँ म र मिल्ने साथीकाे सुनाैलाे वातावरणसँग रचिएको राेचक कथा छ। म्यान्माली ग्रामीण नेपाली म शहर छिरेपछि माध्यमिक स्कुलमा पढ्दाखेर मेराे बर्मिज गुरूले 'अमर बहादुर' मेराे नाम उच्चारण गर्दा अावाज नपुगेकाले साथी बीच अाफू हाँसोकाे पात्र भएकाे थिए। मेराे नाम बर्मिजहरूले उच्चारण गर्न सक्दैन थ्ये नि। याे कुरा बा–आमालाई त्यति थाहा नभएकाे हुनसक्छ वा बा–अामालाई अाफ्नै भाषा प्याराे लागेकाले पनि हुनसक्छ, सायद। स्कुलमा मेराे नाम नेपालीमा नै राखिदिएकाे।
म यसरी हरेकदिन आफ्नै नामबाट हाँसोको पात्र हुनुपर्थ्यो। तर यो कुरा मेरो मन मिल्ने साथिलाई असह्य भएको रहेछ। त्यसैले उनी प्रधानाध्यापक सामु गएर बर्मिज नाम बदलिदिएकाले साथीको गिज्याहटबाट बचेको थिए। कति घनिष्ट साइनो थ्यो हाम्रो। हामी एकअर्कालाई मरि मेट्थ्यौं।
एकफेर कालेले तानेर उनको स्कुलपोशाक च्यातिदिँदा कालेलाई गुलेलिले टाउको फोरिदिएको थिए। स्कुलको गुरूले गृहकार्य जाँच गर्दा उनका खालीपाना गुरूले भेट्छन् कि भनेर उनले थाहै नपाई भरिदिन्थें। हामी यसरी नै गहिरो सम्बन्धले एकअर्कोलाई माया गर्दै बढ्यौं। हाम्रा मनोभावहरू एकअर्कालाई साट्ने विषयलाई सम्झदा आँखा टिलपिल रसाउँछन्।
मोगोकबासी साधारण जनजातिमा ऐलेको 'कोरोना' रोग झैं फैलिएको ढोंग हटाउने ठूलो उद्देश्य थियो, हाम्रो। खाएको ६ महिना पछि पनि साहुको पैसा नतिर्ने परिस्तिथिले मानिस बीच विकृति फैलिएर टुप्पामा पुगेको छ। आफ्नो स्वार्थको लागि मानिस अरूलाई धक्का दिएको थाहै पाउँदैन। ऋण दिनेको जिविका कसरी चल्छ भन्ने कुरा ऋण लिनेले बुझ्न सक्दैन। स्वाङमा रमाउन जानेकाले देखावटीका लागि मान्छे कर्जा लिन कत्ति पछि पर्दैन। पास्नि भोजदेखि लिएर विभिन्न पुजाआजाको निम्तो मान्न जान नयाँ लुगा र जुत्ता सापटीमा खरिद्छ साधारण परिवारको ढोगी मान्छेले। युवायुवती देखि लिएर बुढापाका सबैमा यो बानी लागू भएको छ। आफ्नो बिहेका लागि ऋण लिने युवाले बच्चा जन्मिसक्दा ऋण तिर्नु त कहाँ हो कहाँ बच्चाको न्वारानका लागि ऋण थपेर भिरेको हुन्छ। हो, यस्तै असाधारण तरिकाले ऋणसँगै गाँसिएर हिँड्न बाध्य भएका छन्, नक्कली जिन्दगीहरू।
यही कुराको रोकथाम गर्ने विषयमा हाम्रा सपना फुलेका थिए, लहलह। हामी दुई बीच यस्तो पर्खाल आउला… भनेर मैले सोचेकै थिइनँ। म सम्झन्थे मित्रता भनेको कहिल्यै नखिइने एक परिपक्व नाता हो। जहाँबाट संसारमा मान्छे एकआपसको बलले जिन्दगीको हरेक चुनौतिको सामना गर्नसक्छ। हरेक समस्यालाई हाँसेर पार गर्छ र अन्त्यमा सफलताको झन्डा समाउँछ। मित्रतामा कहिलेकाहीँ अनायास अमिलो परिस्थिति अवश्य आउन सक्छ। तर सानातिना कुरामा अल्झिए ठूला ठूला सपनाहरू कहिले पूरा होलान्? हामी दुई मिलेर संसारमा ठुल्ठुला कार्य गरौंला भनी सोचेका थियौं।
समय र परिस्थितिले गर्दा हामी स्कुल सकेर आ–आफ्नो पेसामा लाग्दा हामी सँगसँगै नभए तापनि फेसबुकबाट हरेकदिन कुराकानी भैइरहन्थ्यो। सानैदेखि ख्याल ठट्टा गर्ने जिस्कने स्वभाव पनि थियो, हामी बीच। घण्टौंसम्म कुरागर्ने। नयाँ योजनाहरू सुनाउने क्रम जारी नै थियो।
०००
एकदिनको कुरा हो सधै झैं ठट्टा गर्दै मैले उनलाई जिस्क्याउँदैथें। त्यसदिन मेरो चिसो जिब्रो चिप्लिएर कुरा अलिक बाङ्गिन पुगेछ। (गाेप्य नै राखाैँ कुरो बाहिरिन ठिक लागेन) त्यसदिनदेखि हाम्राे मित्रतालाई धमिराले कोपरिरहेको छ।
मलाई लाग्दैछ नाता ओझल परेको खाडी झैं तापक्रम नपरेर खिइन लागेको वस्तु झैं हुन गयो। कतिपय सपनाहरू साकार हुँदाहुँदै पनि मिल्किँदा रहेछन्। कतिपय विपनाहरू देख्दादेख्दै साँझ परेर ढल्किन लाग्दा रहेछन्।
हाम्रो नाता पनि आखिर त्यसै हुन पुग्याे। आज नत फाेन आउँछ नत म्यासेज। हाम्रो योजनाको के टुंगो रह्यो, अब? उफ्...लामाे श्वास लिदै झ्यालबाट सडकतिर हेरे। नत भाेक नत तिर्खा। आज मात्र सुर्ताले खाई राखेको छ मलाई।
हैन, सम्बन्ध भनेको काँचो धागाे जस्तै हुन्छ र? जो तन्कन नपाउँदै चुँडिएर धुजा–धुजा हुने? सोच्दै जाँदा एउटा कुरो झट्ट सम्झे। साथीलाई पहिला आफूले सम्बोधन गर्दै आएको, ऊबाट कहिल्यै पहिलो कल पहिलो म्यासेज नभको वर्षौं भएको रैछ। सानोछँदा सँगसँगै डुल्नेसाथी आज ठूलो व्यापारी भएकाले स्तर नमिलेर हुनसक्छ। एकतर्फी नाता कसरी लामो टिक्छ र?
यतिकैमा एउटा प्रसङ्ग सम्झना आउँछ। समलिङ्गीमा धकेलिने शक्ति र विपरीत लिङ्गमा चुम्बकीय शक्ति भएको साइन्समा पढ्दै आएको कुरा, मेरासाथि कृष्ण क्षेत्री र मेरो बीच पनि प्रकृतिको यही धकेलिने प्रवृत्ति भएका कारणले होला, ऊ हिजोआज मदेखि टाढा हुन खोजेको। हाम्रा ती समाजिक विकृति हटाउने उद्देशलाई खल्ती भित्रै थुपारेको!!! विपरीत लिङ्गी भएमा, के हाम्रो सम्बन्धमा तनाव आउने थिएन होला ? मनमा झट्ट सम्झना आयो 'हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको को मह जोडी ।' (अँह हैन भनेँ) मन मन यस्ता अरूपनि धेरै जोडी छन् समलिङ्गीका जसको मित्रताले संसार हल्लाएका। यतिकैमा सम्झिन पुगे १० साता अघिको डल्लेको जनैसुपारी। धुमधामसँग विज्ञापन गरेको कुरा फेसबुकमा आलै छ, डल्लेको।
विवाह हुन नपाउँदै आज ताेडिँदैछ अरे कसैकसैको विहेपछिका सम्बन्ध–विच्छेद आदिआदि...। विपरीत लिङ्गी पनि उहीँ भेदभावको प्रखालबाट अड्किएर त होला, मन रूम्मलिँन पुग्छ।
के सम्बन्ध युगानुकुल मक्किन गएको छ त अचेल?
मान्छेको सम्बन्ध केमा टिक्छ त?
सम्बन्ध अडिग रहन कुन रसिले बाँध्नु पर्छ त?
अब हामी साथी बीच के गर्नुपर्छ त ?
हाम्रो त्यो सुनौलो सपना अब खेर जान्छ त ?
अब म के गर्ने, मेरो गल्तीको कुनै माफि छैन?
प्रश्न पाठकमा !