पूर्वराजदूत झाको हत्या ५० हजारका लागि ! प्रहरी भन्छ– छिट्टै हत्यारा सार्वजनिक गर्छौं

काठमाडौं । फ्रान्सका लागि पूर्वराजदूत केशव झाको हत्याको भित्रि कारण ५० हजार रुपैयाँ भएको खुलासा भएको छ । पूर्वराजदूत झा गत वर्ष भदौ ४ गते बबरमहलस्थित आफ्नै घरको कोठामा मृत फेला परेका थिए ।

अनुसन्धानका क्रममा उनको घाँटी रेटेर हत्या भएको खुलेको थियो । प्रहरीले घटनास्थलबाट झाकै भान्सामा प्रयोग हुने चक्कु र पछि पञ्जासमेत बरामद गरेको थियो । लामो समयसम्म पनि झाको हत्यारा पत्ता लाग्न नसकेपछि प्रहरीको आचोचना समेत हुँदै आएको छ । प्रहरीले ३१ साउनमा झाकै घरमा सुरक्षा गार्ड काभ्रेका सानुकान्छा तामाङलाई दोस्रोपटक पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

 पहिलोपटक पक्राउ परेका तामाङ पर्याप्त प्रमाणको आधारमा रिहा भए पनि उनले पोलिग्राफ परीक्षणमा भने झुठ बोलेको पाइएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले तामाङका केही गतिविधि शंकास्पद देखिएकोले अनुसन्धान सुरु गरिएको बताए । तामाङविरुद्ध झाकी श्रीमतीले किटानी जाहेरी दिएकी थिइन् । एसएसपी सुवेदीले बाह्रखरीसँग भने, ‘‘अनुसन्धानका सबै कुरा अहिले नै बाहिर ल्याउन मिल्दैन । छिट्टै हत्यारा सार्वजनिक गर्छौं । हत्याको पछाडि आर्थिक कारण नै जोडिएको हाम्रो प्रारम्भिक निष्कर्ष छ ।’’

झा हत्याको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सानुकान्छाले पूर्वराजदूत झासँग ‘एडभान्स’को रुपमा ५० हजार रुपैयाँ लिएको खुलेको छ । त्यही रकमको विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ । ती अधिकारीले भने, ‘‘झाले सानुकान्छाले लिएको रकम तलबमा काट्ने कुरा गरेपछि सानुकान्छाले यत्रो वर्ष काम गर्दा ५० हजार पनि दिन नसक्ने भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यही विवादले सानुकान्छाले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।’’ हत्यामा सानुकान्छाकै संलग्नता रहने अन्य प्रमाण समेत जुटेको प्रहरी अधिकारीको दाबी छ । एक वर्षको क्रममा प्रहरीले दुई सयभन्दा बढी व्यक्तिसँग झा हत्याबारे सोधपुछ, नियन्त्रण र निगरानी गरेको थियो ।

प्रकाशित मिति: : 2019-09-03 08:16:58

प्रतिकृया दिनुहोस्