साहुकार परदेशी अन्ततः हतकडीमा

सर्लाही मलंगवाका दुर्नाम साहुकार श्याम परदेशीले ६ वर्षमा ऋणमा जालसाजी गरेर फसाएका ७५ गरिबविरुद्ध अदालतमा मुद्दा हालेको खुलेको छ । ०७० देखि गत जेठ मसान्तसम्म जिल्ला अदालतमा परेका यीमध्ये ७३ मुद्दा फैसला भइसकेको छ भने दुईजनाको भने फैसला हुन बाँकी छ । 

फैसला भएका ७३ मध्ये ५८ जनाको मुद्दा अन्तिम फैसला भएर तामेलीमा गइसकेको अदालतका मुख्य न्यायाधीश कृष्णराम कोइरालाले बताए । उनीहरूविरुद्ध ब्याज मात्रै चार करोड ४२ लाख ८२ हजार दाबीसहित मुद्दा परेको थियो । कतिपयले सबै घरजग्गा बेचेर ऋण तिरेका छन् । केहीको घरजग्गा लिलामी भएको छ । ऋण तिर्न नसक्ने कतिपयले जेल भुक्तान गरिसकेका छन् ।

बाँकी १५ जनाको हकमा एक करोड ४७ लाख ९२ हजार तिर्नेगरी फैसला भएको छ । ऋण तिर्न नसक्ने हैसियतका उनीहरूको भागाभाग भएको छ । साँवा र ब्याजमा स्याज पनि जोड्दा ऋण लिएकोभन्दा तेब्बर रकम पुगेको सर्लाही जिल्ला अदालतका रजिस्ट्रार मुकुन्द आचार्यले बताए । 

श्याम परदेशीले आफू, श्रीमती मञ्जुदेवी साह, जेठी छोरी निशा साह, कान्छी छोरी इला साह र ज्वाइँ रामबाबुप्रसाद साहको नाममा सामूहिक रूपमा मुद्दा दायर गरेका थिए । परदेशीले दायर गरेको हेमनारायण साहको १० लाख र युरिनादेवीको पाँच लाख बिगोको मुद्दा मात्रै फैसला हुन बाँकी छ । 

परदेशीले ऋणीसँग एक सय २० प्रतिशतसम्म ब्याज असुलेको पीडितको गुनासो छ । कतिपय जिल्ला न्यायाधीश अहिलेसम्म परदेशीको मात्रै मुद्दा हेरेको बताउँछन् । उनले वर्षौँदेखि पैसा ब्याजमा लगाउने गरेकाले मिसिलहरू एक–एक गरी नहेर्दासम्म सबै मुद्दाबारे जानकारी हुने उनीहरू बताउँछन् । 

प्रकाशित मिति: : 2019-09-03 18:27:10

प्रतिकृया दिनुहोस्