नाकामै फ्यालिन्छ अनुदानको नुन

नेपाल साल्ट कर्पाेरेशनले अनुदानमा उपल्लो डोल्पा पठाउने नुन नेपाल–चीन नाकाको मोरिम्ला र क्याटो भन्ने ठाउँमा फ्याल्ने गरेको पाइएको छ । 

सिमाका नदी किनार र खोल्सामा आयोडिन नुनका पोकाहरु फोहर जसरी फ्यालिएको छ । कर्णाली प्रदेशका सांसद वीरबहादुर शाहीले अनुगमनमा क्याटो र मोरिम्ला नाका जाँदा ठूलो परिमाणमा नुन फ्यालिएको भेटेको बताए । उनले दुर्गमका नागरिकका लागि पठाएको नुनको सदुपयोग नभएको उल्लेख गरे ।

शे–फोक्सुण्डो गाउँपालिकाका जनताकालागि पठाइएको नुन क्याटो नाकामै फ्यालिएको हो । फ्यालिएको ठाउँमा यत्रतत्र नुनका पोका बेवारिसे अवस्थामा छन् । साल्ट कर्पोरेशन डोल्पाका प्रमुख प्रकाश बहादुर धामीले गत वर्ष केही क्विन्टल नुन फ्यालेको देखिएको बताए । दुर्गम ठाउँमा वितरण गरिने भएकाले ढुवानीका दुःखले स्थानीयले नुन छाडेर हिँड्ने गर्छन् ।

ठेकेदारले उपल्लो डोल्पासम्मै पु¥याएर वितरण गर्नुपर्ने भए पनि गाडि नजाने भएकाले नाकासम्म मात्रै नुन लगायतका खाद्यान्न पु¥याउने गर्छन् । खाद्यान्न र नुन चौरीलाई बोकाएर घरसम्म ढुवानी गर्नुपर्ने हुन्छ । वर्षमा एक पटक वितरण हुने नुन एक परिवारले ५० किलोसम्म पाउने साल्ट कर्पोरेसनको भनाई छ । 

राज्यले लाखौँ लगानी गरेर अनुदानमा वितरण गर्ने नुन फ्याल्नु गलत भएको धामी बताउँछन् । आवश्यक पर्ने मात्र माग गरेर पठाउन जनप्रतिनिधिलाई पटकपटक आग्रह गरे पनि वास्ता नगरेको उनले बताए । त्रिपुरासुन्दरी नगरपालिका १ का नवराज थापाले कसैलाई नुन अभाव कतै फालाफाल भएको गुनासो गरे । अनुदानको नुन दुरुपयोग गर्नुभन्दा तल्लो भेगका जनतालाई वितरण गर्न उनले आग्रह गरे । 
 

प्रकाशित मिति: : 2019-09-02 18:29:46

प्रतिकृया दिनुहोस्