२७४ सिटे जहाजमा जापान जाने जम्मा १७ यात्रु, दुई उडानको आम्दानी साढे ८१ लाख, खर्च सवा ३ करोड

लामो माथापच्चीपछि सुरु गरिएको जापान उडान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई ‘पहिलो गाँसमै ढुङ्गा’ साबित भएको छ। १२ वर्षपछि ठूलो (वाइड-बडी) जहाजबाट जापान उडान सुरुवात गरे पनि उडान लागतभन्दा आम्दानी लगभग ‘शून्यबराबर’ भएपछि निगम व्यवस्थापन तनावमा छ।

लामो दुरी (लङ हल) उडान गरेर बजार हिस्सा ओगट्दै प्रशस्त आम्दानी गर्ने निगमको योजना यसबाट लगभग खेर गएको छ। निगमले गत बिहीबार र शनिबार गरी जापानको ओशाकाका लागि काठमाडौंबाट सिधा दुई उडान गरेको छ।

निगमसम्बद्ध अधिकारीहरूका अनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजका वाइड-बडी जहाजबाट दुईपटक ओशाका उडान गर्दा निगमको पोल्टामा जम्मा ८१ लाख ४० हजार रुपैयाँ परेको छ।

अब अचम्म चाहिँ के हो भने ती दुई उडान (दुईतर्फी) गर्दा निगमले ३ करोड ९७ लाख ५० हजार रुपैयाँ खर्च (लागत) बेहोरेको छ। अब हिसाब निकाल्दा जापानका सुरुवाती दुई उडानमै निगमलाई ठाडै ३ करोड १६ लाख १० हजार रुपैयाँ घाटा परेकाे छ।

सम्बद्ध एक अधिकारीका अनुसार ओशाकाको पहिलो उडान काठमाडौंबाट जाँदा टिकट खरिद गरेका यात्रु ९७ जना थिए भने उताबाट फर्किंदा ४६ जना थिए।

शनिबारको दोस्रो उडान झन् बिजोग अवस्थाको हुन पुगेको उनले जानकारी दिए। दोस्रो उडानमा काठमाडौंबाट जाँदा १७ जनामात्र यात्रु थिए भने फर्किंदा ६२ जना थिए।

निगमले पहिलो एक महिनाका लागि प्रवर्द्धनात्मक भाडा दर भनेर प्रतियात्रु एकतर्फी ३७ हजार रुपैयाँ तोकेको छ। दुईतर्फी टिकट लिए ७२ हजार ८ सय रुपैयाँ तिरे पुग्छ।

यस हिसाबले पहिलो उडानबाट निगमले एकतर्फी ३५ लाख १५ हजार र फर्किंदा १७ लाख २ हजार गरी कूल ५२ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ।

त्यस्तै, दोस्रो उडानबाट निगमले एकतर्फी ६ लाख २९ हजार तथा फर्किंदा २२ लाख ९४ हजार गरी कूल २९ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ।

ती अधिकारीका अनुसार वाइड-बडी जहाजबाट काठमाडौं-ओशाका-काठमाडौं उडान गर्दा प्रतिघण्टा १५ लाख रुपैयाँ खर्च (लागत) लाग्‍ने गरेको निगम आफैंले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

यस्तो लागतमा सम्बद्ध देशमा उडान, अवतरण, पार्किङ, यात्रु सेवा शुल्क, नेभिगेसनल शुल्क, सम्बद्ध देशको आकाश प्रयोग गरेवापतको ‘ओभर फ्लाइ’ शुल्क, जहाज मर्मत शुल्क, हवाई इन्धनलगायत पर्छन्।

प्रकाशित मिति: : 2019-09-03 21:59:43

प्रतिकृया दिनुहोस्